arrow

देश विकासको लागि सबैभन्दा ठूलो मेरुदण्ड पूर्वाधार– मन्त्री श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १७ शुक्रबार
umesh-shrestha-internet-telecome-electricity.jpg

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले देश विकासको लागि सबैभन्दा ठूलो मेरुदण्ड पूर्वाधार भएको बताउँदै डिजिटल प्रविधिमा जोड दिएका छन् । 

राजधानीमा शुक्रबार आयोजित इन्टरनेट सेवा विस्तारमा विद्युतीय पूर्वाधारको योगदान र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भने, ‘बैंक लगायत सबै कुरा डिजिटलमा गइसक्यो अबको दिनमा बिजुली, इन्टरनेट सबै ब्रोडब्यान्डमा लैजानुपर्छ ।’ 

उनले पूर्वाधारको दीर्घकालीन समाधानका लागि लागि टेलिफोन, बिजुली र इन्टरनेटका तारहरु व्यवस्थित बनाएर सबै सेवा प्रदायकहरुलाई सेवा दिन सकिनेतर्फ ध्यान दिन पनि सम्बन्धित निकायलाई आग्रह गरेका छन् । पूर्वाधार कम्पनी खोलेर त्यसबाट इन्टरनेटहरु एउटै तारबाट जाने व्यवस्था गर्नुपर्नेमा मन्त्री श्रेष्ठको जोड रहेको हो । 

संचार मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले नेपाल टेलिकम र विद्युत प्राधिकरणका पोलबाट मात्र मर्मतसम्भार गर्न गाह्रो भएकाले यसलाई व्यवस्थित बनाउन जरुरी रहेको बताए । 

उनले पोलको भाडा सबैसँग उठाउँदा उपभोक्तालाई भार बढेको तीतो यथार्थ पनि बताए । उनले पोलको व्यवस्थापन गर्न सक्ने हो भने इन्टरनेट लगायतको शुल्क घटाउन सकिनेमा जोड दिए । 

कार्यक्रममा नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नीति बनाउने प्रक्रियामा निकै ढिलाइ हुने कारणले सूचना प्रविधिमा असर परेको बताए । उनले शुल्क घटाउने अबको बाटो भनेको नै पूर्वाधार सेयरिङ भएको जनाएका छन् । 

उनले भने, ‘विद्युत प्राधिकरणले आफ्नो पूर्वाधार निश्चित शुल्क लिएर सेयरिङ गर्नुपर्छ । ब्रोडब्याण्डको लागि नेपाल टेलिकम र विद्युत प्राधिकरण आए पूर्वाधार निर्माणका लागि लाइसेन्स दिन्छौं । मिलेर जाँदा सबैलाई फाइदा हुन्छ ।’

नेपाल दूरसंचार प्राधिकरणका उपनिर्देशक अच्युतानन्द मिश्रले इन्टरनेटलाई सर्वसुलभ बनाउनु पर्नेमा जोड दिए । 

नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले हाल देखिएका समस्याहरु सबैबीच सहकार्य गरेर समाधान गर्न सकिने बताए । उनले सरकारको डिजिटल नेपाल बनाउने अभियानमा सबैलाई लाग्न आह्वानसमेत गरेका छन् । 

उनले भएका संरचनाहरुमा अझ सुधार होस् भनेर नै काम गरिरहेको उल्लेख गरेका छन् । उनले पूर्वाधार सेयरिङ गर्न जरुरी रहेको भन्दै अगाडि भने, ‘हाम्रो बिजनेश विद्युत नै हो इन्टरनेट होइन ।’

इन्टरनेट सेवा प्रदायक संघका पूर्व अध्यक्ष विनय बोहोराले पूर्वाधार कम्पनी आवश्यक रहेको बताए । उनले इन्टरनेट सेवा प्रदायकहरुले यति धेरै तारहरु विभिन्न बिजुली लगायतका पोलहरुमा राखेको भन्दै त्यसलाई व्यवस्थित बनाउने पूर्वाधार कम्पनीको पनि आवश्यकता रहेको बताए । 

यिनै तारहरुका कारण शहर कुरुप बन्दै गएको पनि उनको ठम्याइ छ । उनले पोलको भाडा निर्धारण गर्ने निकाय खोइ त ? भनी प्रश्नसमेत गरे । उनले पोलको भाडा घटाउन सके इन्टरेनटको मूल्य पनि घटाउन सकिने उल्लेख गरे । 

सूचना प्रविधि विज्ञ मनोहर भट्टराईले गुणस्तरीय ब्रोडब्यान्डमा जोड दिँदै टेलिकम अपरेटर, इन्टरेनट सेवा प्रदायक तथा विद्युत प्राधिकरणबीचको समस्या तत्काल समाधान गर्नुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ