- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले रसिया-नेपाल खेलकुद सहयोग कार्य योजनामा हस्ताक्षर गरेका छन् । रसियन सरकारको औपचारिक निमन्त्रणामा रसियाको भ्रमणमा रहेका मन्त्री अथक र रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचले दुईपक्षिय कार्य योजनामा संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।
भ्रमणको दोस्रो दिन मन्त्री अथकसहितको प्रतिनिधि मण्डल र रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचसँग शिष्टाचार भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा दुई देशीय हितको विषयमा छलफल भएको थियो ।
छलफल पश्चात् नेपालको उच्च पहाडी क्षेत्रमा खेल पूर्वाधार निर्माण, खेलाडी तथा प्रशिक्षकको क्षमता अभिवृद्धि, दुबै देशबिच मैत्रीपूर्ण तथा प्रतिस्पर्धात्मक खेलहरूको आदान-प्रदान तथा नेपाली खेलाडी र विद्यार्थीलाई खेल विज्ञान पढ्नका लागि छात्रवृत्ति सहयोग लगायत विषय समेटिएको “रसिया-नेपाल खेलकुद सहयोग कार्य योजना” मा दुबै देशका खेलकुद मन्त्रीले हस्ताक्षर गरेका हुन् ।
सो अवसरमा बोल्दै रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचले नेपाली खेलाडी तथा विद्यार्थीहरूलाई खेल विज्ञान पढ्न छात्रवृत्ति दिने, खेलाडी र प्रशिक्षकहरूलाई तालिम दिने तथा दुबै देशबिच मैत्रीपूर्ण खेल आयोजना गर्ने विषयमा रसिया उत्साहित भएको बताएका थिए । साथै नेपालको खेलकुद क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।
मन्त्री अथकले नेपाल र रसिया बिचको ६६ वर्ष लामो कूटनीतिक सम्बन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसी मार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुने विश्वास व्यक्त गरेका छन् । उनले खेललाई कूटनीतिको प्रमुख अङ्ग बनाउँदै आर्थिक, पर्यटन तथा अन्य विधासँग सामानजस्यता बढाउन आवश्यक रहेको उल्लेख गर्दै खेल पूर्वाधार र खेलका समग्र क्षेत्रमा रसियाले कायम गरेको आफ्नै विशिष्ट क्षमताको समेत प्रशंसा गरेका थिए । साथै मन्त्री अथकले रसियाका खेलकुद मन्त्रीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा समेत दिएका छन् ।
उक्त अवसरमा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा। दामोदर रेग्मीले अब नेपाल रसिया सम्बन्ध खेल पर्यटन र खेल कूटनीतिमा समेत आधारित हुने बताए ।
यसैबिच नेपाली प्रतिनिधि मण्डलले रसियाका मार्सल आर्टस सङ्घका अध्यक्ष र अन्तर्राष्ट्रिय बक्सिङ सङ्घका अध्यक्षसँग पनि छलफल गरेको मन्त्रालयका सचिव रेग्मीले जानकारी दिए । छलफलमा अन्तर्राष्ट्रिय बक्सिङ सङ्घका अध्यक्ष उमार क्रेमलेभले नेपालको खेल पूर्वाधार, बक्सिङ एकेडेमी तथा उच्च पहाडी स्थानमा तालिम केन्द्र स्थापना गर्न रसियन सरकार सकारात्मक रहेको बताएका थिए।
मन्त्रालयका सचिव रेग्मीसहित रुसको भ्रमणमा रहेका मन्त्री अथक असार ३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।