arrow

मानिसमात्र हैन प्रकृतिमाथि नै असर

खुलेआम विषादी बिक्री वितरणले गिद्ध संरक्षणमासमेत चुनौती

logo
सन्जय भट्टराई
प्रकाशित २०८० फागुन ८ मंगलबार
Eagle.jpg
तस्बिर– लोकाहा खोलामा सोमबार मृत फेला परेका गिद्ध ।

कावासोती । सोमबार अपरान्ह ४ बजे आसपास कावासोती-११ को लोकाहा खोला किनारमा जटायु रेष्टुरेन्टका अध्यक्ष डीबी चौधरी र उनको टिम विषाक्त खानाको कारण बिरामी गिद्धहरुको प्राथमिक उपचार गर्दै थिए ।

एउटा डङ्गर गिद्ध सिकिस्त देखिएको थियो, प्राविधिकहरु त्यो गिद्धको गोजेरोमा बाँकी रहेको विषाक्त खानाका टुक्रा निकाल्दै थिए । गिद्धलाई बान्ता गराउने प्रयास गर्दा नसकेपछि उनीहरुले गोजेरोबाट खानाका अंश निकाल्न मेहनत गर्दै थिए ।

लोकाहा खोला किनारमा ५ वटा गिद्ध मरेको खबर पाएपछि घटनास्थल आएको चौधरी सहितको टोलीले ७ वटा गिद्धलाई बिरामी अवस्थामा उद्धार गरे पनि एउटालाई भने बचाउन सकेन्न ।

गएको २०७९ को फागुनयता विषाक्त सिनोको कारण कावासोती नगरपालिकामा २३ गिद्ध मर्दा संरक्षणकर्मीले विषाक्त सिनोबाट गिद्ध जोगाउन ठूलो चुनौती देखेका छ्न् ।

गिद्ध संरक्षणको लागि विश्वकै नमूना मानिएको जटायु रेष्टुरेन्ट भएको कावासोती नगरपालिकाभित्र एक वर्षको अवधिमा विषाक्त सिनोका कारण २३ वटा गिद्ध मर्नु चिन्ताको विषय भएको जटायु रेष्टुरेन्टका अध्यक्ष डीबी चौधरी बताउँछ्न् ।

घरमा पालिएका हाँस कुखुरा जोगाउन मरेका हाँस, कुखुरा तथा अन्य खानामा विष मिसाएर कुकुर, स्याल लगायतका जनावरलाई आहाराका रुपमा खेतबारी, खोलाका छेउछाउमा राखिनुले पनि विषाक्त सिनोको समस्या पछिल्लो समय बढदै गएको हो ।

विषाक्त आहारा खाएर मरेका कुकुर र स्यालको सिनो खाएकै कारण कावासोतीमा एक वर्षको अवधिमा २३ वटा गिद्ध मरेका र दर्जन बढी बिरामी गिद्धको उपचार गरेको चौधरी बताउँछ्न् ।

विषेश गरेर विषादी प्रयोग गरेर मारिएका ब्रोइलर कुखुरा कुकुर र स्याल मार्न प्रयोग गर्ने र तिनै कुकुर र स्यालको सिनो खाएर गिद्धले अकालमा ज्यान गुमाउनु परेको चौधरीको भनाइ छ ।

कुनैबेला गिद्ध संरक्षणमा गाईबस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेक औषधि गिद्ध संरक्षणको चुनौती थियो । त्यो औषधिलाई २०६३ जेठ २३ गते औषधि व्यवस्था विभागले प्रतिबन्ध लगाएको भए पनि गिद्धलाई हानि गर्ने औषधि अवैध रुपमा भित्रिरहेको र लुकिछिपी बिक्री हुने गरेको चराविदहरुको दाबी छ ।

डाइक्लोफेनेककोे प्रयोग गरी उपचार गराइएका पशुको मृत्यु भएपछि उक्त सिनो गिद्धले खाएमा मिर्गाैलामा असर भई केही दिनमा नै गिद्ध मर्ने गरेको भए पनि पछिल्लो समय कुकुर, स्याल लगाएतका जनावर मार्ने नियतले खोला जंगल आसपास फालिने खानामा डाईक्लोफेनेक भन्दा कडा विषादी प्रयोग हुने गरेको जसको कारणले गिद्ध तत्काल मर्ने अध्ययनले देखाएको चौधरीले बताए ।

त्यो सँगसँगै जथाभावी फोहोर विसर्जन गर्ने प्रवृत्ति समेत गिद्ध संरक्षणका लागि चुनौती बन्ने गरेको छ । विषाक्त रसायन प्रयोग गरेर मारिएका कुखुरा, कुकुर बिरालो फोहरसँगै जथाभावी फाल्ने प्रवृत्ति बढ्दै गएको र गिद्धले तिनैलाई आहारा बनाउँदा गिद्ध मर्ने गरेका छ्न् ।

स्थानीय तहबाट फोहोर व्यवस्थापनको काम भएको भए पनि जैविक विविधता जोगाउने गरेर फोहोर व्यवस्थापन स्थानीय तह चुकेको चौधरीले बताए । "विभिन्न कारणले मरेका पशुपन्छी जथाभावी खोला, जंगलमा फाल्ने प्रवृत्ति अहिलेको ठूलो समस्या हो, स्थानीय तहलाई पटक पटक आग्रह गर्दा पनि सुनुवाइ हुन सकेको छैन", चौधरीले भने ।

विगत १६ वर्ष देखि समुदायको सक्रियतामा जटायु रेष्टुरेन्ट स्थापना गरेर गिद्ध संरक्षणमा लागेका चौधरी मात्रै होईन जैविक विविधता संरक्षणमा चासो राख्ने जो कोहीलाई पनि विषाक्त सिनो गिद्ध सहितका चरा प्रजातिका लागि समस्या बन्ने गरेको चिन्ताले सताएको छ ।

विषाक्त सिनोका कारण गिद्धको मृत्यु हुन्छ भन्ने सचेतना फैलाउन नसक्दा बेला बेलामा गिद्ध संरक्षण अभियानमा ठूलो धक्का लाग्ने गरेको कावासोती-११ का वडा अध्यक्ष एवं संरक्षणकर्मी शारदाप्रसाद अधिकारी बताउँछ्न् ।

पछिल्लो समय विषादीहरुको बिक्री वितरण खुल्ला रुपमा हुने गरेकाले स्थानीय स्तरमा यस्को प्रयोग अत्यधिक रुपमा बढ्ने गरेको चरा विज्ञ डा. हेमसागर बराल बताउँछ्न् । "पहिले डाइक्लोफेनेकले चरा अर्थात् गिद्धलाई मात्रै मार्थ्यो अहिलेको विषले कुकुर, स्याल लगायतका जनावरसहित गिद्धलाईसमेत मारेको छ" बरालले भने "विषादीको नियमन गर्न सकिएन भने यस्ले आगामी दिनमा भयावह अवस्था ल्याउने पक्का छ ।"

विषाक्त सिनो नियन्त्रणका लागि विषादीको बिक्री वितरणको लागि विज्ञको सिफारिस अनिवार्य गर्नु पर्ने कुरामा बरालले जोड दिए । गिद्ध संरक्षणको केन्द्र जटायु रेष्टुरेन्टको आसपास एक वर्ष भित्र २३ वटा गिद्ध मर्नु आफैँमा ठूलो चुनौती भएकाले संरक्षणका क्षेत्रमा भएका कामहरुमा समेत प्रश्न उठने गरेको उनले बताए ।

"गिद्ध संरक्षणका कुरा त गर्‍यौँ, गिद्ध संरक्षण गरिने केन्द्र नजिकै ठूलो संख्यामा गिद्ध मर्दा संरक्षणकर्मीले चलाएको संरक्षण शिक्षामासमेत प्रश्न उठेको छ", उनले भने । संरक्षण शिक्षासँगै विषादीको बिक्री वितरण र प्रयोगको विषय पनि समेटेर जानुपर्ने उनको भनाइ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ