arrow

गाईजात्रा विशेष

झलनाथले केपीलाई भने – लौ कमरेड म घर फर्की आएँ, बाँकी तपाईकै हातमा 

logo
लुनाटिकको कलमबाट,  
प्रकाशित २०७९ साउन २७ शुक्रबार
kp-oli-jhananath-khanal.jpg

काठमाडौं । नेकपा एमाले र एमालेबाट छुट्टिएर बनेको नेकपा एकीकृत समाजवादीबीच कतिबेला एकता हुन्छ पत्तो छैन । विभिन्न सूत्रहरुलाई प्रयोग गर्ने हो भने नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल बाहेक सबै नेताहरु एमालेमै फर्किएर आफ्नो पुरानो साख जोगाउने प्रयासमा छन् । 

माधवकुमार नेपाललाई भने केपी ओली अध्यक्ष हुन्जेलसम्म कुनै पनि स्थान नपाउने पक्का छ । त्यतिमात्र हैन माधव एमालेमा फर्किहाले पनि उमेरले फेरि उनी अध्यक्ष बन्न सक्दैनन् । अब जे छ त्यसैमा रहेर मौकाको सदूपयोग गर्न उनी प्रयासरत छन् । 

अर्कातर्फ एसका सम्मानित नेता झलनाथ खनाललाई पनि त्यही समस्याले गाँजेको छ । माधव हुन्जेल उनी अध्यक्ष हुन पाउँदैनन् । त्यसैले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध बढाउन पाए त राष्ट्रपतिसम्म खान पाइने आशा उनमा पलाएको छ । 

यसकारण पनि पछिल्ला केही सातादेखि माधव र झलनाथबीच राम्रो सम्बन्ध स्थापित हुन सकेको छैन । 

गाईजात्रा विशेषमा यही सेरोफेरोमा रहेर केपी ओली र झलनाथबीचको सम्वाद प्रस्तुत गर्दैछौं ।

ओली – ओ कमरेड पुच्छर शरीरमा टाँसिएजस्तै माकुने (माधवकुमार नेपाल) जहाँ जान्छन् त्यहीँ टाँसिइरहने मात्र हो कि अरु पनि केही सोच्ने हो ? 
खनाल – ओहो कमरेड म तपाईलाई नै सम्झदै थिएँ । केही सोचिरहेको छु । 

ओली – पार्टी फुटाउने बेलामा त एकपटक पनि मेरो सम्झना भएन । माकुने भए के के न गरेँ जस्तो भयो । अहिले फेरि कसरी आयो त सम्झना ? 

खनाल – (हल्का चस्मा मिलाउँदै, हल्का बनावटी हाँसो हाँस्दै) नाम त कहाँ मेटिन्छ र । कहिले मिलनका कहिले विछोडका । सँगसँगै पनि लामो समय काम गरेकै हो नि । याद नआउने कुरा पनि हुन्छ र !

ओली – भइरहेको पार्टीलाई फुटाएर तहसनहस पारिहाल्नु भयो क्यार ! अब फेरि के फुटाउन बाँकी छ र ? 

खनाल – फुट्ने जुट्ने र गाली गलौज गर्ने त हामी कम्युनिष्ट नेताहरुको चलनै हो नि । हाम्रा अग्रजले गर्दै आएको चलन त भुल्न भएन नि कमरेड कि कसो हो ? 

ओली –अचानोको मर्म खुकुरीलाई के थाहा । भइरहेको आफ्नै पार्टीको सरकार ढाल्नेलाई के भनौं र खोइ !

खनाल – यो त चलिरहन्छ नि कमरेड । 

ओली – अब कसरी चल्दो रैछ म पनि हेर्दैछु । 

खनाल – (फकाउने पारामा) त्यसो हैन कमरेड । तपाईको त प्रधानमन्त्रीमा पनि ह्याट्रिक गर्ने योग छ । अरुलेमात्र ज्योतिषीलाई देखाएर प्रधानमन्त्री बनेका हुन् र । तपाईको पनि त आफ्नै अलौकिक शक्ति छ नि । 

ओली – म फुर्किने मान्छे त हैन । तर के तपाईले ज्योतिषलाई देखाएकै हो त ? 

खनाल – (स्वाङ् पार्दै) हो नि कमरेड । तपाईलाई तेस्रो पटक प्रधानमन्त्री र मलाई .....

ओली – अनि तपाईलाई ? 

खनाल – ( अलि फरक लबजसहित) मलाई मलाई त तपाईले सम्मानित भनिहाल्नु भयो । त्यही सम्मानित । 

ओली – राष्ट्रपति पो ? 

खनाल – (फेरि उही फरक लबजसहित) त्यही भन्यो ज्योतिषले । 

ओली – अनि ज्योतिष चाहिँ को हो नि ? कि आफै हो ? 

खनाल – कमरेड पनि ठट्टा गर्नुहुन्छ । 

ओली – कसरी बन्नुहुन्छ त राष्ट्रपति ? प्रचण्डको पुच्छर लागेर पार्टी फुटाउनु भो । कांग्रेसको पुच्छर लागेर शेरबहादुरलाई प्रधानमन्त्री बनाउनु भो । मलाई बैरी देख्नुभयो । 

खनाल – त्यो समय खराब थियो । यो समय शुभ छ । अब पुरानो ढर्रा छाडौं कमरेड । नयाँ सोचसहित अगाडि बढौं । 

ओली – फेरि के चाल चल्न थाल्नुभयो ? तपाईको सर्पखेती त फस्टाएकै थियो । मैले नै ७२ करोड हाल्देकै हो । र पनि धोका भयो । अब फेरि के तिकडम गर्ने सोच हो ? 

खनाल – तपाई पनि खाली पुरानै सोच गर्दै हुनुहुन्छ । स्थानीय तहमा हाम्रो पार्टीका कारण तपाईलाई अप्ठेरो भएकै हो । र पनि मैले मेरो जिल्ला इलाममा त सकेसम्म तालमेल गरेकै हो । अब त्यसरी नै मिलेर जान परो । 

ओली – अनि तपाईको स्वार्थ ? 

खनाल – मेरोमात्र हैन हाम्रो । ज्योतिषीको स्वार्थ । तपाई प्रधानमन्त्री र म राष्ट्रपति । 

ओली – तपाईहरुसँग विश्वास गर्ने आधार पनि त छैन नि । 

खनाल – हामीसँग विश्वास नगरेर कांग्रेससँग गर्नुहुन्छ त ? मलाई उत्तरी छिमेकीसँग टाढिएको चित्त बुझेको छैन । हामी एकै हौं । नजिक भइरहनु पर्छ । उताको इच्छा पनि त्यस्तै छ । स्वार्थ नभन्नुस् न । यो त जनआधार हो । माग हो । 

ओली – ल म सोचौंला । 

खनाल – समय कम छ कमरेड । मैले केही बलिया नेताहरुलाई लिएर आउँछु । अब मिलेर अगाडि बढौं । अब के सोच्न बाँकी छ र । राष्ट्रपति भण्डारी ज्यूले तेस्रो पटक दोहोरिने परिपाटी छैन । म भन्दा उत्तम अर्को को नै छ र ? 

ओली – अनि माकुने बाहेकका सबैलाई ल्याउनु हुन्छ ? 

खनाल – मेरो पूर्ण प्रयास रहने छ । 

ओली – मंसिर ४ को चुनावमा पार्टीको बहुमत आए तपाई पक्का । तर तपाईले यो गठबन्धन मान्दिन भनेर पनि लेखेर र राम्रा नेताहरुलाई ल्याउनु पर्छ । 

खनाल – मैले त्यही भन्दैथिएँ । म जसरी पनि ल्याउँछु । ल पक्का भो है कमरेड । 

ओली – लौ पक्का भो ।

स्वार्थ मिलेपछि झलनाथ खनालले केपीलाई भने – लौ कमरेड म घर फर्की आएँ, बाँकी तपाईकै हातमा ऽऽ 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ