arrow

जब प्रहरीले रोक्यो उड्न लागेको नेपाल एयरलाइन्सको न्यारोबडी जहाज

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १९ बिहिबार
nepal-airlines-narrowbody.jpg

काठमाडौं । बुधबार दिउँसो १ बजेर १० मिनेट जाँदा नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाज यात्रु बोकेर मुम्बई उडानको क्रममा धावनमार्गतिर जाँदै थियो । तर नेपाल प्रहरीले त्यसलाई रोक्यो । रोक्नुको कारण थियो–ठगी आरोपीलाई पक्राउ गर्नु । 

कैलाली प्रहरीले दिएको सूचनालाई कार्यान्वयन गर्ने क्रममा नेपाल प्रहरीले धावन मार्गमा रहेको विमानको ढोका लागिसकेको अवस्थामा रोकेको थियो ।

एउटा शंकास्पद ठगी आरोपी व्यक्तिको पक्राउका लागि प्रहरी यति धेरै परिचालित भयो कि मानौ त्यहाँ कुनै आतंककारी नै रहेका छन् । पश्चिमा राष्ट्रहरुले नेपाललाई सुरक्षा खतराको सूचीमा राखेकै अवस्था नेपाल प्रहरीको सानो कमजोरीले एक पटक फेरि अन्तर्राष्ट्रिय समुदायलाई झस्काएको छ ।

सुरक्षित ढंगले होसियारीपूर्वक पक्राउ गर्नुपर्ने व्यक्तिलाई नेपाल प्रहरीको विशेष व्यूरो नै परिचालित हुँदा विमानस्थलको सुरक्षा संयन्त्रमै शंका उत्पन्न गराइदियो । 

जबकि विमानभित्र रहेका सबै यात्रु चेकजाँच गरेर पसेका मात्र होइन विमानको ढोका नै ‘लक’ भैसकेको थियो । ‘ पाइलटले ढोका लक भइसकेको भन्दै ढोका खोल्न आनाकानी गरे । उनले सामान्य घटनामा अब ढोका खोल्न नमिल्ने जिकिर गरे । 

पाइलटले आनाकानी गरेपछि प्रहरीले त्यो शंकास्पद व्यक्ति आतंककारी पनि हुन सक्ने भन्दै ढोका खोल्नै पर्ने अड्डी लियो । प्रहरीको त्यो भनाइसँगै पाइलटले घटना गम्भीर नै हुनसक्ने भन्दै ढोका खोले । 

केही क्षणमै प्रहरीले भनेको आतंककारी हुन सक्ने भन्ने शब्दकै आधारमा मिडियामा समाचारहरु आए । जसले देशभित्रमात्रै होइन भारतदेखि विश्वभर फैलियो  । तर प्रहरीले त्यहाँ आतंककारी होइन ठग पक्राउ गर्न पुगेको पछि खुल्यो । 

‘भारतीय प्रहरीले नेपालमा रहेका सुनचाँदी व्यवसायीले भारतमा सुन चोरेको आरोप लगाएकै आधारमा उनीविरुद्ध ठगी मुद्धा रहेछ । प्रहरीले सबै अनुसन्धान गर्न पाएकै छैन’, एक प्रहरी अधिकारीले भने । 

ढोका लक भैसकेपछि ठगी आरोपी पक्राउ गर्न प्रहरीले जुन हर्कत गर्यो त्यो गलत प्रकृया भयो’, सुरक्षा निकायका एक अधिकारीले भने । त्रिभुवन विमानस्थलमा सुरक्षा गार्डले बोक्ने सञ्चार सेटबाटै त्यो विमानमा शंकास्पद व्यक्ति रहेकाले तत्कालै रोक्ने आदेश गएसँगै नेपाल प्रहरीका सादा पोशाकमा खटिएका प्रहरी तत्कालै पुगेका थिए । 

त्यतिमात्र होइन विशेष व्यूरोमा कार्यरत डीआईजी अशोक सिंह आफैं विमानस्थल पुगे । जसले गर्दा विमानभित्र आतंककारी रहेको जस्तो भान गराइएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीले पठाएको सूचना अनुसार विमानस्थल प्रहरीलाई जहाजमा रहेका दुई जना शंकास्पद व्यक्ति पक्राउ गर्नुपर्ने थियो । 

ठगी आरोपी हुन भन्ने जानकारी हुँदा हुँदै विशेष व्यूरो नै परिचालित हुनु त्यसका पनि व्यूरो प्रमुख आफै जानुले विमानस्थलमा आतक फैलिएको थियो । त्यसमाथि नेपाल प्रहरीको विशेष व्यूरोको टोली नपुग्दासम्म शंकास्पद व्यक्तिलाई बाहिर निकाल्ने हिम्मत गरिएको थिएन । 

त्यसको कारण थियो– विमानमा आतंककारी रहेको जानकारी हुनु । ‘विमानस्थलमा आतंकारी रहेको जानकारी आयो तर विमानस्थल पुगेपछि मात्रै कैलाली प्रहरीले सुन व्यापारी भएको जानकारी दिइयो’, विशेष व्यूरोमा कार्यरत एक प्रहरी अधिकारीले भने । 

उनका अनुसार जहाजबाट श्रीमतीसहित मुम्बईतर्फ उड्न लागेका सुनचाँदी व्यवसायी सन्तोष लामिछाने प्रहरीको विशेष ब्यूरोको टोलीबाट पक्राउ गरिए । ‘घटनामा विशेष व्यूरोका प्रहरी परिचालन निकै त्रुटीपूर्ण छ, यसले प्रहरीको सूचना र अनुसन्धान गर्ने तहको मापन हुन्छ’, लामो समयदेखि विशेष व्यूरोमा कार्यरत प्रहरीले भने । 

उनका अनुसार सुनचाँदी व्यवसायी वा कुनै पनि व्यक्ति पक्राउ गर्ने जिम्मेवारी सम्बन्धित कार्यालयको हो तर बुधबार विशेष व्यूरोलाई गलत रुपले प्रयोग गर्न खोजियो । नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले लामिछाने अन्य गतिविधिमा भन्दा भन्सार छलीको सुन किनबेचमा संलग्न व्यक्ति भएकाले कैलाली प्रहरीको सूचना अनुसार पक्राउ गरिएको बताए । 

हालका प्रहरी प्रवक्ता राई आफैं पनि लामो समय विशेष व्यूरोमा बसेर काम गरेका अधिकारी हुन् । ‘विशेष व्यूरोका प्रहरीलाई त्यहाँ किन पठाइयो यो बारे मलाई थाह भएन’, उनले भने । सन्तोष श्रीमती मीनासहित उक्त जहाजमा मुम्बई जान तयार थिए । 

प्रहरीका अनुसार सुदूरपश्चिम सुनचाँदी व्यवसायी संघका सदस्यसमेत उनलाई अन्य आतंकवादी या शंकास्पद गतिविधिमा लागेको आधारमा पक्राउ गरिएको होइन । तर पनि विशेष व्यूरोको टोली किन त्यहाँ लगियो भन्ने बारेमा प्रहरीसँग कुनै जवाफ छैन । 

कैलाली प्रहरीले उनी भाग्न लागेको भनेर प्रहरी प्रधान कार्यालयलाई जानकारी दिएको थियो । सो सूचना पाएपछि प्रधान कार्यालयको विशेष व्यूरोको टोली खटिएको थियो । 

सो टोलीले उड्न ठिक्क परेको नेपाल एयरलाइन्सको विमान रोकेको थियो । त्यसमा चालक दलसहित १४१ जना यात्रुलाई बाहिर निकालेको थियो । उनीमाथि बिहीबार अभद्र व्यवहारको मुद्दामा अनुसन्धान गर्न म्याद थप गरेको छ । 

उनीमाथि थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । उनीमाथि भारतको पन्जाबमा सुन चोरी गरेको घटनामा संलग्न रहेको आरोप छ । 

तर उनले सुन चोरी गरेकै हुन् भन्ने बारेमा प्रहरी अझै यकिन छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ