arrow

समान अवसर र न्यायका लागि शेखर कोइराला समूहको खवरदारी सभा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ७ शुक्रबार
nepali-congress-flag-tree00.jpg

काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ । शुक्रबार दिउँसो स्वयंभूमा बसेको भेलाले शनिबार दिउँसो १ बजे बानेश्वर ब्यांकेटमा खवरदारी सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त भेलामा शेखर कोइराला पक्षका केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु, केन्द्रीय सदस्यहरु, केन्द्रीय सदस्यका उम्मेदवारहरु, जिल्ला सभापतिहरु, प्रदेश सभापतिहरु, भ्रातृ संस्थाका प्रतिनिधिहरुसहित, काठमाडौंमा रहेका टिकटका आकांक्षीहरु उपस्थित रहेका थिए । 

भेलाले पार्टीभित्रको लोकतान्त्रिक पद्धतिलाई अंगाल्नका लागि नेतृत्वलाई दबाब दिने निर्णय गरेको छ । सहभागी एक नेताले भने, ‘पार्टीभित्र समान अवसर र न्यायका लागि हामीले शनिबार खवरदारी सभा गर्दैछौं । पार्टीभित्र समान अवसर सिर्जना हुनुपर्ने, सबैले न्यायको अनुभूति गर्नुपर्ने र पार्टीभित्रकै ४० प्रतिशत हिस्सेदार समूहलाई बाइपास गर्दै गएकाले खवरदारी सभा गर्नु जरुरी देखियो ।’

उनले भने, ‘सत्ता गठबन्धनमा दलहरुले प्रतिशत खोज्ने तर पार्टीभित्रै ४० प्रतिशतको हिस्सेदारलाई बाइपास गरेर अगाडि बढ्नु न्यायको खिलाफ हो भन्ने ठानेर नेतृत्वलाई गल्ती महसुस गरी क्रियाकलाप सच्याउन आग्रह गर्दै दबाबका लागि खवरदारी सभा गर्न लागिएको हो ।’

पार्टीभित्रको एक पक्षलाई बाइपास गर्दा समग्रमा गठबन्धनमै पनि कांग्रेसलाई घाटा हुने उनीहरुको विश्लेषण छ । कोइराला समूहले यसलाई गम्भीरतापूर्वक लिने र त्यही अनुसारको दबाब दिन खवरदारी कार्यक्रम गर्न लागेको हो । 

केही दिनदेखि पार्टीका कतिपय नेताहरुले अस्वभाविक महसुस गरिरहेका छन् । नेतृत्वले एकलौटी निर्णय गरिरहँदा केबल साक्षीमात्र बस्न गएजस्तो अनुभूति कोइराला पक्षका नेताहरुले गर्दै आएका छन् । 

सोही कारण महामन्त्री गगनकुमार थापा लगायतका नेताहरु पार्टी सँगसँगै गठबन्धनको बैठकमा सहभागी भएका छैनन् । अर्का एक सहभागी नेताले भने, ‘यस्तै स्थिति रहेर पेलेर जाने हो भने माथि शेखर कोइरालादेखि तल अन्तिम तहसम्मका नेताहरुको उम्मेदवारी नपर्ने अवस्था सिर्जना हुन सक्ने पनि हुने भएकाले नेतृत्वलाई गम्भीर हुन आग्रह गरेका हौं ।’

‘एकलौटी गर्ने, न्याय नगर्ने, असमान व्यवहार गरिरहने र लगातार पेलिरहने हो भने देशैभर विद्रोह हुन सक्ने स्थितिलाई नेतृत्वले गम्भीर रुपमा नलिए कांग्रेसको अवस्था देशैभर बिग्रने निश्चित जस्तै छ’, उनले भने, ‘हिजो मात्रै पनि बागमती प्रदेशभित्र रहेका विभिन्न कमिटीका पदाधिकारीहरुले आफ्ना माग पूरा गर्न दबाब दिएका थिए । यसलाई नै मध्यनजर गरेरै शनिबारको भेलामार्फत खवरदारी गर्न लागिएको हो । नेतृत्वले यसलाई गम्भीरपूर्वक लेओस् भन्ने हो ।’

देउवाले पेलेपछि शेखर कोइराला समूह रणनीति बनाउँदै 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ