- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका लागि भइरहेको निर्वाचनको मतगणनामा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह निकै अगाडि बढेका छन् ।
वालेन्द्रले दोस्रो स्थानका उम्मेदवारले भन्दा झण्डै दोब्बर मत ल्याएका छन् । उनलाई भेट्टाएर विजय हासिल गर्ने दोस्रो र तेस्रो स्थानका उम्मेदवारको सम्भावना कम हुँदै गएको छ । झण्डै ४० प्रतिशत मतगणना भइसकेकोमा वालेन्द्र निकै अगाडि बढेका छन् ।
वालेन्द्र विजेता दौडमा एक्लै छन् । उनी दोस्रो स्थानका एमालेका उम्मेदवार केशव स्थापित भन्दा झण्डै दोब्बर मतले अगाडि छन् । वालेन्द्रले ३३ हजार २६० मत पाएका छन् । स्थापितले १७ हजार ६९२ मत पाएका छन् । तेस्रो स्थानकी गठबन्धनकी उम्मेदवार एवं नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले १७ हजार ५७९ मत पाएकी छिन् ।
वालेन्द्र निकै अगाडि बढ्दा दोस्रो हुनका लागि स्थापित र सिंहबीच कडा टक्कर देखिएको छ ।
५५ उम्मेदवार रहेकामा राप्रपाका मदनदास श्रेष्ठ १ हजार ७९६ मतसहित चौथो स्थानमा छन् । अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १ हजार २९३ मत ल्याइसकेका छन् । अन्य उम्मेदवारले भने एक हजार मत पनि ल्याएका छैनन् ।
त्यस्तै उपमेयरमा भने एमाले उम्मेदवार सुनीता डंगोल निकै अगाडि छिन् । उनले २६ हजार ५७५ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ५९१ मत ल्याएका छन् । राप्रपाकी बिनिता मगैयाले ३ हजार ६२३ मत ल्याएकी छिन् ।
स्वतन्त्र उम्मेदवारहरु वेन्जीसिंह महर्जनले २ हजार १४२ तथा विद्या श्रेष्ठ महर्जनले १ हजार ५०१ मत ल्याएकी छिन् ।