arrow

क्लिन स्विप हुनबाट नेपाल जोगियो, युगाण्डामाथि १५ रनको जित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
nepal-women-cricket-2022.jpg

काठमाडौं । युगाण्डाविरुद्धको चौथो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल १५ रनले विजयी भएको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण १८ ओभरमा झारिएको खेलमा नेपालले दिएको ९८ रनको लक्ष्य पछ्याएको युगाण्डाले निर्धारित ओभरमा ८ विकेट गुमाएर ८२ रनमात्र बनाउन सक्यो ।

युगाण्डाकी जनेत एम्बाबाजीले सर्वाधिक २१ रन बनाइन् । यसबाहेक रिता न्यान्गेन्डो र फियोना कुलुमेले समान १६ रन जोड्दा ओपनर केभिन अविनो ११ रनमा पभेलियन फर्किएकी थिइन् ।

बलिङमा नेपालकी डेब्यु खेलाडी हिरनमायी रोयले दुई विकेट लिइन् । तीन ओभर बलिङ गरेकी रोयले ११ रन खर्चिइन् । यस्तै कप्तान रुविना क्षेत्री, अस्मिना कर्माचार्य र कविता कुँवरले एक एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको नेपाल  १७.५ ओभरमा सबै विकेट गुमाएर ९७ रनको योगफल तयार गरेको थियो । नेपालकी ओपनर ज्योती पाण्डेले सर्वाधिक १७ रन बनाएकी थिइन् । उनले १३ बल खेल्दै ४ चौका प्रहार गरिन् । यस्तै अर्की ओपनर बिन्दृ रावलले १६ रन जोडिन् । यस्तै सिता राना मगर ११ रन जोडेर पभेलियन फर्किँदा अन्य ब्याटरले दोहोरो रन बनाएका थिएनन् ।

युगाण्डाकी कप्तान कोन्की अवेकोले सर्वाधिक र तीन विकेट लिएकी थिइन् । यस्तै सहारा अकिटेङले दुई तथा जानेत बाबाजीले एक विकेट लिएका थिए ।

पाँच खेलको शृंखलामा लगातार तीन खेलमा हार बेहोरेको नेपालले शृंखला गुमाइसकेको छ । नेपाल पहिलो खेलमा १२ रनले, दोस्रो खेलमा एक विकेटले र तेस्रो खेलमा ६ विकेटले पराजित भएको थियो ।

शृंखलाको अन्तिम खेल शनिबार हुनेछ । नेपाली महिला टिमले पहिलो पटक घरेलु मैदानमा क्रिकेट शृंखला खेलेको हो । चौथो खेल जितेसँगै नेपाल क्लिन स्विप हुनबाट जोगिएको छ । 

घरेलु मैदानमै आफूभन्दा तीन वरीयता तलको टिमसँग पराजित हुँदा भने नेपालले धेरै सिक्न बाँकी रहेको स्पष्ट हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ