arrow

‘‘इन्धन सङ्कट समाधान गर्न वैकल्पिक उपाय अपनाऔँ’’

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
875975769.jpeg
काठमाडौँ । बजारमा इन्धनको चरम अभाव भएपछि वैकल्पिक उपाय अपनाएर जनजीवनलाई सहज बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । भारतले नेपालमाथि अघोषित नाकाबन्दी जारी राखेको अवस्थामा मुलुकभित्रै उपलब्ध स्रोत साधनलाई नै प्रयोग गर्नुपर्ने उनीहरुको सुझाव छ । 
 
पेट्रोलियम पदार्थको विकल्पका रुपमा अन्य साधन तथा स्रोतको प्रयोग गरेर दैनिक आवश्यकतालाई परिपूर्ति गर्नुपर्ने अवस्था सिर्जना भएको छ । इन्धनको आयात कम भएपछि मुलुकभर नै खाना पकाउने ग्यासको अभाव भएको छ । आवागमन प्रभावित भएको छ । 
 
डिजल र पेट्रोल नपाएपछि सार्वजनिक सवारी अस्तव्यस्त भएको छ । कोटा प्रणालीका आधारमा वितरण गरिएको इन्धनले उपभोक्ताको आवश्यकता पूरा गर्न नसक्दा समस्या घट्नेभन्दा पनि दैनिक बढ्दै गएको छ । नेपाल आयल निगमसँग रहेको मौज्दात पेट्रोलियम पदार्थ क्रमशःघट्दै गएको छ । निगमकै भनाईलाई आधार मान्ने हो भने हाल कायम रहेको मौज्दातले एकाध दिनलाई भन्दा बढी धान्न नसक्ने अवस्था देखिएको छ । 
 
सरकारले कुटनीतिक र वैकल्पिक उपाय नअपनाउने हो भने आगामी सातापछि मुलुकको अवस्था झन् भयावह बन्ने देखिन्छ । सो अवस्थालाई ख्याल गर्दै सरोकार भएका व्यक्ति तथा समूहले फरक विकल्प अपनाउन आग्रह गरेको छ । 
 
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलले बिजुलीबाट खाना पकाउने उपाय अवलम्बन गर्नेतर्फ जनतालाई सचेत गराउनुपर्छ । उहाँले भन्नुभयो ‘‘इन्धन सङ्कट समाधान गर्न वैकल्पिक उपाय अपनाऔँ । समस्या समाधान गर्न हाम्रै सापेक्षताका उपायहरु अवलम्बन गरौँ ।’’ 
 
एलपी ग्यासको विकल्पमा बिजुलीबाट खाना पकाउने उपाय अपनाउनुपर्ने भएपनि मुलुकमा तत्काल सहज बिद्युत् उपलब्ध हुने अवस्था छैन । हाल मुलुकभर ७५० मेगावाट बिद्युत् मात्रै उपलब्ध छ । मागअनुसारको बिद्युत् आपूर्ति हुन नसक्दा नेपाल बिद्युत् प्राधिकरणले हाल दश घण्टा बिद्युत् भार कटौती गर्दै आएको छ । 
 
सहज बिद्युत् उपलब्ध गराउन हाल निर्माणाधिन जलबिद्युत् आयोजनालाई तत्काल पूरा गर्नुपर्ने अवस्था छ । ग्यास बिक्रेता महासङ्घका महासचिव चन्द्र थापाले हाल पचास प्रतिशत उपभोक्ताको घरमा ग्यासको सिलिण्डर खाली भइसकेकाले सङ्कट चुलिदै गएको बताउनुभयो । उहाँले स्थानीयस्तरमा उपलब्ध साधनस्रोतको उपयोग गर्न उपभोक्तालाई आग्रह गर्नुभयो भने तत्काल ग्यास आयातको उचित व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । दाउरा, सौर्य चुल्हो, गुइठा, भुसे चुलो, बिक्रेटलगायतका सामग्रीको प्रयोग गर्नुपर्ने आवश्यकता देखिएको छ । 
 
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले उपभोक्तालाई सौर्य चुल्हो प्रयोग गर्न बिगतदेखि नै अभिप्रेरित गर्दै आएको छ । ग्रामीण उपभोक्तालाई ध्यान दिएर केन्द्रले वायोग्यास प्रयोग गर्न अभिपे्ररित गरिरहेको छ । सहरी क्षेत्रमा सौर्य ऊर्जा उत्पादनको लागि अनुदानको समेत व्यवस्था गरेको छ । ऊर्जा अध्ययन केन्द्रका संयोजक प्राडा अमृतमान नकर्मीकाअनुसार सन् २०१५ मा केन्द्रले गरेको अध्ययनअनुसार तुलनात्मकरुपमा सबैभन्दा सस्तो ऊर्जा विजुली हो । उहाँले बिजुलीको प्रयोगबाट खाना पकाउन सुझाव दिनुभयो । 
 
मट्टीतेलबाट खाना पकाउँदा मासिक प्रतिव्यक्ति रु एक हजार ३५०, एलपी ग्यासबाट रु ९९० र बिजुलीबाट रु ९६० पर्ने अध्ययनबाट पत्ता लागेको उहाँको दाबी छ । हाल राजधानीमा नै ७५० भन्दाबढी व्याट्रीबाट चल्ने ट्याम्पु सञ्चालनमा रहेका छन् । ती ट्याम्पूलाई अघोािषत नाकाबन्दीले कुनै पनि प्रभाव पारेको छैन । बिद्युतीय परिवहन व्यावसायी सङ्घले व्याट्रीबाट चल्ने सवारी साधनको प्रयोग गर्न उपाय सुझाएको छ । 
 
सङ्घले अन्य यातायात व्यवसायीलाई पनि बिद्युतीय सवारीसाधन सञ्चालनमा ल्याउन आग्रह गरेको छ । बिद्युतीय परिवहनमा मूल्य अभिवृद्धि कर(भ्याट) र अन्य सबै प्रकारका कर छुट दिनुपर्ने माग व्यावसायीको छ । 
 
हाल तीन पाङ्ग्रे सवारीसाधन प्रयोगमा रहेपनि आगामी दिनमा चार पाङ्ग्रे सवारीसाधन ल्याउनुपर्ने आवश्यकता देखिएको छ । व्याट्री चार्ज गरेर चल्ने सवारी साधनले इन्धन अभाव भएपनि जनजीवन सहज हुनसक्छ । त्यसतर्फ सरकारले बेलैमा ध्यान दिनुपर्ने देखिन्छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ