arrow

काठमाडौंमा डेंगीको प्रकोप: अस्पताल भरिभराउ, बिरामीमा दुखाइको लहर

logo
प्रकाशचन्द्र जोशी,
प्रकाशित २०७९ भदौ ९ बिहिबार
dengue-1.jpg

काठमाडौं । काठमाडौं उपत्यकामा डेंगीको प्रकोप फैलिएको छ । उपत्यकाका विभिन्न ठाउँबाट टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना हुन आउने डेंगीका बिरामीको संख्या बढ्दै गएको छ ।

उपत्यकासँगै देशका केही अन्य भागमासमेत डेंगीका बिरामी देखिन थालेपछि यसले ठूलो प्रकोपकोरुप लिनसक्ने चेतावनी दिँदै विज्ञहरुले सतर्कता अपनाउन आग्रह गरेका छन् । काठमाडौंको टेकु सरुवा रोग अस्पतालबाहेक पाटन र अन्य अस्पतालमा समेत डेंगीका बिरामीको संख्या बढ्दै गएको छ । यहाँसम्मकी टेकु अस्पतालको डेंगी परीक्षण गर्नेको लाइन नै लाग्न थालेको छ भने, भर्ना हुने बिरामीको चाप बढेको छ।

उपत्यकामा तीव्ररुपमा डेंगी फैलिन थालेपछि ठूलो प्रकोपको जोखिमबाट बच्नका लागि तत्काल कदम चालेर सर्तकता अपनाउन आवश्यक रहेको विज्ञहरुले बताएका छन् । 

के हो डेंगी ?

कालो, सेतो छिरबिरे रंगको हुने एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेपछि हुने तीव्र भाइरल संक्रमण हो डेंगी । हालैका वर्षहरूमा डेंगी सबै जसो भागमा फैलिन थालेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

डेंगीले सबक्लिनिकल रोग (संक्रमित भएकै थाहा नहुने) देखि संक्रमितहरूमा गम्भीर फ्लू जस्तो लक्षणहरू निम्त्याउन सक्छ । 

यस्तै केही व्यक्तिहरुमा डेंगी गम्भीररुपमा विकास भएर गम्भीर रक्तस्राव, मानव अंगमा क्षति गर्नेदेदेखि प्लाज्मा चुहावटसम्मको स्थितिमा पुर्याउन सक्छ । डेंगीको उचित व्यवस्थापन नभएमा यसले मृत्युसमेत हुनसक्छ ।

गम्भीर डेंगी पहिलो पटक १९५० को दशकमा फिलिपिन्स र थाइल्याण्डमा डेंगीको महामारीको समयमा पहिचान गरिएको थियो। 

हाल गम्भीर डेंगीले अधिकांश एसियाली र ल्याटिन अमेरिकी देशहरूलाई असर गर्छ र यी क्षेत्रहरूमा बालबालिका र वयस्कहरूमा अस्पताल भर्ना र मृत्युको प्रमुख कारणका रुपमा रहेको छ। 

खासगरी केही फरक तर एउटै खालका डेंगी १, डेंगी २, डेंगी ३ र डेंगी ४ गरी चार प्रकारका भाइरसले डेंगीको संक्रमण फैलाउँछन् ।

लक्षण के हुन्?

धेरै जसो मानिसमा डेंगीको कुनै लक्षण नदेखिने  सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला बताउँछन् ।

तर, डेंगीका बिरामीहरुमा गम्भीर टाउको दुखाइ, आँखा पछाडि दुख्ने, मांसपेशी वा जोर्नी खुख्ने, वाकवाकी, वान्ता, ग्रन्थि सुन्निनेलगायतका लक्षणहरु देखिने गर्छन् ।

गम्भीररुपमा पेट दुख्ने, श्वासप्रश्वास तीव्र हुने, गिजा वा नाकबाट रगत बग्ने, थकान, बेचैनी, बान्ता वा दिसामा रगत देखिने जस्ता गम्भीर लक्षणहरुसमेत देखिनसक्ने डा. बास्तोलले बताएका छन् ।

यस्ता गम्भीर लक्षण देखिने व्यक्तिहरुलाई विशेषरुपमा चिकित्सकको निगरानीमा राखेर उपचार गर्नु पर्ने उनले बताए ।

अहिले गम्भीररुपमा हुने दुखाइ र ज्वरो डेंगीको मुख्य लक्षणका रुपमा टेकु अस्पतालका सरुवा रोग बिशेषज्ञ डा शेरबहादुर पुनले बताएका छन् ।

'म त यसलाई 'दुखाइको लहर' भन्छु, ज्वरो आएको छ र अत्यधिक सहनै गाह्रो हुने गरी ज्यान दुखेको छ भने अहिलेको अवस्थामा त्यो डेंगी हो,' डा पुनले भने ।

बच्ने कसरी?

डेंगी हुनबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्न जरुरी रहेको विज्ञहरुको भनाइ छ । एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस मुख्य रुपमा डेंगी गराउने यी छिरबिरे रंगका लामखुट्टे बिहान र बेलुकाको समयमा बढी सक्रिय हुने हुँदा कार्यस्थल र घरबाहिर हुने समयमा डेंगीको संक्रमण बढी हुने गरेको विज्ञहरुले बताएका छन् ।

त्यसकारण यसबाट जोगिने एक बलियो उपाय भनेको लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियान चलाउनु पर्ने डा बास्तोलाको भनाइ छ ।

यो लामखुट्टे खासगरी सफा पानीमा फुल पार्ने हुँदा घर आसपासका पानी जम्ने खाडल, पानी जम्नसक्ने फोहर (जस्तै प्लास्टिकका झोला, बोत्तल, सिसी) र ससाना झाडी जस्ता पानी जम्ने ठाउँहरुलाई सुख्खा पारेर सफा राख्दा लामखुट्टेको संख्या घटाउन सकिने र संक्रमण जोखिम कम गर्न सकिने डा बास्तोलाको भनाइ छ ।

रातिको समय भन्दा पनि बिहान, साँझ बढी सक्रिय रहने हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगीबाट जोगिने उपाय रहेको अर्का विज्ञ डा पुनको भनाइ छ । पानी जम्ने र लामखुट्टेको जनसंख्या घटाउने किसिमले सरसफाइ एवं डेंगु सम्बन्धी सचेतनामुलक जानकारी अभियान चलाउनु पर्ने उनको भनाइ छ ।

यस्तै मानिसले शरीर पूरै ढाक्ने कपडा लगाउने र लामखुट्ट्ेको टोकाइबाट बच्न राति टोक्ने सम्भावना कम भएपनि झुल लगाएर सुत्ने जस्ता उपाय अपनाउन सकिन्छ ।

डेंगीको लक्षण देखिएमा के गर्ने?

ज्वरो र शरिर दुख्नेलगायतका डेंगीका लक्षण देखिएमा तुरुन्तै अस्पताल गएर जाँच गराउने र चिकित्सको परामर्श लिनु पर्ने डा बास्तोलाले बताएका छन् । 

यद्यपि, डेंगीका लक्षण देखिएको अवस्थामा शरीर धेरै दुख्दा आफैले ब्रुफेन, एस्पिरिन, फ्लेक्सनजस्ता पेनकिलर औषधीहरुको प्रयोग गर्दा रक्तश्राव हुन सक्ने डा बास्तालाको चेतावनी छ । सामान्य सिटामोलको प्रयोग गरे पनि बढी औषधि चिकित्सकको परामर्श बिना प्रयोग गर्न नहुने डा बास्तोलाले बताएका छन् ।

यस्तै डा. पुनले गम्भीर लक्षण देखिएका व्यक्तिले तुरुन्तै अस्पताल जानुपर्ने बताएका छन् । अहिले टेकु अस्पतालमा दजर्नाैं डेंगीका बिरामी उपचाररत छन् । लक्षणसहित अस्पताल आउने अहिले ८० प्रतिशतमा डेंगी देखिइरहेका कारण प्रकोप व्यापक फैलिरहेको चिन्ता डा पुनको छ।

डेंगीबाट बच्न व्यक्ति आफैले व्यवहार परिवर्तन गरेर आफु वरपरको वातावरण सफा राख्न र लामखुट्टेको टोकाइबाट बच्न जरुरी रहेको देखिन्छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ