arrow

भन्सारको यो वर्ष जोखिम व्यवस्थापनदेखि आसीकुडा वर्ल्डसम्म

logo
प्रकाशित २०७३ भदौ ४ शनिबार
department-of-custome-new-pic-.jpg.jpeg
काठमाडौं । भन्सार विभागले चालू आर्थिक वर्ष २०७२/०७३को वार्षिक कार्ययोजना अन्तर्गत वर्ष भरी गर्ने कामको प्राथमिकता सार्वजनिक गरेको छ । विभागले सार्वजनिक गरेको मुख्य १४ प्राथमिकताका क्षेत्रहरूमा जोखिम व्यवस्थापन देखि नयाँ प्रविधिको रूपमा रहेको आशिकुडा वर्डसम्मको व्यवस्थाको विकास गर्ने लक्ष्य भन्सार विभागले लिएको छ । 
 
विभागको साउन २७ र २८ गते ललितपुरमा भएको मुलुकभरका भन्सार प्रशासनमा कार्यरत कर्मचारीहरूको भेलाबाट पारित १४ बुँदे घोषणापत्रमा भन्सार विभागले आफ्नो यस वर्षको प्राथमिकता र लक्ष्य सार्वजनिक गरेको हो । विभागले प्राथमिकता क्रम अनुसार यस वर्ष सम्पन्न गर्ने लक्ष्य लिएको १४ बुँदे यस्तो छ । 
 

१. कानूनको परिपालनाप्रति पूर्ण प्रतिवद्ध भई नेपाल सरकार, अर्थ मन्त्रालयले निर्दिष्ट गरेको राजश्व संकलन गर्दै व्यापार सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं । 

२. जोखिम व्यवस्थापनका सिद्धान्तहरूबाट निर्देशित रही केन्द्रीय तथा स्थानीय जोखिम व्यवस्थापन इकाईहरूलाई सवल तुल्याउने र महत्वपूर्ण भन्सार कार्यालयमा स्थानीय जोखिम परिसूचकांकका आधारमा जाँचपास गर्ने व्यवस्था मिलाउने छौं । चालू आर्थिक वर्षलाई ‘भन्सार जोखिम व्यवस्थापनको लागि सूचना प्रविधि भन्ने नाराका साथ क्रियाकलापहरूलाई केन्द्रीत गर्नेछौं । 

३.मुलुकका प्रमुख १० भन्सार कार्यालयहरूमा कन्टेनर स्क्यानर सहितको एक्सरे मेसिन र होल्ड ब्यागेज एक्सरे मेसिन मार्फत् शीघ्र जाँचपास गर्ने व्यवस्था यस आर्थिक वर्षदेखि सुरू गरी आधुनिक भन्सार सेवाको प्रत्याभूति गराउने छौं । 

४. भन्सार प्रशासनलाई समन्वयात्मक सीमा व्यवस्थापनको अग्रणी संस्थाको रूपमा स्थापित गर्दै भन्सार प्रशासनको कार्यसँग सम्बन्धित निकायहरूबीच एक विन्दूको सेवा प्रदान गर्ने प्रणाली स्थापित गराउने छौं । नयाँ पूर्वाधार निर्माण गर्दा एकीकृत सीमा व्यवस्थापन मैत्री बनाउने छौं । 

५. सदाचारिता तथा सुशासनमा जोड दिई आन्तरिक तथा बाह्य संघ संगठनहरूसँगको सम्बन्ध सुदृढ गर्दै भन्सार प्रक्रियामा नागरिकको दायित्व  प्रवर्द्धन गर्ने खालका सामाजिक कार्यहरू आयोजना गरी समाजमा भन्सारको छवि उच्च राख्नेछौं । 

६. राजश्व छलि तथा चोरी पैठारी जस्ता अवैध गतिविधि उपर हालको शून्य सहनशीलताको नीति एवं प्रयासलाई अझ एकीकृत र संयोजित गर्नेछौं । 

७. सूचनामा आधारित व्यवसायिक र तथ्यपरक सेवाका लागि मौजुदा सूचना प्रविधिको अधिकतम उपयोग गरी प्रणालीप्रति थप क्रियाशील रहनेछौं । सूचना प्रविधिको सञ्चालनका लागि प्रणाली सुधार, अद्यावधिक एवं उपयोगमा जोड दिने छौं । डिजिटल कस्टम को गन्तव्य हाँसिल हुने गरी सम्पूर्ण क्रियाकलापहरूलाई केन्दीत गर्नेछौं । 

८. भन्सार सूधार तथा आधुनिकीकरणको अद्यावधिक रणनीतिको कार्यान्वयनप्रति दृढ रहँदै वार्षिक नीति तथा कार्यक्रम एवं कार्यक्रम एवं कार्यालयको कार्यलाई यसै अनुरूप अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्दछौं । 

 ९. चालू वर्षमा प्रमुख १० भन्सारमा आशिकुडा वर्ड प्रणाली मार्फत् जाँचपास गर्न र तत् सम्बन्धि सब मोडल्सहरूको कार्यान्वयन गर्न हामी कटिवद्ध छौं । 

१०. व्यासायिक संगठन रूपमा रूपान्तरण गर्ने प्रयोजनार्थ व्यवसायिक र प्रतिवद्ध जनशक्तिको मान्यतालाई आत्मसाथ गर्दै कार्यालयमा लागू गरिएको कार्यात्मक प्रणालीलाई अझ बढी प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउनेछौं । यसका लागि मौजुदा जनशक्तिको क्षमता विकासमा जोड दिनेछौं । 

११. साँगठनिक सुधारका लागि निजामती सेवा ऐन र नियमावलीका साथै भन्सार प्रशासनले जारी गरेको आचारसंहिताको कार्यान्वयन गरी भन्सार प्रशासनको व्यवसायिकता अभिवृद्धिका लागि सचेत र क्रियाशील रहनेछौं । 

१२. भन्सार कार्यालयमा पूर्वाधार सेवाको विकास र विस्तार गर्ने सिलशीलामा एकीकृत जाँच चौकी निर्माण गरी सञ्चालन नभएसम्मको लागि हालका पूर्वाधारहको स्तरोन्नती र विकास गर्ने र सीमावर्ती क्षेत्रहरूमा रहेको भन्सार कार्यालयहरूको कार्यबोझका आधारमा सहजीकरणयुक्त पूर्वाधार, कर्मचारी आवास, कार्यालय भवन,  आधारभूत उपकरण, तथा सुरक्षाको सुनिश्चितता गर्नेछौं । 

१३. भन्सार प्रक्रियामा सिर्जना हुन सक्ने सम्भावित राजश्व जोखिम तथा व्यापार विचलनलाई न्यूनीकरण गर्न अनुसन्धानात्मक तथा खोजमूलक अध्ययन अनुसन्धान गर्नेछौं । अध्ययनको नतिजा सम्वद्ध निकायहरूसँगको साझेदारीमा गर्नेछौं । 

१४. अन्तराष्ट्रिय व्यापारसँग सम्बन्धित सूचना तथा जानकारी विवरण समकक्षी भन्सार प्रशासनसँग आदानप्रदान गर्न समझदारी गरी स्वच्छ, मर्यादित र बैध व्यापारलाई प्रवर्द्धन गर्नेछौं।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ