arrow

बुटवलमा एमालेको २५ वर्षे विरासत भत्काएर विजयको यात्रा नजिक खेलराज

logo
नारायण वली,
प्रकाशित २०७९ जेठ ७ शनिबार
20220521_070213.png

रुपन्देही ।  २०५४ सालदेखि नेकपा एमालेको एकछत्र गढ मानिँदै आएको बुटवल लामो समयसम्म स्थानीय र केन्द्रीय राजनीतिलाई थेक्दै आएको छ । विशेषगरी नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको राजनितिक करिअरलाई उँचो बनाउने ठाउँको रुपमा चिनिन्छ बुटवल ।पौडेलले आफ्नो राजनीतिक थलो बनाउँदै आएको निर्वाचन क्षेत्रको विकास नगरेका भने होइनन् ।

उनले खोलानालामा पुल र कल्भर्ड बनाइदिएर यहाँका मतदाताको नजरमा लोकप्रिय बने । त्यसैका कारण पौडेलले यस क्षेत्रबाट निरन्तर चुनाव जित्दै आएका छन् ।

तर गत बैशाख ३० गते सम्पन्न स्थानीय निकायको चुनावमा भने उनै बुटवलबासीका प्रिय नेताको क्षेत्रबाट एमालेले आफ्नो २५ वर्षे विरासत जोगाउन नसक्ने निश्चित छ । एमालेकै नेता कार्यकर्ताहरु जब पौडेलले बुटबलबाट लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ सार्न स्वीकृति जनाए तबदेखि यहाँका एमालेहरु नै उनीसँग रिसाएका छन् । एक एमालेका सक्रिय नेताले भने, ‘त्यतिबेला कामरेडले प्रदेश राजधानीसँग अर्थ मन्त्रीको कुर्सी साटेको भन्ने पाइयो । दबाब दिइयो सकिएन । पहिले नै अस्थायी मुकाम उतै बनाएको भए हाम्रो यस्तो प्रयास हुने थिएन ।’

त्यसकै रीस वा परिणाम वा अलोकप्रियता वा गठबन्धनको सशक्तता भनौं बुटवल उपमहानगरका अधिकांश वडाहरुको मतगणना सकिँदा नेपाली काँग्रेसका नेता बुटवल नगर सभापति खेलराज पाण्डेले आफ्ना निकटतम प्रतिद्वन्द्वी मेयरका उम्मेदवार एमालेका नेता बाबुराम भट्टराईलाई धेरै मतान्तरको फरकमा शुरुदेखि नै पछाडि पार्दै आएका छन् ।

बुटवल उपमहानगरपालिकाका १९ वटा वडाहरुमध्ये शुक्रबारदेखि ११ को मतगणना शुरु गरिएको छ भने १२  नं वडाको मतपत्र गणना शनिबार बिहान सकिएको र कांग्रेसको प्यानल विजयी भएको छ। 

वडा नं ११  एमालेको सबैभन्दा निर्णायक वडा मानिन्छ । हालसम्मको गणना अनुसार ११ मा मेयरमा खेलराजको मत धेरै आएको छ भने वडाध्यक्षमा एमालेको मत धेरै आएको पाइएको छ ।

वडा नं ११ मा एमालेले धेरै मत ल्याए पनि कांंग्रेसका मेयर पदका उम्मेदवार पाण्डेले थोरै मत प्राप्त गरे पनि जित सुनिश्चित भैसकेको छ । 

जसले गर्दा २५ वर्षसम्म कांग्रेसले गुमाएको आफ्नो विरासत ढिलै भए पनि फर्काउने अपेक्षामा कांग्रेसजनहरु विश्वस्त छन् ।  बुटवल उपमहानगरपालिकाको उपप्रमुखमा भने एमालेकी नेतृ सावित्रादेवी अर्यालले जित हात पार्ने निश्चित छ । 

गठबन्धनको तर्फबाट प्रमुखमा उठेका कांग्रेसका उम्मेदवार पाण्डेले ६ हजार बढी मतले एमालेका भट्टराईपछि पारेका छन् । त्यस्तै उपप्रमुखमा एमालेकी अर्यालले गठबन्धनका उपप्रमुखका उम्मेदवार नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङलाई पनि धेरै मतान्तारले जित्ने भएकी छिन् । 

निर्वाचन आयोग बुटवलका अनुसार शनिबार दिउँसो करिब २ बजेसम्म सबै मतगणना सकिने बन्दै अपरान्हसम्म मेयर( उपमेयरको नामावली सार्वजनिक गरिने छ । हालसम्म उपमहानगरका वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १३, १४, १५, १६, १७, १८ र १९ वडाको मतगणना यसअघि नै सकिएको छ। 

वडा नम्बर १ मा कांंग्रेसका बागी उम्मेदवार विजयी भएका छन् भने, वडा नम्बर २ मा नेकपा एकीकृत समाजवादीका विजयी भएका छन् । वडा नम्बर ३, ४, ५,६, ७, ८, ९, १३, १५, १६, १७ मा कांग्रेस विजयी भएको छ। त्यस्तै वडा नम्बर १०, १४, १८ र १९ वडामा एमालेले जित हात पारेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ