- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
ब्रह्माजी पनि नौ ऋषिहरूलाई साथ लिएर कर्दम ऋषिको आश्रममा आए । उनको आश्रममा अवतरित वालकले आमाको उद्धार गर्ने कुरा बताए र ऋषिलाई अव संन्यास लिए पनि हुन्छ भने । ऋषिले नौ वटा कन्याको विवाह भएको छैन, कसरी जाउन् भन्दा उनले आफूसँग त्यहाँ आएका नौ वटा ऋषिहरूलाई ती नौ कन्या दिनु भने । उनले त्यसै गरे ।
कपिल मुनि पनि बिस्तारै बढ्दै गए । कर्दम ऋषिले कपिल मुनिलाई आफ्नो जीवनको समय धेरै बाँकी नभएकोले संन्यास लिएर परमात्मा चिन्तनका लागि जाने कुरा बताउँदा उनले आफ्ना पितालाई संन्यास लिने स्वीकृति दिए र संन्यास लिएपछि आफ्नो आमाको सम्झना नगर्ने र घरलाई बिर्सने उपदेश पनि गरे ।
कर्दम ऋषि पनि ज्ञानी नै हुनुहुन्थ्यो । तैपनि कपिल मुनिले उनलाई अनेक किसिमले ज्ञान दिँदै जानुभयो । उहाँ संन्यास लिएर घर छोड्दै हुनुहुन्थ्यो । संन्यास लिएपछि संन्यासीले ज्यादा परोपकारको काम पनि गर्न नहुने जसले गर्दा उसको मन प्रपञ्चमै अलमल हुन्छ र परमात्मा बिर्सन्छ । संसार सँग वैर गर्नु पनि हुन्न । कसैसँग प्रेम गर्नु पनि हुन्न, नारायणको ध्यान र ओमकारको जप गर्नु पर्छ भन्दै घरबाट बिदा दिनुभयो ।
देवहूति पनि कपिल देवसँग ज्ञान लिन आतुर थिइन् । उनले आमा छोराको सम्बन्ध लौकिक हो, नारायण आफ्नो कोखबाट अवतार लिनु भएकोले उहाँसँग ज्ञान लिएर संसार सागर पार तर्ने ज्ञान खोजिन् । कपिल देवले पनि आमासँग आफूलाई मनमा लागेको कुरा सोध्न आग्रह गरे । आमाले पनि आफू वृद्ध भए पनि वासनाले सताइ रहने, जुन क्षणिक हो । मन चञ्चल भइरहन्छ, नाशवान् वस्तुबाट पार भएर अक्षय वस्तु पाउने उपाय के हो आदि प्रश्न गरिन् ।
कपिल मुनिले पनि कसैलाई भेट गर्ने इच्छालाई वासना भनिन्छ भने भगवान् भेट गर्ने इच्छालाई भक्ति भनिन्छ त्यसैले हामीले भगवान्को भक्ति गर्नुपर्छ । मनमा आएको वासनाको विषयलाई परमात्माको वासनामा बदल्नाले वासना क्षय हुन्छ । संसारमा आनन्द छैन । मानिस संसारको जड पदार्थबाट सुख त पाउँछ, सुख भोग गर्छ तर त्यसैबाट दुःख पनि पाइनै हाल्छ ।
हामी निदाएको वेलामा जगतको सम्झना हुँदैन, त्यसैले आनन्द आउँछ । त्यसै गरी जगतलाई बिर्सँदा परमात्माको आनन्द मानिसले प्राप्त गर्दछ । जसले धन, मान खोज्दछ, चमत्कार गर्छ ऊ सच्चा सन्त होइन । जसले आफ्नो मनले आफूले सांसारिक भोग गरेँ, यसबाट केही उपलब्ध नहुने रहेछ, यो संसार एक दिन छोडेर जानु पर्ने रहेछ भन्ने कुरा बुझेर अविनाशी परम सत्य प्राप्त गर्ने इच्छा राख्दछ, त्यही नै सच्चा सन्न्यासी हुन्छ ।
कपिल मुनिले आफ्ना आमालाई यस प्रकारले ज्ञान दिनु भयो अनि भन्नुभयो, मैले तपाईँको कल्याण गर्न आफू आएको र ज्ञान दिएको हुँ भन्दै आफ्नो कल्याण हुने काम आफैँ गर्नुस्, अव कसैको आमा नबन्नुस्, कसैको पत्नी नबन्नुस्, मतलब गर्भमा आउने काम नगर्नुस् र साधनामा लागेर जीवन मुक्त हुनस् भन्नुभयो र आमाको चित्त शान्त पार्नुभयो । आफ्नो आमालाई यसरी ज्ञान प्रदान गरेर कपिल मुनिले आमाको प्रदक्षिणा गर्नु भयो अनि सागर र गङ्गाको सङ्गम गंगासागर तर्फ प्रस्थान गर्नुभयो ।(अस्तु)
(तिमिल्सीना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन् ।)
श्री: कपिल मुनि (भाग १)