arrow

पार्टी एकता गर्न कम्युनिस्टहरूलाई चीनको दबाब, माओवादी छोड्नुपर्ने बाध्यतामा प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १० शुक्रबार
Sad-prachanda.jpeg

काठमाडौँ। २०७४ को निर्वाचनमा गरेको तालमेल र एकता तीन वर्ष नपुग्दै भङ्ग भएपछि चीन फेरि नेपालका कम्युनिस्टहरूलाई एकताबद्ध गराउने अभियानमा लागेको छ। यसअघि चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाव प्रमुख लिउ जियान्चाओले पनि आफ्नो भ्रमणका क्रममा काँग्रेससँग सम्बन्ध सुधार गर्ने र नेपालका कम्युनिस्टहरूलाई एकताबद्ध गर्ने रणनीति अपनाएको देखिन्थ्यो।

उनले कम्युनिस्ट नेताहरूसँगको भेटमा पनि कम्युनिस्ट एकताका लागि पहल थाल्न आग्रह गरेका थिए। नेपालका कम्युनिस्ट शक्तिहरू एक ठाउँमा आएको अवस्थामा नेपालको समृद्धि हुने र चीनसँगको सहकार्य गर्न सहज हुने बताएका थिए। यही अभियानमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दौडधुप थालेकी छन्।

दुई महिना बिदा मनाएर फर्किएकी यान्छीले सभामुख अग्निप्रसाद सापकोटा र पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्दै वाम एकताको पहल अगाडि बढाउन आग्रह गरेकी थिइन्। यही अभियानमा अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लागिरहेका छन्।

चीनले अब बन्ने पार्टीमा माओवादी नाम नराख्न भने सुझाएको छ। चिनियाँ नेता माओको बदनाम गराएको भन्ने विश्लेषण गरेको चीनले नयाँ नामबाट पार्टी एकताका लागि पहल थाल्न नेपालका कम्युनिस्टहरूलाई दबाब दिइरहेको छ। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पनि मङ्गलवार आफ्नो दल र नेकपा एकीकृत समाजवादीबीच चुनावपछि एकता हुने बताए।

दुई पार्टीबीच विचार र कार्यदिशामा समानता रहेको भन्दै उनले एकता संयोजन समिति बनाउने र निर्वाचनपछि पार्टी एकता हुने सहमति भइसकेको जानकारी दिएका थिए। विचार मिलेकै कारण आसन्न ४ मङ्सिरको प्रतिनिधिसभा निर्वाचनमा साझा घोषणापत्र बनाउने सहमति दुई दलबीच भएको उनले जानकारी गराएका छन्।

यसअघि नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पनि पार्टी एकता हुने र ओलीबाहेकको एकता हुने बताएका थिए। उनले भनेका थिए, 'माओवादी केन्द्र र एकीकृत समाजवादीको बीचमा विचारको समानता छ। राजनीतिक कार्यदिशामा पनि एकरूपता छ। केही समय अगाडिसम्म हामी एउटै पार्टी नेकपामा सँगै थियौँ।'

पुनले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई पनि सँगै लगेर जाने बताएका छन्। उनले भने, 'बाबुराम भट्टराईजी र वामदेव गौतमजीसँग पनि कुरा भइरहेको छ’, पुनले भने, ‘सकेसम्म एउटै घोषणापत्र बनाएर जाने कुरा भइरहेको छ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ