arrow

उपत्यकाको फोहर स्रोतमै वर्गीकरण अन्तिम समाधान हो त ?

logo
नारायण ढुङ्गाना/शर्मिला पाठक, 
प्रकाशित २०७९ साउन १ आइतबार
fohar-waste-2079-04-01.jpg

काठमाडौँ । पेचिलो सवाल बन्दै आएको सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौतीपूर्ण बन्दै गएको छ । उपत्यकाका सडकमा थुपारिने फोहर हप्तौँसम्म नउठ्ने र त्यसबाट दुर्गन्ध फैलिने समस्या उपत्यकावासीका लागि काँडो झैँ बिझेको छ । कहिले आन्दोलन त कहिले वर्षालगायत विविध कारणले उपत्यकाका चोक गल्लीमा दुर्गन्धित फोहरका डङ्गुर भेटिँदै आएको छ । यसले वातारवरण र मानव स्वास्थ्यलाई नै नराम्ररी प्रभावित पारेको छ । 

विकसित मुलुकले शहरबाट निस्कने फोहरलाई व्यवस्थित रुपमा विसर्जन गरी आन्दानीको स्रोतका रुपमा उपयोग गरिरहेका छन् । तर काठमाडौँको फोहर व्यवस्थापनको विकराल समस्याले मुलुकलाई नै गिज्याइरहेको छ । त्यसो हुनुमा दीर्घकालीन योजनाको अभाव देखिएको छ । काठमाडौँ महानगरपालिकाले प्रमुख वालेन्द्र साहको योजना मुताविक साउन १ गतेदेखि उपत्यकाको फोहर स्रोत (घरघर) बाटै कुहिने र नकुहिने छुट्याएर व्यवस्थापन कार्यको शुरुआत गरेको छ । 

कुहिने फोहर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरिएको छ भने नकुहिने फोहरका लागि सोमबार र शुक्रबारलाई तोकिएको छ । व्यक्तिले घरमै फोहर नछुट्याए प्रत्येकपटक रु ५०० जरिवाना लगाइने नीति महानगरले लिएको छ । त्यसरी उठेको फोहर, कहाँ–कसरी व्यवस्थापन गर्ने, कुहिनेलाई कहाँ राख्ने ? नकुहिनेलाई कहाँ राख्ने ? त्यस विषयका अन्योलताहरु कायमै छ ।

फोहरमैलाविज्ञ तथा इन्जिनियर सुनिल लम्साल नागरिकबाट वर्गीकरण गरेर सङ्कलन गरिएको फोहरलाई बञ्चरेडाँडामा पनि केही समयका लागि छुट्टाछुट्टै स्थानमा राख्ने गरी तयारी गरिएको बताउँछन् । बन्चरेडाँडाका स्थानीयवासीले विकल्प खोजिरहेको र फोहरलाई स्रोतबाटै व्यवस्थापन गरी उपयोग गर्नुपर्ने माग आइरहेका बेला दुबै प्रकृतिका फोहर वर्गीकरण गरेर फेरि त्यही ठाउँमा विसर्जन गर्दा समस्या ज्यूँका त्यूँ रहने महानगरबासीको भनाइ छ । 

महानगरले फोहर व्यवस्थापनका लागि उपत्यकाको पाँच स्थानमा जग्गा पहिचान गरेको जनाएको छ । तीन महिनापछि हानिकारक फोहर बन्चरेडाँडामा नलगिने गरी कार्य अघि बढाइएको दाबी कामपाको छ । कुहिने फोहरलाई जैविक मल बनाउने सोच महानगरको हो । यसको भरपर्दो योजनाको अभाव देखिएकाले स्रोतमै फोहर वर्गीकरण अन्योलमा पर्ने हो की भन्ने आशङ्का पनि गरिएको छ । 

विज्ञका अनुसार फोहरको स्रोतमै वर्गीकरणका साथै उत्पादनमा समेत कमी ल्याउने, प्लाष्टिकको विकल्पमा झोलाको प्रयोग बढाउने, शून्य फोहर (जिरो वेस्ट) अवधारणाको प्रवद्र्धन गर्ने र आधुनिक प्रविधिको प्रयोग गर्न सके केही व्यवस्थापन गरी उपत्यकाभित्रको फोहर व्यवस्थापनका एकै किसिमका आधुनिक विधि अपनाउनु जरुरी छ । 

काठमाडौँको कुल ३२ वडामध्ये मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ । फोहर वर्गीकरण योजना भने ३२ सै वडामा लागू गरिएको छ । स्रोतदेखि नै व्यवस्थापनको समस्या देखिएको उपत्यकाको फोहर विसर्जनस्थलमा झन् विकराल समस्या बन्दै गएको छ । केही समयअघि स्थानीय तहको निर्वाचनको मुखमा सिसडोलका बासिन्दाले फोहर उठाउन रोकेका कारण काठमाडौँ दुर्गन्धित बन्न पुगेको थियो । नगरप्रमुख बालेन्द्र साहले सपथ खाएकै दिन सिसडोल र बन्चरेडाँडा भ्रमण गर्दा स्थानीयहरुले आन्दोलनसहित कडा प्रतिवाद गर्दै फोहर ल्याउन नदिने चेतावनी दिए । 

त्यसपछि महानगर र स्थानीयबीच सिसडोल, बञ्चरेडाँडा कुँडुले ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापनको समस्या समाधान गर्न १८ बुँदे सहमति भयो । सहमतीपत्रमा रातिको समयमा फोहर व्यवस्थापन गर्ने, वैज्ञानिक अध्ययन गरी प्रभावित क्षेत्र छुट्याउने, त्यहाँको दुर्गन्ध हटाउनुपर्ने, फोहर बोक्ने गाडीबाट लिच्चड नचुहिने व्यवस्था मिलाउनुपर्ने लगायतका विषय समावेश छ । 

उपत्यकामा क्षेत्र छुट्याएर महानगर र निजी क्षेत्रले फोहर उठाउँदै आएको छ । फोहर उठाउन नागरिकबाट पैसासमेत असुल गर्ने गरिएको छ । निजी क्षेत्र पैसा असुल गर्ने धन्दामा मात्र लागेको र नागरिकप्रति जिम्मेवार नभएका कारण सबै स्थानमा नियमित रुपमा फोहर व्यवस्थापन हुन नसकेको आरोप छ । आफूले लिएको जिम्मेवारी पुरा नगरेको भन्दै नियमित फोहर व्यवस्थापन नगर्ने निजी कम्पनीलाई कामपाले कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ । त्यसैले महानगर प्रमुख वालेन्द्र साह प्रत्येक दिन सडकको अनुगमन गर्न थालेका छन् । 

कामपाले एकलौटी रुपमा फोहर उठाइएका स्थानमा गुनासो नआएको भन्दै जुनजुन स्थानमा निजी कम्पनी सामेल भएका छन् । ती स्थानमा मात्रै नियमित फोहर व्यवस्थापनमा समस्या रहेको कामपा वातावरण विभाग प्रमुख सरिता राईको भनाइ छ ।  

काठमाडौँ महानगरपालिको कल सेन्टरमा पनि नियमित रुपमा फोहर उठ्न नसकेको गुनासो आउने गरेको बताइएको छ । कल सेन्टरमा आउने गरेको गुनासोमध्ये ८० प्रतिशत फोहर उठ्न नसकेको विषयमा छ । हाल कामपामा ३२ वटा कम्पनीले फोहर व्यवस्थापनमा सहजीकरण गर्दै आएको छ । यसरी सहजीकरण गरेको कुनै पनि कम्पनीले कामपासँग लिखित सम्झौता नगर्नुले पनि महानगरको योजना कति फितलो छ भन्ने कुराको पुष्टि हुन्छ ।

के स्रोतमै फोहर वर्गीकरण अन्तिम समाधान हो त ?

स्रोतमा नै फोहर वर्गीकरण गर्ने कार्य व्यवस्थापनको हिसाबले अन्तिम समाधान हो त ? अहिलेको टड्कारो प्रश्न हो  । वातावरण विज्ञहरु यो विधि अन्तिम समाधान नभएको तर यसले कुहिने फोहर कम गर्न सघाउन पुर्याउने बताउँछन् । वातावरण विशेषज्ञ प्रकाश अमात्य नागरिकलाई मात्रै फोहर वर्गीकरण गर्ने जिम्मा सही नहुने हुँदा सोही अनुरुप फोहरको अन्तिम व्यवस्थापन पनि फरकफरक किसिमले हुनु पर्नेमा सुझाव दिन्छन् । 

उपत्यकाको फोहर उपत्यकामा नै व्यवस्थापन गर्न नयाँ बाटो खोज्नुपर्ने धारणा उनको छ । “त्यसका लागि सम्बन्धित स्थानीय तहले नै आफ्नो फोहर व्यवस्थापनका लागि विकल्प खोज्नुपर्छ । पुनः प्रयोग गर्न सक्ने फोहरलाई प्रयोग गर्नेतर्फ स्थानीय तहले चासो दिनुपर्छ”,  अमात्यले भने ।

काठमाडौँ उपत्यकामा उत्पादन हुने फोहरमध्ये ४० प्रतिशत व्यवस्थापन गर्न सकिन्छ । त्यसको लागि प्रत्येक वडाले पुनः प्रयोग गर्न सक्ने वस्तुको खरिद गर्ने वातावण मिलाउनुपर्छ । हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । त्यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिक टन फोहर जान्छ । निजी क्षेत्रबाट व्यवस्थापन हुने र कामपाको गरी दैनिक कम्तीमा २०० गाडीले फोहर ओसार्छ । 

कहिलेसम्म छोपेर राख्ने फोहर ?

विसर्जनस्थलको समस्याका कारण स्थानीयको आन्दोलन फोहर नउठ्नुको एउटा कारण हो । यसका साथै वर्षात्का समयमा हुने फोहर व्यवस्थापनको समस्या महानगरका लागि अर्को टाउको दुखाइको विषय हो । जसले अहिले टेकुमा फोहर छोपेर राख्नुपर्ने बाध्यता छ । शनिबार टेकुमा पुग्दा फोहरको दुर्गन्धले बस्न सकिने अवस्था थिएन । स्थानीयबासीहरु त्यही गन्ध सुँगेर दिन बिताउन बाध्य छन् ।

सडक राम्ररी सञ्चालन नहुँदा साविकको जति फोहर उठ्न सकेको छैन । बाटोमर्मतका कारण हाल दैनिक १०० मात्रै फोहरका गाडी बञ्चरेडाँडा पुग्ने गरेका छन् । सामान्य समयमा निजी र कामपाको गरी २५० गाडीले फोहर विसर्जन गर्थे । सबै गाडी जान नपाएकाले टेकुस्थित ट्रान्सफर स्टेसनमा फोहरलाई सेतो प्लाष्टिकले छोपेर राखिएको टाढैबाट देख्न सकिन्छ । दुर्गन्ध कम गर्ने उपायस्वरुप यसरी फोहर छोपिएको महानगरको दाबी छ । 

मनसुनको समय सुरु भएसँगै बाटो बिग्रिने हुँदा उपत्यकाका १८ स्थानीय तहको फोहर काठमाडौँमा थुप्रिनु नौलो होइन । बाटाकै कारण गाडी सिसडोल जान नसक्दा ठाउँठाउँमा फोहर थुप्रिने र टेकुमा छोपेर राख्नुपर्ने अवस्थाको अन्त्य गर्न महानगर सफल होला रु अर्को गम्भीर प्रश्न खडा छ । 

यस्तो छ महानगरको फोहर वर्गीकरण योजना

प्रारम्भिक चरणमा स्रोतमै फोहर वर्गीकरण गरी व्यवस्थापनको काम थालिएको छ । वर्गीकृत फोहर व्यवस्थापनका लागि उपत्यकाको अन्य स्थानीय तहले जग्गा उपलब्ध गराउने र कामपाले उक्त स्थानमा आवश्यक लगानी गर्ने गरी छलफल चलेको त छ तर ठोस निष्कर्ष आइसकेको छैन । यसले छुट्टयाइएका फोहर पनि सिसडोललै लैजानुको विकल्प नभएको देखाउँछ ।   

महानगरसँग काठमाडौँ उपत्यकामा नै जग्गाको खोजी कार्य भइरहेको र जग्गा प्राप्त हुने वित्तिकै जैविक फोहर उपत्यकामा नै व्यवस्थापन गर्ने योजना रहेको महानगरको भनाइ छ । फोहोरमैला व्यवस्थापन सङ्घ, नेपाल (स्वमान) का महासचिव मित्र घिमिरे र वातावरण संरक्षण गैसस महासङ्घका अध्यक्ष टीकाराम दाहालले पनि फोहोर वर्गीकरण गर्ने महानगरको योजना, नीति र कार्यक्रमअनुसार दायित्व पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । 

उपत्यकाको फोहरमध्ये ५५ देखि ६० प्रतिशत घरमै व्यवस्थापन गर्न सकिने विभिन्न अध्ययनले देखाएको छ । त्यस्ता फोहरलाई करेसाबारीमै व्यवस्थापन गर्न सके पनि धेरै हदसम्म समस्या कम हुने फोहर व्यवस्थापन विज्ञको भनाइ छ । 
    
ग्यास वा विद्युत् निकाल्न बढी खर्च 
फोहोरमैला व्यवस्थापनका लागि काठमाडौँ महानगर र उपत्यकाका अन्य १७ वटा नगरबीच गहन छलफल भइरहेको छ ।  उपत्यकाका साझा समस्या पहिचान र समाधानका उपाय निकाल्ने योजनाका साथै छलफल भएको हो । 

अन्य पालिकासँग काठमाडौँ महानगर प्रमुख साहले फोहोरमैलाका साथै ट्राफिक व्यवस्थापन, खानेपानी वितरणजस्ता साझा समस्याका रुपमा रहेका विषयलाई संयुक्त प्रयासबाट समाधान गर्ने प्रस्ताव गर्नुभएको छ । त्यसमा मुख्य विषय फोहर व्यवस्थापन नै हो ।

उनको योजनानुसार घरघरबाट उत्पादन भएको फोहोर स्रोतमै वर्गीकरण गरिने छ । जैविक फोहोरलाई मल बनाउने विधि सबैभन्दा उपयुक्त छ । फोहोरलाई ग्यासका रुपमा रुपान्तरण गर्दा ३० देखि ३५ प्रतिशत मात्र प्रभावकारी देखिएकाले त्यो घाटा हुने देखिएको छ । रु १०० लगानी गर्दा रु ३० देखि ३५ मात्र फिर्ता आउने अध्ययनले देखिएको बताइएको छ । 

बिजुली निकाल्दा २० देखि २५ प्रतिशतसम्म मात्र उत्पादन आउने देखिएकाले जैविक फोहोरलाई मल बनाउने भरपर्दो उपाय हो । त्यसका लागि करिब २०० देखि २५० रोपनी जग्गा आवश्यक पर्ने भएकाले उनले नगरप्रमुखहरुसँग सहकार्यको हात अघि बढाएका छन् । 

नगरप्रमुखहरुले उपत्यकाको एकीकृत र दिगो फोहोर व्यवस्थापनका लागि कामपाले अगुवाई गर्ने र सबै नगरले आआफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्ने बाचा गरेका छन् । 

उनीहरुले उपत्यका नगरपालिका फोरमलाई जीवित गराउँदै उपत्यकालाई कस्तो बनाउने भनेर एकीकृत विकासको गुरुयोजना आवश्यक भएको औँल्याएका छन् । पानी पुनःभरण, नागरिक सचेतना, नदी किनारामा करिडोर बनाउने, नदीको सरसफाइ गर्ने, सडक सञ्जाल र ट्राफिक व्यवस्थापनजस्ता विषयमा साझा सङ्कल्प आवश्यक छ ।   महानगरकी उपप्रमुख सुनिता डङ्गोल भन्छन्, “फोहर व्यवस्थापनमा पालिकाबाट खर्च भएको छ, तर नतिजा मापन गर्न सकिने खालको भएन, त्यसतर्फ ध्यान दिनु आवश्यक छ ।” 

यसरी शुरु भएको थियो फोहर विसर्जन 

जाइकाको सहयोगमा दुई वर्षका लागि भनेर २०६२ सालमा काठमाडौँ उपत्यकाको फोहर नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलमा फ्याँक्न शुरु गरिएको थियो । आज १७ वर्ष हुँदा पनि त्यहाँ फोहर फ्याँक्ने काम जारी छ । सिसडोलमा ४३२ रोपनी जग्गामा फोहर फालिँदै आएको थियो । बन्चरेडाँडामा फोहर व्यवस्थापनका लागि भने एक हजार ७९२ रोपनी क्षेत्र छुट्याइएको छ ।

सिसडोलमा दैनिक एक हजारदेखि एक हजार २०० मेट्रिक टनसम्म फोहर जाने गरेको छ । विकल्प नहुँदा योजनाविहीन रूपमा त्यहाँ फोहर विसर्जन गरिँदै आइएको छ । गाउँ नै दुर्गन्धित हुँदा पटक–पटक स्थानीयवासीले आन्दोलन गरी फोहर रोके । सत्र वर्षसम्म आन्दोलन, सम्झौता, फेरि आन्दोलन अनि फेरि सम्झौताबाहेक दीर्घकालीन समाधानका उपायको खोजी भएन । नजिकै रहेको नुवाकोट र धादिङको सिमानामा पर्ने बन्चरेडाँडामा विकल्पका रूपमा तयार पारिए पनि समस्याको दिगो समाधान आउन सकेन । 

यतिबेला कामठाडौँ महानगरको प्रमुख परिवर्तन भएको र फिल्डमै खटिएर कामपाका  प्रमुख साहले फोहरको उचित व्यवस्थापन गर्ने आश्वासन दिएकाले स्थानीयको आन्दोलत तत्कालका लागि मत्थर भएको छ तर रोकिएको छैन । उनीहरु हेर र पर्खको स्थितिमा छन् । यता बन्चरेडाँडाका स्थानीयबासीको आक्रोश पनि कायमै छ । 

नगरप्रमुख साहले फोहरलाई कुहिने र नकुहिने गरी छुट्याएर व्यवस्थापन गर्ने र कुहिने फोहरलाई मलका रुपमा प्रयोग गरी आम्दानी गर्ने योजना अघि सारिएको योजनालाई सर्वत्र प्रशंसा भएको छ तर त्यो फोहर मोहर बनेर परिणत कहिले होला भन्ने प्रश्न खडा भएको छ । काठमाडौँ उपत्यकाको १८ पालिकाको फोहर दैनिकरूपमा सिसडोलमा पुग्छ । 

शुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बन्चरेडाँडामा फोहर व्यवस्थापनका गरिएको छ । दुई वर्षअघि नै बन्चरेडाँडामा फोहर विसर्जनको काम सुरु हुनुपर्नेमा अहिलेसम्म राम्ररी सञ्चालन हुन सकिरहेको छैन । 



नयाँ