arrow

महिमा इन्द्रजात्राको 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २५ शनिबार
indra-jatra-final-2079.jpg

काठमाडौं । राजधानी काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा परम्परागत सांस्कृतिक पर्वको निरन्तरता मात्र नभई आपसी सद्भाव र भाइचारा अभिवृद्धिको उपयुक्त माध्यम पनि हो । विशेष गरी काठमाडौंका नेवार समुदायले महान्पर्वका रुपमा धुमधामसँग मनाइने इन्द्रजात्रा नेवारी समुदायमा मात्र सीमित नभई राष्ट्रिय पर्वका रुपमा स्थापित भएको जानकारहरु बताउँछन् । 
    
इन्द्रजात्रा परम्परागत सांस्कृतिक पर्वको निरन्तरताका साथै सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने महत्वपूर्ण आधार रहेको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताए । “इन्द्र जात्राको धार्मिक, ऐतिहासिक सम्बन्ध रहेको छ, यो जात्राको खेतीसँग पनि सम्बन्ध छ, ऐतिहासिकरुपमा भन्नुपर्दा आजैका दिन पृथ्वीनारायण शाहले काठमाडौँ विजय हासिल गर्नुभएको, मल्लराजाले आफ्नो शासनकाल गुमाएको दुई परिघटनाको संयोग रहेको छ ।”
    
राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका निम्ति पनि इन्द्रजात्रा पर्वको महत्व फराकिलो बनेको छ । मुलुकको संस्कृतिको जगेर्नाका साथै विदेशी नागरिकलाई आकर्षण गर्ने कार्यक्रमका रुपमा पनि पहिचान थपिएको छ । वसन्तपुर दरबार क्षेत्रका पुरातात्विक महत्वका सम्पदा, विभिन्न देवीदेवताको मठमन्दिर, जात्रा, पर्व आदिले काठमाडौँको संस्कृति र सभ्यतालाई संसारभर चिनाएको छ । यसैका माध्यमबाट नेपालको पहिचान विश्वभर फैलिएको छ ।
    
महानगर प्रमुख महर्जनले वर्षा र सहकालका देवताका रुपमा मानिने ललितपुरको प्रसिद्ध मच्छिन्द्रनाथको जात्रा र काठमाडौँको सेतो मच्छिन्द्रनाथको जात्रा दुई सहरको महत्व र सम्बन्धलाई जोड्ने महत्वपूर्ण पर्व भएको र यसले दुई सहरको मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाएको धारणा राखे ।  

उनले मच्छिन्द्रनाथको जात्रा ललितपुरको मात्र नभई उपत्यका र समग्र देशभरकै महत्वपूर्ण पर्व भएको पनि बताए । जात्राका क्रममा विभिन्न देवीदेवताको गण, पुलुकिसी (ऐरावत हात्ती), सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा, ख्याक आदिले पनि तिनै देवदेवताको रथसँगै शुक्रबार सहर परिक्रमा गरेका छन् ।
    
भाद्र शुक्ल चतुर्दशीका दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा अवलोकनमा देशका विशिष्ठ व्यक्ति, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि लगायतको उपस्थिति रहन्छ । जात्रा अवलोकनका लागि हरेक वर्ष बसन्तपुर दरबार क्षेत्रमा ठूलो सङ्ख्यामा स्थानीयवासी र सर्वसाधारणको घुइँचो लाग्ने गर्छ । स्वदेशी मात्र हैन विदेशी पर्यटकसमेत जात्राको उत्सुकतापूर्व अवलोकन गर्ने गर्छन् ।
    
पाख्रिबास नगरपालिका धनकुटाका प्रमुख ज्ञानबहादुर गुरुङले इन्द्रजात्रा राष्ट्रिय पर्वमात्र नभएर अन्तर्राष्ट्रिय पर्वका रुपमा मान्ने अवस्था सिर्जना भएको बताए ।  उनले देशको सांस्कृतिक सम्पदाको संरक्षण प्रवद्र्धनका साथै विदेशी पर्यटक आकर्षण गर्न यसबाट महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । 

“देशमा मात्र हैन विदेशमा पनि यो पर्वलाई महत्वका साथ लिने गरिएको छ । यसले परम्परागत संस्कृतिको जगेर्ना गर्दै विदेशी पर्यटकलाई आकर्षण गर्न महत्वपूर्ण भूमिका खेलेको छ”, नगरप्रमुख गुरुङले भने ।
    
जात्राका अवसरमा महानगरले छवटै महानगर र भगिनी सम्बन्ध भएका सातवटा नगरप्रमुख एवं प्रतिनिधिलाई बोलाएर सम्पदा यात्रा र पुरातात्विक महत्वका सम्पदाको भ्रमण गराउने गरेको छ ।
    
काठमाडौं महानगरपालिका वडा नं १५ का अध्यक्ष ईश्वरमान डङ्गोलले इन्द्र जात्रा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण माध्यम बनेको बताए । जात्राका अवसरमा महानगरले भगिनी सम्बन्ध भएको भारत, चीन, जापान, अमेरिकालगायत मुलुकका प्रतिनिधिलाई बोलाउने गरेको र यो पटक पनि केही मुलुकबाट जात्रा अवलोकनका लागि पाहुना आएको जानकारी दिए । 

जात्राको अवलोकनका लागि स्वतःस्फूर्त रुपमा उल्लेख्य सङ्ख्यामा सर्वसाधारण उपस्थित हुने गरेको उनले जानकारी दिए । कोभिड–१९ महामारीका कारण इन्द्रजात्रा उत्सवका रुपमा मनाउन नपाइए पनि विधिपूर्वक मनाइएको थियो । यो वर्ष भने भब्यरुपमा जात्रा मनाइएको छ ।
    
काठमाडौं महानगरपालिकाको सम्पदा विभागका उपनिर्देशक श्रीजु प्रधानले काठमाडौंका नेवारी समुदायको महत्वपूर्ण चाड इन्द्रजात्रा भएको र यो पर्व देश तथा विदेशमा पनि मनाइने गरेको बताए । 
    
किंवदन्तीअनुसार स्वर्गबाट इन्द्रको आमाले पारिजातको फूल खोज्न पठाएको र फूल भेटिएपछि कान्तिपुर नगरीको एक किसानको घरमा आश्रय लिएर बसेको व्यक्ति चोर भनेर किसानले समातेर सात दिनसम्म बाँधेर राखेका थिए । इन्द्रको आमा छोरो हरायो भनेर खोज्दै जादा वसन्तपुर क्षेत्रमा भेटिएपछि इन्द्रकी आमाले मेरो छोरालाई छाडिदेउ त्यसबापत के चाहन्छौँ म वरदान दिन्छु भनेपछि आजैको दिनलाई इन्द्र जात्राका रुपमा मनाइन्छ । 

इन्द्रजात्रा नेवारी समुदायको महत्वपूर्ण चाड मानिन्छ । आफन्त विशेषगरी छोरी ज्वाइँलाई बोलाएर विभिन्न परिकार भोजन गराउने चलन रहेको छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आरधना गरी मनाइने परम्परागत इन्द्रजात्रा काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा पनि मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ ।
    
यसरी लिङ्गो ठड्याइने प्रक्रियालाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोका फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्व ।

_58W7705.JPG
_58W7778.JPG
_58W7843.JPG
_58W7891.JPG
_58W7953.JPG
_A7R9206.JPG
_A7R9267.JPG
_A7R9320.JPG
_A7R9423.JPG
_A7R9451.JPG
_A7R9590.JPG
_A7R9646.JPG
_A7R9667.JPG
_A7R9678.JPG
_A7R9693.JPG
_A7R9774.JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ