arrow

मनकारी डडेल्धुराबासीले गरे अध्यापन अनुमति पत्रका परीक्षार्थीहरुको बसाई ब्यवस्थापन 

logo
राम धामी,  
प्रकाशित २०७९ साउन २८ शनिबार
congress-bp-dadeldhura.jpg


डडेल्धुरा । शनिबार सम्पन्न निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्रको परीक्षाका लागि हजारौं परीक्षार्थीहरु डडेल्धुरा पुगेपछि बसाई ब्यवस्थापन निकै चुनौतीपुर्ण रह्यो । 

दुई दिन पहिलेदेखि परीक्षार्थीहरु आउनेक्रम शुरु भएसँगै सदरमुकाम र आसपासका बजार क्षेत्रमा रहेका सबै होटल भरिभराउ भइसकेका थिए ।

डडेल्धुरा सदरमुकाम र आसपासका बजार क्षेत्रमा कुल २८ वटा होटेल रहेको र सबै होटलसँग दुई सय ४६ कोठा रहेको होटल व्यवसायी संघ डडेल्धुरा उपाध्यक्ष दानबहादुर भण्डारीले बताए । 

डडेल्धुराका १२ वटा परीक्षा केन्द्रमा तीन हजार दुई सय ४७ जना परीक्षार्थी सहभागी थिए । अभिभावक र बालबालिका समेतसँगै लिएर आएका परीक्षार्थीहरुका कारण झण्डै पाँच हजार ब्यक्तिलाई सदरमुकाममा व्यवस्थापन गर्न कठिनाई भएपछि सदरमुकाम क्षेत्रमा सेवादल मार्फत आवास, यातायात र पिउने पानी व्यवस्थापन गरिएको नेपाली काँग्रेस (विपी) का केन्द्रीय समितिका बरिष्ठ उपसभापति कर्णबहादुर मल्लले बताए ।

होटलका कोठा सबै भरिएपछि बिहिबार साँझदेखि यहाँका सार्वजनिक भवनलाई अतिथिगृह बनाईएको हो । 

नेपाली काँग्रेस (वीपी) ले लामो समयदेखि बिश्रामस्थलका रुपमा पार्टी कार्यालयमा सर्वसाधारणलाई आवास ब्यवस्थापन गरिरहेको थियो । 

‘हामीले एक सय ५० जना परीक्षार्थीका लागि आवास व्यवस्थापन गर्यौं, तर हजारौं परीक्षार्थीहरु अलपत्र हुने अवस्था आएपछि अन्य सामाजिक संघ संस्था, राजनीतिक दल, स्थानीय प्रशासन र जनप्रतिनिधीहरुको सक्रियतामा सबैलाई सुविधाजनक किसिमले निःशुल्क आवासको प्रबन्ध गर्न सकिएको हो’, विपीले भनेको छ । 

उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ, डडेल्धुरा सार्वजनिक पुस्तकालय, नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको भवन, नेपाली काँग्रेस डडेल्धुराको कार्यालय, नेकपा (एमाले) डडेल्धुराको कार्यालय, उग्रतारा डडेल्धुरा सार्वजनिक यातायातको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, डडेल्धुरा अस्पताल, खलंगा खानेपानी उपभोक्ता समिति, योग समिति डडेल्धुरा, नेपाल रेडक्रस सोसायटी डडेल्धुरा, कृषि ज्ञान केन्द्र, डडेल्धुरा क्याम्पस, लगायतका स्थलहरुलाई अतिथि गृह बनाई परीक्षा दिन यहाँ पुगेकाहरुलाई आवास व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ । 

नेपाली कांग्रेस (वीपी) ले किशुनजी स्मृती भवन बागवजार डडेल्धुरामा २६ गते राति ९१ जना तथा २७ गते राति एक सय २५ जना लाई निःशुल्क बासको व्यवस्था गरेको कार्यालय सचिव रामबहादुर बिष्टले बताए । 

परीक्षाको दिन डडेल्धुरा सदरमुकामबाट विभिन्न तीन रुटमा परिक्षार्थीहरुलाई परीक्षा केन्द्रसम्म पुर्याउन र परीक्षा दिईसकेपछि फिर्ता ल्याउन चारवटा बस बुकिङ गरेर निःशुल्क यातायात सेवा उपलब्ध गराइएको बिष्टले जानकारी दिए । 

जिल्लाका सबै परिक्षा केन्द्रमा स्वयमसेवक परिचालन गरेर निःशुल्क शुद्ध खानेपानी तथा मास्क वितरण गरिएको नेपाली कांग्रेस (वीपी) को भातृ संस्था नेशनल युथ कांग्रेसका केन्द्रीय सदस्य युवराज पाण्डेयले बताए ।

सेवा नै मुल धर्म हो भन्ने मुल नाराका साथ विभिन्न सेवाहरुसहित परीक्षार्थीहरुलाई सफलताको शुभकामना ब्यक्त गरिएका नेपाली कांग्रेस (वीपी) डडेल्धुरा जिल्ला कार्यसमितिका सचिव सन्तोष देउवाले बताए । डडेल्धुरा सदरमुकाममा आवास व्यवस्थापनका लागि स्थानीयले आफ्नो घरको कोठा खाली गरेर लत्ता कपडाको प्रबन्ध समेत गरेका थिए । ‘डडेल्धुरा सदरमुकाममा निःशुल्क रुपमा आवास व्यवस्थापन गरिएकाले परीक्षार्थीलाई निकै सहज भयो,’ कञ्चनपुरको लालझाडी–३ बाट परीक्षा दिन आएकी शारदा चौधरीले भनिन्, ‘डडेल्धुरामा निकै मनकारी मानिसहरु बस्दा रहेछन् भन्ने हामीले महसुस गर्यौं ।’ 

‘खान र बस्न नपाएर अलपत्र परिन्छ कि भन्ने चिन्तामा थियौं,’ कैलालीको फुलबारीबाट परीक्षा दिन आएकी प्रमिला चौधरीले भनिन् ,‘तर निकै सुविधाजनक आवास र खानपिनको व्यवस्था गरिदिएकाले डडेल्धुराबासीप्रति ऋणी छौं ।’ यहाँ आएका परीक्षार्थीहरुले डडेल्धुराबासीलाई धन्यवाद दिएका छन् ।

‘निकै मनकारी र सेवाको भावना भएका मानिसहरु डडेल्धुरामा बस्दा रहेछन्,’ बझाङको खप्तड छान्नाकी कमला सिंहले भनिन्, ‘सेवाको भावना भएको समाजका कारण कोही अलपत्र परेनन् ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ