arrow

डोटीको शिखर नगरपालिकामा पुनः कांग्रेस विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
doti-shikhar.JPG

डोटी । डोटीको शिखर नगरपालिकामा फेरि पनि नेपाली कांग्रेसले जीत हात पारेको छ। नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका दीर्घबहादुर बलायर र सुनिता रावल नेकपा एमालेसँगको ठुलो अन्तरमतले निर्वाचित भएका छन्। शिखरमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा समेत नेपाली कांग्रेसले जीत हात पारेको थियो।

नगर प्रमुखमा बलायरले ७५६२ मत प्राप्त गरी जीत हात पारेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भीम बहादुर बलायरले ४५९१ मत ल्याएका छन्। नेकपा माओवादी केन्द्रसँगको तालमेलमा उठेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार सागरप्रसाद भट्टले ३०२ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा पनि कांग्रेसकै सुनिता रावलले ६४२६ मत ल्याएर निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेकी लक्ष्मीदेवी मल्लले ४६४५ मत प्राप्त गरिन्। नेकपा एकीकृत समाजवादीसँगको तालमेलमा उपप्रमुखमा उठेका नेकपा माओवादी केन्द्रका रमेशप्रसाद जोशीले ३६६ मत प्राप्त गरिन्।

११ वटा वडा रहेको शिखर नगरपालिकामा ७ वटा वडामा नेपाली कांग्रेसले जित्दा ४ वटा वडामा नेकपा एमालेले जीत हात पारेको छ। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर चुनाव लडे पनि कुनै पनि पदमा जीत हात पार्न सकेनन्।

नेपाली कांग्रेसको तर्फबाट वडा नम्बर १ मा दीपकबहादुर बोगटी, वडा नम्बर २ मा गणेशबहादुर बोगटी, वडा नम्बर ३ मा गणेशबहादुर जोरा, वडा नम्बर ६ मा धिर्कबहादुर सिंह, वडा नम्बर ८ मा लालबहादुर महरा, वडा नम्बर १० मा मीनबहादुर बलायर र वडा नम्बर ११ मा कर्णबहादुर विष्ट विजयी भएका छन्।

त्यसै गरी नेकपा एमालेको तर्फबाट वडा नम्बर ४ मा टेकबहादुर मल्ल, वडा नम्बर ५ मा डमरु कार्की, वडा नम्बर ७ मा टेकराज भट्ट र वडा नम्बर ९ मा जगन्नाथ भट्ट विजयी भएका छन्।

योसँगै डोटीका नौ स्थानीय तहमा निर्वाचनको नतिजा सार्वजनिक भइसकेको छ। जसमा सात पालिकामा नेपाली कांग्रेसले जीत हात पारेको छ भने एउटामा नेकपा एमाले र एउटामा नेकपा माओवादीले जीत निकालेको छ। 

डोटीको दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, बडीकेदार गाउँपालिका, पूर्वी चौकी गाउँपालिका, आदर्श गाउँपालिका, आदर्श गाउँपालिका र केआइसिंह गाउँपालिकामा नेपाली कांग्रेसले जीतेको छ भने जोरायल गाउँपालिकामा नेकपा एमाले र बोगटान फुड्सिल गाउँपालिकामा नेकपा माओवादीले जीतेको छ। बोगटान फुड्सिल गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसकै उम्मेदवारले जीतेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ