arrow

नारायणघाट-बुटवल सडक

चाइना कम्पनीले डुबायाे आयोजना: म्याद सकिन डेढ महिना बाँकी, प्रगति १८ प्रतिशत मात्रै

logo
सन्जय भट्टराई, 
प्रकाशित २०७९ असार ४ शनिबार
IMG_20220617_182416.jpg

नवलपुर । करिब १७ अर्बको लगानीमा विस्तार गर्न लागिएको पूर्व–पश्चिम राजमार्गको बुटवल नारायणघाट सडक खण्ड यतिबेला अलपत्र अवस्थामा छ । साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएपछि २०७५ साल चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

तर सडक विस्तार गर्ने समय अवधि सकिन डेढ महिना बाँकी रहँदासम्म मात्रै १८ प्रतिशत काम हुँदा सर्वसाधारणले भने सास्ती बेहोर्न परेको छ ।चाइना कन्स्ट्रक्सन कम्पनीले गैंडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म ११५ किलोमिटर सडक आयोजनालाई २ खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो ।

नवलपुरको गैंडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८.५८ किलोमिटरलाई खण्ड ‘ख’ अन्तर्गत राखिएको छ। साढे तीन वर्ष मा काम सक्नका लागि हरेक महिना २.५ प्रतिशतका दरले काम सम्पन्न हुनु पर्नेमा समय सकिन डेढ महिना मात्रै बाँकी रहँदा १८ प्रतिशत मात्रै काम भएको आयोजनाको गैंडाकोट दाउन्ने खण्डका प्रमुख रमेश दिष्टीले बताए ।

दिष्टीले पछिल्लो समय १२ वटा ठूला पुलमध्ये ११ वटामा निमार्णको काम भैरहेको र विनयी त्रिवेणीको ज्यामिरे खोलाको पुलको काम वर्षापछि मात्रै शुरु गरिने बताए । दिष्टीका अनुसार २२ वटा साना पुलमध्ये १५ वटामा काम भैरहेको छ । काम भएका १५ वटामध्ये ९ वटा पुल माथिबाट नै यस वर्षा अगाडि नै गाडी चल्ने दिष्टीको दाबी छ ।
 
सडक विस्तारको कामले गति लिन नसक्दा  वर्षातको समयमै सडक पूरै हिलाम्य हुन शुरु भएको छ । आयोजनामा पर्ने साना ठूलो अधिकांश पुलको काम सम्पन्न नहुँदा भत्काएको ठाउँमा बनाइएका डाइभर्सन नै वर्षातको समयमा सडक अवरुद्ध हुने प्रमुख कारण बन्ने निश्चित देखिएको छ ।

सडक निमार्णको सम्झौता भएदेखि निर्माण सम्पन्न नगर्दासम्म सडक मर्मत गर्ने जिम्मा पनि निर्माण कम्पनीकै हुने गरी सम्झौता भए पनि निर्माणको ठेक्का पाएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशनले भने सम्झौताअनुसार सडक मर्मतको काम नगर्दा यातायात अवरुद्ध तथा सडक दुर्घटनाको जोखिम बढेको छ भने यो सडक भएर समयमा गन्तव्यमा पुग्ने कुरा कल्पना मात्रै हुने गरेको छ ।

सम्झौताअनुसार सडक निर्माण शुरु भएपछि मर्मतको जिम्मा पनि चिनियाँ कम्पनीको भएको भन्दै सडक डिभिजन र जिल्लाका स्थानीय तहहरु  चिनियाँ कम्पनीले भत्केको सडक मर्मत गर्नुपर्ने बताउँछ्न् ।

वर्षायाममा डाइभर्सन लगायतका निर्माण कार्य भैरहेको क्षेत्रमा यात्रुले दुःख नपाउन् भनेर आयोजना प्रमुख, ठेकेदार कम्पनी र परामर्शदातालाई आवश्यक निर्देशन दिएको नवलपुरका प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

"भत्केको र बिग्रेको सडक ठेकेदार पक्षले नै  बनाउनु पर्छ, यो विषयमा जिल्ला प्रशासनले आवश्यक समन्वय गरेको छ, वर्षाको समयमा यो बाटो भएर हिँड्ने यात्रुले दुःख नपाउने गरेर काम गर्न आवश्यक निर्देशन दिएका  छौं" प्रजिअ घिमिरेले भने ।

सरकारसँग भएको सम्झौताअनुसार निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले आगामी २०७९ सालको साउन २२ गतेसम्ममा सडक निर्माण सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ। तर यो मितिभित्र निर्माण सकिने सम्भावना छैन।

दुवै खण्डका योजना प्रमुखहरूकाअनुसार निर्माण कम्पनीले समयमै सडक निर्माणको काम नसकिने जानकारी गराएर कन्सल्ट्यान्टलाई म्याद थप्न पत्र पठाएको छ।

‘निर्माण कम्पनीले सम्झौतामा भएको प्रावधानअनुसार म्याद थप गर्नुपर्ने कारणसहितको कागजात पेस गरिसकेको छ। अहिले कन्सल्ट्यान्टले उनीहरूले गरेको काम र अब काम सक्न लाग्ने समयको विषयमा मूल्यांकन गरिरहेको छ,’ दिष्टीले भने, ‘कन्सल्ट्यान्टले मूल्यांकनपछि हामीलाई जानकारी गराउँछ। त्यहीअनुसार म्याद थपको निर्णय हुन्छ।

 म्याद थपको काम अगाडि बढेको पूर्वी क्षेत्रका आयोजना प्रमुख दिष्टीले बताइरहदा  हिउँदभर धुलोले आक्रान्त भएका स्थानीय र यो बाटो भएर यात्रा गर्ने यात्रुले यस पटकको वर्षामा पनि विगतका वर्षहरुमा झैं हिलाम्मे सडक र सवारी जामबाट छुटकारा पाउने सम्भावना भने देखिँदैन ।

शुक्रबार बिहान मात्रै यही सडकको दुम्किबास बजार नजिक बाढीले डाइभर्सन बगाउँदा १० घण्टा जति यातायात अवरुद्ध भएको थियो । निर्माण कम्पनीले यो वर्षामा डाइभर्सनमा समस्या नआउने दाबी गरे पनि निर्माण कम्पनी तयारी र कामको गति देख्दा सडक अवरुद्ध हुने समस्याबाट यो बाटो भएर यात्रा गर्ने यात्रु र स्थानीयले  तत्काल छुटकारा पाउने सम्भावना देखिएको छैन ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ