arrow

देवहूतिसँग कर्दम ऋषिको विवाह

कपिल मुनि (भाग २)

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७९ जेठ १२ बिहिबार
Kapil-Muni1.jpg

एक समय कर्दम ऋषिले भगवान्ले आफ्नो घरमा आउने प्रतिज्ञा गरेको कुरा सम्झे अनि आजसम्म किन नआउनु भएको होला भनेर सोच्दै थिए ।उनले आफू विषय भोगमा लम्पट भएकोले भगवान् नआउनु भएको होला भनेर आत्मालोचना गरिरहे । किनभने विलासी पुरुषलाई भगवान्को दर्शन मिल्न कठिन नै हुन्छ, जुन पवित्र मन नभएसम्म सम्भव नै हुँदैन । श्री शिवपुरी बाबा पनि आज्ञा हुन्थ्यो, मन शुद्ध हुनुपर्छ, अनि परमात्मा चिन्तन गर्न सकिन्छ र यसरी शुद्ध मनले परमात्माको ध्यान गर्नाले परमात्माले दर्शन दिनुहुन्छ ।

महाराज मनु सतरुपा र छोरी देवहूतिलाई साथ लिएर कर्दम ऋषिको आश्रममा आएका नै थिए । ऊनीसँग कर्दम ऋषिले आफूलाई कामेच्छाको भन्दा पनि काम विनाश हुने कन्या चाहिएको बताएकै थिए । उनले आफू विवेकले नै काम सुख भोग गर्ने किनभने कामले शरीरलाई कहिले पनि छोड्न नसक्ने अनि काम क्षय गर्ने कुरा बताएका नै हुन् । 

उनी भोग भोगका लागि नभई भोग त्याग गर्ने साधन पनि बन्न जाने जस्ता ज्ञानपूर्ण कुरा गरेकै पनि थिए । त्यसैगरी उनले एउटा पुत्र जन्म भएपछि पति पत्नीका बीचमा लौकिक सम्बन्धबाट पर हुने आफ्नो अठोट रहेको बताएका थिए । 

उनको यस प्रकारको वैराग्य युक्त वार्ताले मनु महाराजलाई आश्चर्य हुन गयो किनभने उनी लग्न तय गरेर छोरी सुम्पने दाउमा थिए । देवहूति पनि उनीहरूको बीचको त्यस प्रकारको ज्ञान, वैराग्य युक्त वार्तालापबाट खुसी भइन् किनभने उनको ध्येय नै ज्ञानी, इन्द्रियलाई जितेका, परमात्माको भक्त पति पाइयोस् किनभने हामी नारायणको चरणमा परेर संसार सागर तर्नु पर्छ भन्ने थियो । 

उनी सोच्दै गइरहेकी थिइन्, पतिले गृह त्याग गरेपछि आफू पनि सन्न्यासीको जस्तै जीवन बिताउने निश्चय थियो । उनी राज कन्या त हुँदै हुन्, विवाह पछि उनी ऋषि पत्नी बन्न गइन् तैपनि उनमा ज्ञान परिपूर्ण थियो । 

उनी कर्दम ऋषिको सेवामा तल्लीन थिइन् । पति पत्नीमा वार्तालाप भई रहन्थ्यो । उनी पतिको तपस्याले र त्यस्ता तपस्वीको सेवा गर्न पाएकोमा आफूलाई भाग्यमानी ठानेकी थिइन् । पति कर्दमले उनलाई आफूलाई इच्छा भएको वर माग्न आग्रह गर्दा उनले एक पुत्रको इच्छा भएको कुरा बताइन् । ऋषिले उनलाई सरस्वती गङ्गामा स्नान गरेर पवित्र हुन भने । उनले आफ्नो तपस्याले एक विमान बनाए र त्यसै विमानमा बसेर एक सय वर्ष सम्म विहार गरे । 

कालान्तरमा देवहूति गर्भवती भइन् । उनको मुहारको तेज बढ्दै गयो र उनले कार्तिक महिनाको कृष्णपक्षको पञ्चमी तिथिमा एक पुत्रलाई जन्म दिइन्, जसको पैतालामा कमलको चिन्ह पनि रहेको थियो । सबै देवगण, ऋषिहरू प्रसन्न भए । 

ब्रह्माजी पनि नौ ऋषिहरूलाई साथ लिएर कर्दम ऋषिको आश्रममा आए । उनको आश्रममा अवतरित वालकले आमाको उद्धार गर्ने कुरा बताए र ऋषिलाई अव संन्यास लिए पनि हुन्छ भने । ऋषिले नौ वटा कन्याको विवाह भएको छैन, कसरी जाउन् भन्दा उनले आफूसँग त्यहाँ आएका नौ वटा ऋषिहरूलाई ती नौ कन्या दिनु भने । उनले त्यसै गरे । 

कपिल मुनि पनि बिस्तारै बढ्दै गए । कर्दम ऋषिले कपिल मुनिलाई आफ्नो जीवनको समय धेरै बाँकी नभएकोले संन्यास लिएर परमात्मा चिन्तनका लागि जाने कुरा बताउँदा उनले आफ्ना पितालाई संन्यास लिने स्वीकृति दिए र संन्यास लिएपछि आफ्नो आमाको सम्झना नगर्ने र घरलाई बिर्सने उपदेश पनि गरे । (क्रमशः.....)
(तिमिल्सीना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन् ।)
श्री: कपिल मुनि (भाग १)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ