arrow

करका दरमा गडबडी गर्ने जनार्दनको पार्टीभित्रै बार्गेनिङ –महासचिव कि अर्थमन्त्री नै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २२ बुधबार
janardan-sharmas.JPG

काठमाडौं । अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले अर्थ मन्त्रालयसँग पार्टी महासचिवको बार्गेनिङ गरिरहेका छन् । बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा भएको आन्तरिक छलफलमा महासचिव नबनाउने भए अर्थ मन्त्रालयको जिम्मेवारीबाट नहट्ने बताएका हुन् ।

 ‘कि त महासचिव कि अर्थमन्त्री यी दुईमा शर्माको बार्गेनिङ गरेका छन्’, प्रचण्ड निवास स्रोतले भन्यो । मंगलबार अर्थमन्त्रीलाई राखेर प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रचण्डबीच छलफल भएको थियो । त्यस क्रममा कांग्रेसबाटसमेत दबाब आएका कारण माओवादीले अर्थ मन्त्रालयबाट सहजीकरण गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

प्रचण्डले पनि शर्माले सहजीकरण गर्ने आशय व्यक्त गरेका थिए । तर मंगलबारदेखिनै अर्थमन्त्री शर्माले आफूलाई अर्थ मन्त्रालयबाट हटाउने भए महासचिव चाहिने बताएपछि पार्टीभित्र झन् तनाव उत्पन्न भएको थियो । 

बजेट प्रस्तुत गर्नु अघिल्लो रात (जेठ १४) गते अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराइ करका दररेटमा हेरफेर गरेर बजेट निर्माण गरेको आरोपमा प्रतिपक्ष नेकपा एमालेसहित कांग्रेसका नेताहरुसमेत कडा रुपमा प्रस्तुत हुन थालेपछि यस विषयमा प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए । 

देउवा र प्रचण्डले अर्थमन्त्रीसमेत रहेका माओवादी नेता शर्मालाई सँगै राखेर छलफल गरेका थिए । मन्त्रिपरिषद्को बैठकपछि मंगलबारसाँझ सवा ६ बजेदेखि करिब डेढ घण्टा छलफल भएको थियो । 

अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर करका दररेटमा हेरफेर गरेको आरोप लागिरहेका बेला उक्त दिनको सीसीटीभी फुटेजसमेत १३ दिनपछि स्वतः नरहने भनी मन्त्रालयले भनेपछि प्रतिपक्ष दल थप आक्रामक रुपमा अर्थमन्त्रीविरुद्ध प्रस्तुत भएको छ । नागरिक स्तरबाटसमेत अर्थमन्त्रीमाथि नैतिकताका आधारमा राजीनामा दिन दबाब बढिरहेको छ । 

माओवादीको बैठक आज दिउँसो १ बजे बस्नेगरी टुंगिएको थियो । पार्टी अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरु पदाधिकारी चयनको गृहकार्यमा जुटेका थिए । मंगलबार पनि अर्थमन्त्री शर्माले अर्थ मन्त्रालयसँगै सौदाबाजी गरेपछि प्रचण्डले प्रधानमन्त्रीसँग राखेर छलफल गराएका थिए । 

तर उनी टसमस हुने अवस्था आएको छैन । पूर्व स्थायी कमिटी र इन्चार्जहरूको बैठकले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो  । 

सोमबार ४३ जना केन्द्रीय सदस्यहरुले पार्टीका विषयमा विभिन्न जिज्ञासा राखेका थिए भने केन्द्रीय सदस्यहरूले राखेका जिज्ञासामाथि जवाफ दिने र संगठनको प्रस्ताव पार्टी प्रचण्डले पेस गर्ने कार्य सूची थियो । तर यी सबै विषय शर्माको राजीनामा प्रकरणमा जोडिएका छन् । 

माओवादीले विधान अनुसार १५ सदस्यीय पदाधिकारी चयन गर्नेछ । जसमा अध्यक्ष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले प्रचण्डलाई चयन गरेको हो । अब बाँकी १४ जना चयन गर्नुपर्ने छ । जसमा वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव २, सचिव ३ र कोषाध्यक्ष १ चयन हुनेछन् । 

जसअनुसार वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ निश्चित जस्तै छन् । तर उनलाई सम्मानित नेता बनाएर वरिष्ठमा कृष्णबहादुर महरालाई ल्याउने संभावना पनि बढेको छ । 

अन्य ६ जना उपाध्यक्षहरुमा देव गुरुङ, हरिबोल गजुरेल, मातृका यादव, गिरिराजमणि पोखरेल लगायतको सम्भावना बढ्दो छ । सचिवमा चक्रपाणि खनाल, गणेश शाहलगायतको चर्चा छ भने हरिबोल गजुरेललेसमेत उपाध्यक्ष नभइ सचिवमा इच्छा देखाएका छन् ।

पदाधिकारी चयन गर्ने सम्पूर्ण अधिकार आफूले पाएसँगै आन्तरिक तयारी तीब्र बनाएका प्रचण्डलाई शर्माले अप्ठेरोमा पारेका छन् । अध्यक्षलाई पदाधिकारी, स्थायी कमिटी र पोलिट्ब्यूरो सम्पूर्णको प्रस्तावको जिम्मा दिइएकाले सहमति हुन सक्ने अवस्थामा मात्रै प्रस्ताव पेश गर्ने र प्रस्ताव पेश गर्नुपूर्व सम्बन्धित नेताको सहमति लिएर मात्रै प्रस्ताव गर्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ