arrow

बिहेको चार दिनअघि घरमा सुतेको अवस्थामा बाबु–छोराको हत्या 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ८ आइतबार
trained-dog.jpg

सिराहा । सिरहामा धारिलो हतियार प्रहार गरी बाबु छोराको हत्या भएको छ । घरमै सुतिरहेको अवस्थामा सिराहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाहाइ भन्ने चन्देश्वर पाल र उनका १९ वर्षीय छोरा सन्तकुमार पालको शनिबार राति हत्या भएको हो ।

सन्तकुमारको यही ११ जेठमा विवाह हुने भएकाले गाउँले महिलाहरू विवाह गीत गाएर करिब मध्यराति १२ बजे सुतेका बाबुछोराको करिब २ बजे राति हत्या भएको स्थानीय अरुण सिंहले जानकारी दिए । 

उनका अनुसार राति करिब १२ बजेसम्म गीत बजिरहेको थियो । बिहानपख करिब २ बजेको आसपासमा घटना भएको हुनसक्ने आशंका गरिएको उनले बताए।

घरको छुट्टाछुट्टै कोठामा बुबा र छोरा सुतेका थिए । उनीहरूको सुतिरहेकै ठाउँमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा फेला परेका हुन् । 

बुवा एक्लै सुतेको र सन्तकुमारसँग गाउँकै १०–१२ वर्षको एक जना बालक सुतेका थिए । उनले नै हत्या भएको थाहा पाएपछि घरका अन्य सदस्यलाई र गाउँलेलाई जानकारी गराएका थिए । 

घटनाको जानकारी पाएलगतै करिब बिहान ४ बजे नै घटनास्थल पुगेको प्रहरीले घटनास्थल शील गरेर अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले घटनाबारे तत्काल केही बताउन नसकिने जानकारी दिए ।

 ‘घटना भएको छ । हामीले विभिन्न ढंगले अनुसन्धान गरिरहेका छौँ । तत्काल घटनाकाबारेमा केही बताउन सकिँदैन,’ उनले भने । 

प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको पनि सहयोग लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ