arrow

भ्रामक रूपमा प्रयोगकर्ताको डेटा सङ्कलन गरेपछि ट्विटरमाथि १८ अर्ब जरिवाना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १२ बिहिबार
twitter-data-twitter.jpg

काठमाडौं । ट्विटरले विज्ञापन देखाउनका लागि १४ करोड बढी प्रयोगकर्ताको इमेल र फोन नम्बर संकलन गरेको आरोप सुल्झाउन १५ करोड अमेरिकी डलर (करिब १८ अर्ब नेपाली रुपैयाँ) जरिवाना तिर्ने भएको छ।

अमेरिकी संघीय नियामकले सबैभन्दा ठूलो गोपनीयता सम्झौताका रुपमा बुधबार यस्तो घोषणा गरेको हो । फेडरल ट्रेड कमिशन र न्याय विभागले भ्रामक रूपमा सङ्कलन गरिएको डेटाबाट फाइदा लिनबाटसमेत कम्पनीलाई रोक लगाएको छ ।

यस्तै डेटा संकलन गरेर प्रभावित भएका १४ करोड बढी प्रयोगकर्तालाई कम्पनीले जानकारीसमेत गराउनु पर्ने छ । सम्झौताको बारेमा जारी समाचार विज्ञप्ति अनुसार ट्विटरले नयाँ गोपनीयता कार्यक्रम पनि लागू गर्नेछ, जसले नयाँ उत्पादनहरूको सुरक्षा जोखिमहरूको समीक्षा गर्नेछ ।

'१५ करोड डलर जरिवानाले ट्विटर विरुद्धको आरोपको गम्भीरतालाई प्रतिबिम्बित गर्दछ र आजको प्रस्तावित सम्झौताको परिणाम स्वरूप लागू हुने पर्याप्त नयाँ अनुपालन उपायहरूले प्रयोगकर्ताहरूको गोपनीयतालाई खतरामा पार्ने थप भ्रामक रणनीतिहरू रोक्न मद्दत गर्नेछ,' एसोसिएट महान्यायाधिवक्ता वनिता गुप्ताले विज्ञप्तिमा भनेकी छिन् ।

ट्विटरको जरिवाना फेडरल ट्रेड कमिसनले फेसबुकलाई २०१९ मा लगाएको ५ बिलियन डलर जरिवानाभन्दा निकै कम हो । तर सन् २०१६ को डेटा चोरीमा उबरसँग भएको सन् २०१८ को सम्झौताभन्दा बढी हो । 

यो जरिवाना ट्विटरको सन् २०२२ को पहिलो त्रैमासिकको राजस्वको करिब १३ प्रतिशत हो । 

डेमोक्रेट र प्राविधिक उद्योगका आलोचकहरूले यो जरिवाना विश्वको सबैभन्दा राम्रो स्रोत भएको कम्पनीविरुद्ध दाँतविहीन हुने चेतावनी दिएका छन् ।

सम्झौताको समर्थनको रूपमा अमेरिकी सरकारले क्यालिफोर्नियाको उत्तरी जिल्लाको संघीय अदालतमा बुधबार कम्पनीको विरुद्धमा उजुरी दायर गरेको थियो । उजुरीमा ट्विटरले संघीय कानूनको साथै फेडरल ट्रेड कमिसनको २०११ को आदेशलाई भंग गरेको आरोप छ ।

'डेटा सुरक्षित राख्नु र गोपनीयताको सम्मान गर्नु भनेको हामीले अत्यन्तै गम्भीरताका साथ लिने कुरा हो  र हामीले  फेडरल ट्रेड कमिशनसँग प्रत्येक चरणमा सहयोग गरेका छौं,' ट्विटरले सम्झौताको प्रतिक्रिया दिँदै ब्लग पोस्टमा भनेको छ ।

'आउँदा दिनमा हामी यस कार्यमा लगानी गर्न जारी राख्नेछौं, प्रक्रियाहरू निर्माण र विकास गर्ने, प्राविधिक उपायहरू लागू गर्ने, र नियमित लेखापरीक्षण र रिपोर्टिङ सञ्चालन गर्ने गरी हामीले ट्विटरमा हरेक तह र कार्यमा जोखिम न्यूनीकरण गरिरहेका छौं,' ट्विटरले अघि भनेको छ ।

ट्विटरले पहिलो पटक सन् २०१९ मा अन्जानमा प्रयोगकर्ताहरूको इमेल र फोन नम्बरहरू विज्ञापन उद्देश्यले प्रायोजित भएको घोषणा गरेको थियो । 

ट्विटरको डेटा गोपनीयताको सुरक्षा दुर्घटनाको श्रृंखलामा सन्  २०२० मा कम्पनीले एलन मस्कलगायत उच्च प्रोफाइल राजनीतिज्ञहरू र अर्बपति लक्षित डेटा उल्लंघनको सामना गरेको थियो ।

प्रयोगकर्ता सुरक्षाका लागि उपलब्ध फोन नम्बर विज्ञापन उद्देश्यका लागि ‘अन्जानमा’ प्रयोग भएको बताएको छ । संघीय नियामकहरुले २०१९ मा फेसबुकलाई यस्तै गरेकामा दण्डीत गरेको थियो ।

ट्विटरले खाता रिसेट गर्न र  टु फेक्टर अथेंटिकेशनका लागि २०१३ देखि प्रयोगकर्ताको इमेल र फोन नम्बर माग्न थालेको थियो ।

२०१४ देखि २०१ को बीचमा लाखौंले फोन नम्बर र ईमेल ट्विटरमा राखेपछि कम्पनीले ती फोन नम्बर र ईमेल विज्ञापन देखाउन डेटा ब्रोकरबाटको डेटासँग म्याच गरेको कहिल्यै सार्वजनिक गरेको थिएन ।

यो सम्झौता अन्तर्गत ट्विटरले मानिसहरूलाई उनीहरूको खाता प्रमाणीकरण गर्न फोन नम्बर बाहेकका सुरक्षा कुञ्जीहरू वा मोबाइल एपका सुविधा उपलब्ध गराउन आवश्यक छ ।

कम्पनीले प्रयोगकर्ताको डेटामा पहुँच सीमित गर्नुपर्नेछ र डेटा उल्लंघन भएमा फेडरल ट्रेड कमिशनलाई जानकारी गराउनु पर्नेछ । फेडरल ट्रेड कमिशनमा उजुरीलाई डेमोक्र्याट र रिपब्लिकनहरूले समर्थन गरेका छन् ।



नयाँ