arrow

एसीसी महिला टी–२० क्रिकेटमा नेपालको लगातार दोस्रो जित, कुवेत २५ रनले पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ४ शनिबार
nepal-cricket-women-t20-2022.jpg

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनशिप क्रिकेटमा लगातार दोस्रो जित हासिल गरेको छ । किन्रारा ओभलमा शनिबार भएको खेलमा कुवेतलाई २५ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । यसअघि पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो । 

नेपालले दिएको १ सय ८ रनको विजयी लक्ष्यसहित ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८२ रन बनाउन सक्यो । कुवेतका लागि प्रियादा मुरालीले ३१ रन जोडिन् । यस्तै मारिमा हेदरले १५ तथा कप्तान आम्ना तारिकले १४ रन बनाइन् ।

नेपालकी सीता राना मगरले २ तथा अश्मिना कर्माचार्य, संगीता राई र इन्दू बर्माले १–१ विकेट लिइन् । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४ विकेटको क्षतिमा एक सय सात रन बनायो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३४ रन जोडिन् । उनले अविजित रहँदै २७ बलमा उक्त योगफल बनाएकी हुन् । 

यस्तै इन्दू बर्माले ३३ बलमा अविजित रहँदै २८ रन बनाइन् । ज्योती पाण्डेले १५, बिन्दू रावलले ११ रन बनाइन् । 

यो जितसँगै नेपालले कुवेतविरुद्ध भएका लगातार तीन भेटमा जित हासिल गरेको छ । 

च्याम्पियनसिपमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् ।

अब नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।

च्याम्पियनशिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

च्याम्पियनशिपको फाइनल पुग्ने दुई टोली महिला टी–२० एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ