arrow

सेमिफाइनल खेल वर्षाले रद्द भएपछि नेपालको एसिया कप खेल्ने सपना अधुरै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १० शुक्रबार
women-cricket-nepal-t20-2022.jpg

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीको एसिया कप क्रिकेट खेल्ने सपना अधुरै रहेको छ । मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनशिपको सेमिफाइनलबाटै बाहिरिएपछि नेपालले एसिया कप खेल्ने सपना अधुरै रहेको हो । 

वर्षाका कारण संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको खेल रद्द भएपछि नेपाल सेमिफाइनलबाटै बाहिरिएको हो । खेलमा नेपालले उत्कृष्ट बलिङ गरे पनि जवाफी ब्याटिङ गर्न नपाएपछि समूह चरणको खेलको आधारमा नेपाल बाहिरिएको हो । 

नेपाल समूह चरणमा उपविजेता बन्दै तथा यूएई समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । 

बिहानको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले यूएईलाई ८१ रनमा रोक्न सफल भएको थियो । यूएई एक बल खेल्न बाँकी छँदै अलआउट हुन पुगेको थियो । 

नेपालका लागि अश्मिना कर्माचार्यले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएकी थिइन् । तर नेपालले ब्याटिङ गर्न नपाएपछि बाहिरिन पुग्यो । 

नेपालले समूह चरणमा भुटान, बहराइन र कुवेतलाई पराजित गरे पनि हङकङसँग पराजित भएको थियो । 

फाइनल पुग्ने दुई टोली एसिया कपमा छानिने छन् । यूएई छानिइसकेको छ भने हङकङ र मलेसियाबीचको विजेता पनि छानिने छ । यो खेलमा पनि वर्षाले असर गरेको छ । खेल पूरा हुन नपाए समूह विजेता भएका नाताले हङकङ फाइनलमा पुग्नेछ  ।

एसिया कपमा जारी च्याम्पियनशिपबाट छानिएका दुई टिमले भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ