arrow

भैंसीका पाडापाडी पाल्ने कृषकलाई पुरस्कृत, फाल्नेलाई दण्डित

logo
प्रकाश बम, 
प्रकाशित २०७९ साउन २५ बुधबार
dipayal-silghadi-nagarpalika.jpg

डोटी । भैंसीका पाडापाडी पाल्ने कृषकलाई पुरस्कृत गरिने भएको छ । दिपायल सिलगढी नगरपालिकाले नगरभित्र भैंसीका पाडापाडी पालन गर्ने कृषकलाई पुरष्कृत गर्नुका साथै छोड्ने, फाल्नेलाई कडा कारबाही गर्ने भएको हो ।

जन्मने बित्तिकै आमाको न्यानो काखमा नराखी अन्यत्र फाल्ने र छोड्ने प्रचलन दिन प्रतिदिन बढ्दै गएकाले यसको रोकथाम तथा न्यूनीकरणका लागि दिपायल सिलगढी नगरपालिकाले यस्तो कार्यक्रम ल्याएको नगर प्रमुख वाजि सिँ खड्का ‘विजय’ ले बताए । 

उनले भने, ‘पछिल्लो समय भैंसीपालन व्यवसायी नै धरापमा परेका छन् । जन्मने बित्तिकै पाडापाडी छोड्ने र फाल्ने प्रचलनले भैंसीको संङ्ख्यामा निकै ह्रास हुँदै आएको छ । पुरस्कृत र दण्डीत जस्ता कार्यक्रमले भैंसीको संङ्ख्यामा केही वृद्धि हुनेछ ।’

नगरभित्रका १ देखि ९ वटै वडाका कृषकहरुले पाडापाडीको हेरचाह तथा पालन पोषण गरिरहेका कृषकहरुलाई प्रोत्साहन स्वरुप पशुपन्छी विकास शाखाको स्वीकृत कार्यक्रम अन्तर्गत पुरष्कारको व्यवस्था गरिएको दिपायल सिलगढी नगरपालिका पशु शाखाका प्रमुख सत्य सुन्दरराज भण्डारीले बताए । 

नगरपालिका भित्रका कृषकहरुले पशुपंक्षी शाखा सिलगढी वा पशु सेवा केन्द्र दिपायलमा वडाको सिफारिससहित पाडापाडी हुर्काएको निवेदन यही साउन ३१ भित्र दर्ता गराउन सबैलाई सूचना जारी गरेको भण्डारीले बताए ।

भण्डारीले भने, ‘साउन मसान्तसम्म कृषकलाई निवेदन दर्ताको समय तोकेका छौं । के कति निवेदन दर्ता हुन्छन् । त्यस पश्चात् अनुगमन गरेर एक वर्ष मुनिका पाडापाडी पाल्ने कृषकलाई पुरष्कृत गर्छौं ।’

नगरका १ देखि ९ वडामा अहिले २ सय ७३ भैंसी कृषकहरुले पालन गरेको पाइएको भण्डारीले बताए । पाडापाडी छोड्ने र फाल्ने कृषकलाई पशु स्वास्थ ऐन नियमावलीअनुसार कारबाही गरिने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ