arrow

एमाले–माओवादीको जस्तै माओवादी–एसको संयुक्त घोषणापत्र, निर्वाचनपछि पार्टी एकीकरण 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ७ मंगलबार
prachanda-madhav-laddo.jpg
तस्बिर– फाइल

काठमाडौं । एउटै घोषणापत्रमा चुनाव लड्न तयार भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकीकरण गर्दा माओवादी केन्द्रको नाम परिवर्तन गर्न सहमत भएका छन् । एमालेबाट विभाजित भएर नयाँ पार्टी गठन गरेका माधव नेपालले माओवादी अध्यक्ष प्रचण्डसँगको पटक पटक छलफलको क्रममा पार्टीको नाम परिवर्तन गर्ने प्रस्ताव राखेपछि प्रचण्ड सहमत भएको स्रोतले जनाएको छ ।

‘एस पार्टीका अध्यक्ष माधव नेपालले माओवादीको नाम परिवर्तन नगरी पार्टी एकीकरणमा गए अप्ठेरो पर्ने भनेपछि प्रचण्ड माओवादीको नाम परिवर्तन गर्न सहमत भएका हुन्’, माओवादीका एक स्थायी कमिटी सदस्यले भने । 

ती सदस्यका अनुसार अहिलेदेखिनै यसको गृहकार्य हुनेछ । ‘चुनाव लगत्तै पार्टी एकीकरणको प्रकृया शुरु हुने भएकाले धेरै विषयहरु छलफल भैसकेको र कतिपय विषयहरु पुरानो नेकपाकालीन अवस्थासँग मिल्ने भएकाले पार्टी एकीकरणमा समस्या छैन’, माओवादी केन्द्रका ती सदस्यले भने ।  

सोमबार पनि दुई अध्यक्षबीच भेटघाट भएको थियो । सो भेटघाटमा एउटै घोषणापत्र लिएर आगामी चुनावमा जान सहमत भएका थिए । भेटघाटको क्रममा एकता समायोजन समिति बनाउने निर्णय गरेका थिए । 

एकीकृत समाजवादी साझा घोषणापत्र लिएर आगामी प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनमा जाने भएपछि माओवादी पनि पार्टीको नाम परिवर्तन गर्न तयार भएको हो । 

२०७४ सालमा वाम गठबन्धन गरेको एमाले र माओवादी केन्द्रले पनि एउटै घोषणापत्र लिएर चुनावमा भाग लिएका थिए । केही दिनअघि बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले माओवादी केन्द्रसँग पार्टी एकता गर्न संयोजन समिति बनाउने निर्णय गरेको थियो । 

सचिवालय बैठकको निर्णयअनुसार चाँडै पार्टी एकता संयोजन समिति बनाउने माओवादीसँग सहमति भएको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए । भलनाथ खनालले पनि यसको पुष्टि गरेका छन् । ‘अहिले संयुक्त घोषणापत्र बन्छ, निर्वाचनपछि पार्टी एकीकरण हुन्छ’, एस पार्टीका सम्मानित नेता खनालले भने । 

एकता संयोजन समिति बनाएर अगाडि बढ्ने भएपछि आगामी निर्वाचनमा दुवै दलको साझा घोषणापत्र आउनु स्वभाविक रहेको माओवादीका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बताए । ‘एकता संयोजन समिति बन्ने अवस्था छ भने घोषणापत्र संयुक्त बन्ने कुरा नयाँ होइन’, माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं उपमहासचिव गजुरेलले भने । 

पार्टी एकता नै गर्ने भनेपछि माधव नेपालले पार्टीको नाम परिवर्तन गर्न दबाब दिएका थिए । एकता संयोजन समिति नबनेको खण्डमा दुई अलग पार्टीको साझा घोषणापत्र नहुने एक माओवादी नेताको दावी छ ।  

चुनावअगाडि एकता संयोजन समिति बनाउने तयारी भइरहेको अवस्थामा नेपालले माओवादी केन्द्रको नाम फेर्न दबाब दिएपछि सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नम परिवर्तन गर्न आफू राजी भएको जानकारी दिएको स्रोतको दाबी छ । 

संयोजन समितिले एकताको आधार खोज्ने र चुनावपछि मात्रै त्यो प्रक्रिया अगाडि बढ्ने स्रोतको दावी छ । विगतमा भएको एकताको अनुभवलाई समीक्षा गरेरमात्र एकता प्रक्रिया अगाडि बढ्ने ती नेताले बताए । 

तर एस पार्टीका एक नेताका अनुसार माओवादीले साह्रै दुःख दिएको र अहिले  पनि एमालेसँग सहकार्यका लागि गोप्य भेटघाट र कुराकानी गरेका कारण एकता समिति बनाएर अल्मल्याउन खोजेको मात्रै हो पार्टीनै एकता हुने कुरा धेरै टाढा रहेको छ । 

‘एस पार्टीलाई माओवादीले पेलेकै कारण अहिले पार्टी एकता भन्यो भने निर्वाचनमा सहज हुने भएकाले मात्रै एकता संयोजन समिति बनाउने निर्णय गरिएको हो, अधिकांश नेता कार्यकर्ताहरु माओवादी केन्द्रसँग भन्दा एमालेसँग एकता गर्न राजी छन्’, एस पार्टीका एक नेताले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ