काठमाडौं। बेलायती सेनाको ट्विटर र युट्युब अकाउन्ट ह्याक भएकाे छ । आइतबार ह्याक गरी ह्याकरहरुले क्रिप्टोकरेन्सी र नन फन्जिबल टोकनको बारेमा पोस्ट गरेका थिए । ह्याक भएको केही समयमै अकाउन्ट आफूले नियन्त्रणमा ल्याइसकेको सेनाले बताएको छ ।
'हाम्रो फिडमा अस्थायी अवरोधको लागि माफी चाहन्छौं। हामी पूर्ण अनुसन्धान गर्नेछौं र यस घटनाबाट पाठ सिक्नेछौं,' बेलायती सेनाले आफ्नो ट्विटर ह्यान्डलमा भनेको छ । त्यसअघि उक्त अकाउन्टबाट क्रिप्टोकरेन्सी र एनएफटी सम्बन्धी धेरै पोस्टहरू रिट्वीट गरिएका थिए ।
यस्तै बेलायती सेनाको युट्युब अकाउन्टको नाम फेरेर आर्क इन्भेस्ट राखिएको थियो । सो अकाउन्टमा क्रिप्टोकरेन्सीसँग सम्बन्धित धेरै भिडियोहरू देखाइएको थियो । उक्त अकाउन्ट पनि अहिले सेनाले नियन्त्रणमा ल्याइसकेको छ ।