arrow

मापसे गरी गाडी चलाउने अटेरीलाई कारबाही नपुगेको हो ? 

घटेनन् मापसे गरी काठमाडौं उपत्यकामा सवारी चलाउने, दैनिक १२५ जनाभन्दा बढी सवारी चालक कारबाहीमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ५ बिहिबार
mapase.jpg

काठमाडौं । काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउनेहरु दैनिक एक सयभन्दा बढी करबाहीमा पर्ने गरेका छन् । 

काठमाडौं उपत्यकामा ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो एक सातामा मात्र काठमाडौं उपत्यकामा मापसे गरी सवारी साधन चलाउने ८७६ जना चालक कारबाहीमा परेका छन् । 

काठमाडौं उपत्यकामा औषतमा दैनिक १२५ जनाभन्दा बढी सवारी चालक मापसे गरी सवारी साधन चलाईरहेको अवस्थामा भेटिने गरेका छन् । कार्यालयका अनुसार गत असार २९ गते १०७, ३० गते १४४, ३२ गते १८३, साउन १ गते १३२, २ गते १२०, ३ गते १४० र ४ गते ५० जना सवारी चालकलाई मापसे गरी सवारी साधन चलाएकोमा कारबाही गरिएको छ । 

कानून फितलो भएर नरोकिएको हो त ? 
कानूनअनुसार मापसे चेकिङमा पक्राउ परेका खण्डमा उक्त व्यक्तिका नाममा चिट काटिन्छ । कागजपत्रसहित सवारी ट्राफिकले लिन्छ । अनि अर्को दिन आएर एक घण्टा ट्राफिक क्लास लिनुपर्ने हुन्छ । र एक हजार रुपैयाँ जरिवाना तिरेपछि कागजपत्रसहित सवारी लैजान पाइन्छ । 

कागजात दिने बेलामा लाइसेन्समा प्वाल पारिन्छ । यो अवसर ट्राफिकले पाँच पटकसम्म दिन्छ । अर्थात् पाँच पटकसम्म प्वाल पारिन्छ । छैटौं पटकमा भने उक्त व्यक्तिको लाइसेन्स रद्द गरिन्छ । 

यसबाट के बुझिन्छ भने उसले गल्ती गर्छ । अनि एक घण्टाको क्लास र एक हजार रुपैयाँ तिरेपछि छुट्छ । यो क्रम पाँच पटकसम्म हुनुको मतलब हो उसलाई निरन्तर गल्ती गर्न दिइरहनु । 

पहिलो पटकदेखि पाँच पटकसम्मको जरिवाना र उसको अन्य सजायमा कुनै फरक हुँदैन । र उसले अवसर लिन्छ अझै यति पटक बाँकी छ भनेर । तर त्यो मापसे गरेर सवारी चलाउने व्यक्तिले गर्दा सडकमा कतिधेरैको ज्यान जोखिममा परेको हुन्छ भन्ने कुराको अनुमान लगाउन मुस्किल हुन्छ । 

यो जघन्य अपराध नै हो । 

मापसे गरेर सवारी चलाउनै पाइँदैन भनेपछि पहिलो पटक पक्राउ पर्ने व्यक्ति अपराधी भइसकेको हुन्छ । तर पटक पटक अपराध गर्ने महाअपराधी हो । तर सामान्य रुपमा उही एक घण्टे क्लास लिएर छाडिन्छ हजार रुपैयाँको जरिबाना तिरेपछि । 

एक घण्टे क्लासमा मानिसको जीवन, बाँच्नुका फाइदा, दुर्घटनाका भयानक दृष्य, पीडा सबै देखाइन्छ । त्यो एक घण्टाको क्लास लिइसकेपछि बुद्धिमानले कहिल्यै मदिरा सेवन गर्र्दैन । गरिहाल्यो भने पनि सुरक्षित रहेर । अझ सवारी त कहिल्यै आफूले पनि चलाउँदैन र अरुलाई पनि सल्लाह सुझाव दिँदै हिँड्छ । 

तर त्यस्तो भएको पाइँदैन । 

उपत्यकामा त यो हालत छ भने बाहिरको हालत के होला ? उपत्यकाभित्रै पनि चालकहरु नै भन्ने गर्छन् ‘मापसे नगरी त गाडी चलाउनै सकिँदैन शरीर दुख्छ ।’ उनीहरुले दिएको विवरणअनुसार नै उपत्यकामा मापसे गरेर सवारी चलाउने चालक धेरै छन् । 

सार्वजनिक यातायातमै अवस्था यो छ भने त्यसले पुर्याउने हानि के होला ? उपत्यका बाहिर पनि त्यो क्रम नरोकिएको बताइन्छ । आखिर कहिलेसम्म नियम फितलो बनाएर ज्यान जोखिममा राख्ने ? 

अर्कातर्फ चालकहरुकै अनुसार गाँजा खाएर सवारी चलाउने पनि बढी नै छन् । एक चालकले त खुलेआम नै भने, ‘मापसे गरे ट्राफिकले थाहा पाउँछ, गाँजा खाएको कसले थाहा पाउने ? जाँचोस् न त ?’

दैनिकजसो बढिरहेको सवारी दुर्घटना र मृतकको संख्याले पनि ट्राफिक नियममा गडबडी भएको पक्कै छ । यतातर्फ ध्यान नदिने हो भने यसले अझ विकराल रुप नल्याउला भन्न सकिन्न । 

ट्राफिक महाशाखाले २०६९ सालदेखि मापसे जाँच तथा कारबाही गर्दै आएको छ । तर १० वर्षदेखि चलिरहेको नियम एउटै छ । त्यसमा परिमार्जन गर्नेतर्फ सोच गएको पाइँदैन । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ