arrow

प्रचण्डको चुनावी क्षेत्र अझै खुलेन, चितवन ३ दोहोर्‍याउन पटक पटक अनुसन्धान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १५ बुधबार
prachanda-final1.jpg

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म आफू कहाँबाट निर्वाचन लड्ने भन्ने बारेमा केही खुलाएका छैनन् । चितवनको अवस्था बुझ्ने क्रममा आफ्नो निर्वाचन क्षेत्र जाने आउने गरिरहेका छन् तर पनि आफू चितवन ३ बाटै निर्वाचनमा जान्छु भन्न सकिरहेका छैनन् । 

दुई वटा स्थानीय तहको निर्वाचनमा छोरी रेणु दाहाललाई जिताउन कांग्रेसको सहारा लिएका प्रचण्डलाई यसपटक चितवन कांग्रेसले संघीय संसदको निर्वाचनमा चितवन ३ छाडिदिन आग्रह गरेको छ । तर प्रचण्डले यसबारेमा मुख खोलिसकेका छैनन् । 

गठबन्धनको बैठकमा शीर्ष नेताहरुलाई चुनाव जिताउने गरी रणनीति अघि सारेपछि प्रचण्डले चितवनबाटै निर्वाचन लड्ने करिब करिब पक्का भएको छ । तर उनले अहिलेसम्म पार्टी कमिटीमा केही नबताएका कारण यसै भन्न सक्ने अवस्था छैन । 

कांग्रेस नेताहरुले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई निर्वाचन क्षेत्र परिवर्तन गर्न सुझाव दिइसकेका छन् । चितवनबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य दिनेश कोइराला, जिल्ला सभापति राजेश्वर खनाल लगायतका नेताले ४ मंसिरको प्रतिनिधि सभा निर्वाचनमा प्रचण्डले चितवन–३ कांग्रेसलाई छाडिदिनुपर्ने सुझाव दिए पनि प्रचण्डले बागमती प्रदेश अन्तर्गत रहेको कमिटीलाई निर्देशन दिँदै आफ्नो क्षेत्रको निर्वाचन परिचालन कमिटीको नेतृत्व रेणु दाहाललाई अघि सारेका छन् । 

तर कांग्रेस केन्द्रीय सदस्य कोइराला केही दिन अघि सञ्चारकर्मीमाझ प्रचण्डले चितवन–३ बाटै उम्मेदवारी दिन्छु भनेर ढिपी गर्न नहुने बताउँदै क्षेत्र परिवर्तन गर्न सुझाव दिएका हुन् । ‘उहाँले चितवन–३ बाहेक अरुतिर उठ्दिन भन्नु हुँदैन । ठूलो नेताले अरु ठाउँबाट पनि जित्न सक्नुहुन्छ । यसपटक चितवन–३ उहाँले छोडिदिनुपर्दछ’, उनले भनेका थिए । 

चितवन–३ केन्द्रीय सदस्य कोइरालाको गृह क्षेत्र हो र उनी पनि यहाँबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा आकांक्षी छन् । यसै क्षेत्रबाट अर्का केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ पनि उम्मेदवारको आकांक्षी छन् । प्रचण्डले चितवनमा केही नबोले पनि जापान पुगेर चितवन ३ आफ्नो क्षेत्र रहेको दाबी गर्दै त्यहीबाट निर्वाचन लड्ने संकेत गरेका थिए । 

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार बनेका प्रचण्ड चितवन–३ बाट निर्वाचित भएका थिए । चितवन–३ मा भरतपुर महानगरका १९ वडा र माडी नगरपालिका पर्छ । भरतपुरका १९ वडामध्ये कांग्रेसले ११, एमालेले ४, माओवादी २, एकीकृत समाजवादी र स्वतन्त्रले १–१ वडाको वडाध्यक्ष जितेका छन् ।

चितवन–३ मा स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतको आधारमा एमाले पहिलो दल हो । एमालेले २९ हजार ७७१, कांग्रेसले २९ हजार ३४३, माओवादीले १० हजार ९४०, राप्रपाले ६ हजार १९८ र एकीकृत समाजवादीले ५ हजार ३७ मत पाएको थियो । 

गत निर्वाचनमा प्रचण्डले ४८ हजार २७६ मत ल्याई विजयी भएका थिए । कांग्रेसको समर्थनमा उम्मेदवार बनेका विक्रम पाण्डे ३८ हजार ९३५ मत ल्याएका थिए । 

भरतपुर महानगरपालिकाकी मेयर तथा प्रचण्डकी छोरी रेणु दाहाललाई गत स्थानीय चुनावमा भएको अनुकुल अवस्था प्रचण्डलाई छैन । गत स्थानीय तह निर्वाचनमा माडी नगरपालिकामा माओवादी केन्द्रका उम्मदवारले भोगेको पराजय पनि प्रचण्डका लागि खतराको घण्टी हो । 

चितवन–३ मा पर्ने माडी नगरपालिकाको प्रमुखमा यसपटक एमालेकी ताराकुमारी काजी महतो निर्वाचित भइन् भने माओवादी केन्द्रका मेयरका उम्मेदवार ऋषिराम काफ्ले पराजित भएका छन् । 

महतोले ९ हजार ७२९ र काफ्लेले ७ हजार ७२९ मत पाए । माडीमा एमालेले राप्रपासँग र माओवादीले कांग्रेससँग तालमेल गरेको थियो । प्रचण्डका लागि अर्को प्रतिकुल कारण कांग्रेसभित्रकै असन्तुष्ट समूह हो । जिल्लामा यो समूहको नेतृत्व कृष्णप्रसाद सापकोटाले गरिरहेका छन् । 

उक्त पक्षले प्रचण्डविरुद्ध उम्मेदवारी दिने घोषणा गरिसकेको छ । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोकेर प्रचण्डले चितवन ३ मा चुनाव लड्ने संकेत गरेको छ । 

बागमती प्रदेश क्षेत्रका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीहरुको बैठकमा केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरेको हो । दुई महिना चुनावी मैदानमा खटिने गरी सबै केन्द्रीय सदस्यलाई प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्र तोकेर जिम्मेवारी दिइएको छ । 

बागमती प्रदेशका १३ जिल्लाका प्रतिनिधि सभा क्षेत्रमध्ये माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र चितवन–३ को जिम्मा रेणु दाहालले पाएकी छिन् । भरतपुर महानगरकी मेयरसमेत रहेकी रेणु नेकपा माओवादी केन्द्र चितवनकी इन्चार्जसमेत हुन् ।

प्रचण्ड किन फड्किँदैछन् ? 
प्रचण्डले २०६४ सालको संविधान सभादेखि अहिलेसम्म निर्वाचन क्षेत्र फेर्दै आएका छन् । अहिले पनि उनी ठाउँ फेर्ने मनस्थितिमा छन् । उनले चितवन छाडेर रोल्पा, रुकुम वा सिराहा जान सक्ने सम्भावना पनि देखिँदैछ । 

उनी जहाँ जान्छन् टुरिष्ट सांसदका रुपमा देखिएका छन् । जसका कारण उनले उक्त क्षेत्रको विकास गरिरहेका हुँदैनन् । २०६४ सालमा काठमाडौं १० र रोल्पा २ बाट निर्वाचित भएका प्रचण्ड २०७० मा काठमाडौंमा पराजित हुँदा सिराहाबाट विजयी भएका थिए । 

२०७४ सालमा उनी चितवन ३ बाट निर्वाचित भए । अब चितवन ३ लाई पनि बिदा गर्ने क्रममा रहेको बुझिन्छ । तर उनी निकटकाहरु प्रचण्डको त्यति भर नहुने भन्दै चितवनको विकल्प खोज्न थालेको समेत सुनाउँछन् । 

त्यसो भएको खण्डमा उनी रोल्पा, रुकुम वा सिराहामध्ये एक ठाउँबाट चुनाव लड्न सक्ने देखिएको छ । तर उनले चितवन छाड्ने अधार पनि कसैलाई दिएका छैनन् । उनी निकटकाहरु चितवन ३ को अनुसन्धान भइरहेको बताउँछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ