arrow

सहमतीय सरकार गठन हुनुपर्छ: एमाओवादी

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
28745079.jpeg
काठमाडौँ । एकीकृत नेकपा (माओवादी)ले प्रमुख दलबीच बिगतमा १६ बुँदे सहमति गर्दा भएको ‘भद्र सहमति’का आधारमा सरकार गठन हुनुपर्ने निष्कर्ष निकालेको छ । नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको स्थायी समितिको बैठकले विगतको सहमतिका आधारमा सरकार गठन प्रक्रियालाई अगाडि बढाउनुपर्ने र त्यसमा प्रमुख दलको सहभागिता हुनुपर्ने निर्णय गरेको हो । 
 
बैठकले संविधान जारी भइसकेको अवस्थामा त्यसलाई सहज रुपमा कार्यान्वयन गर्न पनि प्रमुख दलको सहमति र सहकार्य हुनु आवश्यक रहेको भन्दै बहुमतीय प्रक्रियाले अगाडि बढ्दा मुलुकको हित नहुने निश्कर्ष निकालेको छ । यस्तै राष्ट्रिय स्वाधीनता, जनजीविका, तराई मधेसमा जायज माग राखी आन्दोलनमा केन्द्रित भएका राजनीतिक दल तथा समूहको मागलाई सार्थक सम्बोधन गर्नुपर्ने, थारू, मधेसी, आदिवासी, मगर समुदायले उठाएको मागलाई सम्बोधन गर्नुपर्ने लगायतका आठबुँदे सर्तसमेत अगाडि सारिएको एमाओवादीका सचिव गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो । 
 
यस्तै एमाओवादीका स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले बैठकले प्रमुख दलबीच भएको विगतको सहमतिलाई आधार मानेर सरकार गठन गर्नुपर्ने निष्कर्ष निकालेको बताउनुभयो । राष्ट्रिय आवश्यकता र चाहनालाई सम्बोधन गर्न, बहुमतीय प्रक्रिया भित्र पनि सहमति प्रक्रिया अगाडि बढाउनुपर्नेमा आफूहरुको धारणा रहेको उहाँले जानकारी दिनुभयो । 
 
सरकार गठन गर्नुभन्दा पहिले राष्ट्रियता, जनजीविकालगायतका विषयमा प्रस्ट धारणा आवश्यक रहेको समेत एमाओवादीले उल्लेख गरेको छ । बैठकले सरकार गठनको विषयमा प्रमुख दलसँग द्विपक्षीय र बहुपक्षीय छलफल गर्ने निर्णयसमेत गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ