arrow

ओन्टारियोमाथि नेपालको लगातार दोस्रो जित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २० सोमबार
nepal-cricket-canada-match.jpg

काठमाडौं । क्यानाडामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ । आइतबार राति भएको खेलमा नेपालले क्यानाडाको ओन्टारियो क्रिकेट क्लबलाई ५५ रनले हरायो । 

उक्त क्लबसँग नेपालले पहिलो खेलमा एक दिवसीय फर्म्याटको र दोस्रो खेलमा टी–२० को फर्म्याटमा खेलेको हो । पहिलो खेलमा नेपाल ६९ रनले विजयी भएको थियो । नेपालले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको ओन्टारियोले १९ ओभर ३ बलमा अलआउट हुँदै  १ सय ५४ रन मात्र बनाउन सक्यो ।

भरुण सेहदेबले ५० रनको अर्धशतकीय इनिङ्स खेले । नरेश बुढाऐरले ४१ रन जोड्दा जाडे पाडेमोरले ३७ रन बनाए ।

सोमपाल कामीले २ तथा करण केसी, आदील आलम र किशोर महतोले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो । रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ खेले ।

रोहितले अविजित ७१ रनको योगदान दिए । उनले ३१ बलमा ५ छक्का र ५ चौका प्रहार गरे  । यस्तै दीपेन्द्रले २७ बलमा ६ चौका र २ छक्कासहित ५४ रनको योगदान गरे ।

पवन सर्राफले ३७ तथा देव खनालले २० रन जोडे । ओन्टारियोका रेमण्ड, भरुण सेहदेब र किनान टिन्टोले १–१ विकेट लिए ।

अब नेपालले क्यानाडाको राष्ट्रिय टोलीसँग दुई खेलको एक दिवसीय श्रृंखला खेल्नेछ । पहिलो खेल मंगलबार र दोस्रो खेल बुधबार हुँदैछ । 

त्यसपछि नेपालले स्कटल्याण्डमा विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय श्रृंखला खेल्नेछ ।

स्कटल्याण्डमा हुने उक्त श्रृंखलामा नामिबिया पनि संलग्न हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ