- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पाहुना टोली युगाण्डाविरुद्धको महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । नेपालले आफू भन्दा तीन वरीयता पछाडिको टिमसँग कमजोर खेलेको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको वरीयतामा नेपाल टी–२० मा १६ औं तथा युगाण्डा १९ औं वरीयतामा छ । टीयू क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो खेलमा युगाण्डासँग १ विकेटले पराजित हुँदै नेपालले लगातार दोस्रो हार बेहोरेको हो ।
नेपालले दिएको १ सय २ रनको लक्ष्य युगाण्डाले १९ ओभर ५ बलमा ९ विकेट गुमाएर पूरा गर्यो । युगाण्डाको जितमा रिता मुसामालीले सर्वाधिक ३० रन बनाइन् ।
नेपालकी कविता कुँवर र शबनम राईले २–२ विकेट लिए । यस्तै सीता राना मगर र रुबिना क्षेत्रीले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय १ रन बनाएको थियो । बिन्दू रावलले सर्वाधिक २६ रन जोडिन् । सरिता मगरले २२ रन बनाइन् ।
युगाण्डाकी जनेट बाबाजीले २ विकेट लिइन् ।
यो जितसँगै युगाण्डाले पाँच खेलको श्रृंखलामा २–० को अग्रता लिएको छ । यसअघि सोमबार भएको पहिलो खेलमा युगाण्डाले नेपाललाई १२ रनले हराएको थियो ।
बिहीबार तेस्रो, शुक्रबार चौथो तथा शनिबार पाँचौं खेल हुनेछ ।