काठमाडौँ। स्थानीय तह निर्वाचनपछिको पहिलो कारोबार दिन सेयर बजार नेप्सेमा एकै दिन ८४ अङ्कले गिरावट आएको छ। मङ्गलवार अधिकांश कम्पनीहरूले नोक्सानी व्यहोरेका छन्।
मङ्गलवार नेप्से ८३ दशमलव ६१ अङ्कले घटेर नेप्से परिसूचक २२ सय ६५ दशमलव ५२ अङ्कमा पुगेर बन्द भएको छ। बिहान २३ सय ५० अङ्कबाट खुलेको बजार लगातार घटेर २२ सय ६५ अङ्कमा पुगेर बन्द भयो।
नेप्सेको सेन्सेटिभ इन्डेक्स १५ दशमलव २८ अङ्कले घटेर चार सय ३८ दशमलव ६८ अङ्कमा पुगेको छ। घटेको बजारमा ३५ लाख ९५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६४ करोड ४० लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
अघिल्लो साता आइतबारदेखि बुधवारसम्ममा नेप्से एक सय ३० अङ्कले बढेको थियो भने बिहीबार १८ अङ्कले घटेको थियो। स्थानीय तह चुनावसँगै बजार उकालो लाग्ने अपेक्षा गरिए पनि पहिलो दिन नै बजारमा ठूलो गिरावटपछि लगानीकर्ता निराश बनेका छन्। नेप्सेमा मङ्गलवार सूचिकृत २२१ कम्पनीको सेयर कारोबार भएकोमा अधिकांश कम्पनीले घाटा बेहोर्नु परेको छ।
मङ्गलवार नेप्सेमा २०९ कम्पनीको सेयर धनीले गुमाएका छन् भने आठ कम्पनीका सेयर धनीले केही नाफा कमाउँदा चार कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको नकारात्मक सर्किट लागेको छ। नकारात्मक सर्किट लाग्ने चार कम्पनीमा बुद्ध भूमि हाइड्रो पावर, लुम्बिनी जनरल इन्सुरेन्स वोमी माइक्रोफाइनान्स र युनाइटेड इन्सुरेन्स कम्पनी रहेका छन्।