arrow

लाइसेन्स दिने व्यवस्था सबैभन्दा बदनाम : मुख्यमन्त्री भट्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १२ आइतबार
trayal-center.jpg

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालमा यातायात कार्यालयबाट सवारी चालक अनुमति पत्र दिने व्यवस्था सबैभन्दा बदनाम भएको बताएका छन् । डोटीको राजपुरबाट सञ्चालनमा आएको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा सञ्चालन स्थल (ट्रायल स्पोट) को उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले सो कुरा बताएका हुन् ।

‘अहिलेसम्म लाइसेन्स दिने कार्य बदनामित हुँदै आएको छ’, मुख्यमन्त्री भट्टले भने, ‘आगामी दिनहरूमा यो कार्यलाई स्वच्छ र मर्यादित बनाउन सबैको भूमिका रहने र सवारी चालक अनुमति पत्र दिँदा निष्पक्ष भएर काम अगाडि बढाउनु होला ।’ 

ट्रायल सेन्टरले अब पहाडी जिल्लाका चालकहरूलाई सहज हुने उनले बताए । यो पाँच वर्षमा प्रदेश सरकारको गौरवको योजना भित्र राखेर ट्रायल स्पोट निर्माणको कार्यलाई बढाएको मुख्यमन्त्री भट्टले बताए ।

अब देखी डोटीबाटै सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त गर्न सकिने भएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका नागरिकलाई यो भन्दा पहिला लाइसेन्स लिन तराईका जिल्ला कैलाली र कञ्चनपुर जानुपर्ने बाध्यता थियो । 

डोटीसँगै डडेलधुरामा पनि शनिवार नै प्रयोगात्मक परीक्षा (ट्रायल) सेन्टरको उद्घाटन भएको छ । पहाडी दुई जिल्लामा प्रयोगात्मक परीक्षा (ट्रायल) सेन्टरको उद्घाटन भएपछि पहाडका ७ जिल्लाका नागरिक लाभान्वित हुने भएका छन् । ट्रायल सेन्टरको उद्घाटन पछि लाइसेन्सको लिखित परीक्षा दिएकाहरूले आज नै प्रयोगात्मक परीक्षा (ट्रायल) गरेका छन् ।

ट्रायल सेन्टरको उद्घाटन पश्चात् सबैभन्दा पहिला राजेश ठगुन्नाले ट्रायल पास गरेका छन् । ट्रायल पास भएकाहरूलाई आजै सवारी अनुमति पत्र लाइसेन्स दिइएको छ ।

डोटीमा २०७२ असार ३ गते नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभाग रहने गरी यातायात व्यवस्था सेवा कार्यालयको रुपमा स्थापना भएको थियो । सुदूरपश्चिम प्रदेश सरकारको २०७८ चैत १६ गते बसेको मन्त्रीपरिषद्ले सेवा कार्यालयलाई स्तरबृद्धि गर्ने निर्णय गरेको र चैत २२ गतेबाट यातायात व्यवस्था कार्यालयमा रूपान्तरण भएको थियो । यातायात व्यवस्था कार्यालय डोटीको कार्यक्षेत्र डोटी, अछाम र बाजुरा जिल्ला हुन् ।

कार्यालयबाट दुई तथा चार पाङ्ग्रे सवारी साधनको कर सङ्कलन, हाललाई दुई पाङ्ग्रे सवारी साधनको दर्ता तथा नामसारी, सवारी दर्ता प्रमाण पत्र नवीकरण, सार्वजनिक सवारी साधनहरूको प्राविधिक जाँच पास गर्ने कार्यहरू हुने कार्यालय प्रमुख पूर्ण बहादुर शाहले बताए । 

त्यस्तै नयाँ रुट परमिट जारी एवम् नवीकरण गर्ने, यातायात सेवाको नाम पंजिकरण गर्ने, सवारी चालक अनुमति पत्र जारी गर्ने र अस्थायी रुट इजाजत दिने कार्यहरू कार्यालयबाट हुने कार्यालय प्रमुख शाहले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ