arrow

नागरिकता विधेयकमा राष्ट्रपति भण्डारीको चासो कायमै, प्रचण्डसहितको माओवादीको टिमसँग छलफल 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १५ बुधबार
sheetal_niwas.jpeg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका नेताहरुसँग छलफल गरेकी छिन् । अपराह्न राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति भण्डारीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको माओवादीको टिमलाई भेटेर छलफल गरेकी हुन् । 

भेटमा राष्ट्रपतिले प्रचण्डसँग नागरिकता विधेयकबारे चासो राखेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् । ‘वैवाहिक अंगीकृत नागरिकताको बारेमा राष्ट्रपतिज्यूले राख्नु भएको चासो र हाम्रो धारणा समान छ । तर संसदमा यो विषयमा राष्ट्रिय सहमति बन्न सकेन त्यसकारण यो विषयमा विधेयकमा कुनै नयाँ व्यवस्था गरिएको छैन । यसबारे हाम्रो धारणा संसदमा रेकर्ड गराएका छौं’, अध्यक्ष प्रचण्डले राष्ट्रपतिसँग भने ।  

प्रचण्डले अगाडि भने, ‘सरकारले पनि यसबारे राष्ट्रिय सहमति बनाएर विधेयक ल्याउने प्रतिबद्धता जनाएको छ। तत्काल जन्मसिद्ध नागरिकका सन्ततिहरु राज्यविहीन बन्ने अवस्था अन्त्य गर्नका लागि यो विधेयक ल्याइएको हो । र, यो विधेयक ओलीजीले पेश गरी राष्ट्रपति (तपाई)द्वारा प्रमाणीकरण गरिएको अध्यादेशको व्यवस्था अनुसार रहेको छ। यसलाई अनावश्यक राजनीतिकरण गरिनु दुःखद छ।’

राष्ट्रपति भण्डारीले संसदका दुवै सदनबाट पारित भएको नागरिकता विधेयक फिर्ता पठाएकी थिइन् । उनले विधेयकमा भएका विषय भन्दा बाहिरका विषयमा सुझावसमेत दिएकी थिइन् । तर प्रतिनिधि सभाले दोस्रो पटक पनि कुनै संशोधन नगरी विधेयक पारित गरेको छ । 

राष्ट्रिय सभाले पहिलो पटक कुनै संशोधन नगरे पनि दोस्रो पटक भने विधायन समितिमा लगेर छलफल गराएको छ । गत आइतबार विधायन समितिमा छलफल गर्ने भनिएपछि सोमबार छलफल भएको थियो । 

राष्ट्रिय सभाको बैठक अब बिहीबार बस्दैछ । राष्ट्रपति भण्डारीले भने दोस्रो पटक पारित भएर प्रमाणीकरणका लागि आउँदै गरेको नागरिकता विधेयक रोक्न खोजेकी छिन् । तर नसक्ने भएपछि उनीसँग दुईवटा विकल्प छन् । एउटा उनले राजीनामा दिने र अर्को आएको विधेयकलाई चुपचाप निरीह बनेर प्रमाणीकरण गर्ने । 

उनले चुपचाप नबस्ने भन्दै आफू निकटका सबैसँग छलफल गरेकी छिन् । पूर्व सेनाका अधिकृतहरुले उक्साएपछि उनी पछाडि नहट्ने मनस्थितिमा पुगिन् । उनको ब्याकअप एमाले हो । एमालेले शुरुआतमा राजीनामा दिएर चुनावी मुद्दा बनाउन भनेको भए पनि पछि भने राजीनामा नदिन सुझाएको बताइन्छ । 

त्यसपछि भने राष्ट्रपति भण्डारीले एमाले र नेपाली कांग्रेससँगै जसपा र लोसपासँग छलफल गरेकी थिइन् । उनले आफ्नो मर्यादामाथि आँच नआउने गरी सुरक्षित अवतरण खोजेको देखिन्छ । 

तर उनले माओवादी र नेकपा एसलाई भने छलफलमा बोलाएकी थिइनन् । बुधबार अपरान्हमात्र उनले माओवादीलाई बोलएकी हुन् । 

यो छलफलमा प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रष्ठ तथा उपमहासचिवद्धय जनार्दन शर्मा र वर्षमान पुन लगायतका नेताहरु सहभागी थिए । 

राष्ट्रपति सत्ताधारी गठबन्धनका नेकपा एस र राष्ट्रिय जनमोर्चालाई भने बैठकमा बोलाएकी छैनिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ