arrow

पुरातन शैलीबाट उग्रतारा मन्दिरको पुनर्निर्माण गरिने

logo
राम धामी,
प्रकाशित २०७९ असोज ९ आइतबार
ugratara-mandir-dadeldhura.jpeg

डडेल्धुरा । सुदूरपश्चिमकै प्रसिद्ध शक्तिपीठका रुपमा रहेको विश्व सम्पदा सूचीमा सूचीकृत उग्रतारा मन्दिरको पुरातन शैलीमा पुनर्निर्माण गरिने भएको छ । हाल सिमेन्टजन्य सामग्रीबाट निर्माण भएको उग्रतारा मन्दिरलाई विश्व सम्पदा सूचीबाट हटाइएपछि पुरातत्व विभागले सिमेन्टजन्य सबै सामग्री हटाइ दिगो काठ तथा बलियो ढुंगा प्रयोग गरेर पुरानै स्वरुपमा पुनर्निर्माण गर्न थालेको हो । 

उग्रतारा मन्दिरलाई आकर्षक रुपले पुरातन शैलीमा चालु आर्थिक वर्षमै पुनर्निर्माणको काम सम्पन्न गर्न पुरातत्व विभागले काम अघि बढाएको छ । उग्रतारा मन्दिर पुनर्निर्माण परियोजना प्रमुख हरिप्रसाद भुषालले चालु आर्थिक वर्षभित्रै पुनर्निर्माणको काम सम्पन्न गरिने जानकारी दिए । 

उनले जिल्लास्थित सबै सरोकारवालाहरुसँग समन्वय बैठकको आयोजना गरेर उग्रतारा मन्दिरको पुनर्निर्माण कार्य थालनीका लागि सुझाव माग गरिएको बताए । उग्रतारा मन्दिरको पुनर्निर्माण र पुरातन शैलीका संरचना निर्माण गर्न पुरातत्व विभागबाट विनियोजित रकम कार्यान्वयनका लागि सर्वपक्षीय सहमति भइसकेको र अविलम्व पुनर्निर्माणको प्रकृया थालनी हुने उग्रतारा क्षेत्र विकास समिति डडेल्धुराका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिए । 

उग्रतारा मन्दिरको सांस्कृतिक, ऐतिहासिक, परम्परागत र पुरातन शैलीमा पूजाअर्चना गर्ने परम्परा र स्थानीयको आस्था र भावनालाई यथोचित रुपमा सम्बोधन गर्दै आकृति प्रकृतिलाई यथावत राखेर स्थानीय श्रोत साधनको प्रयोगमा प्राथमिकता दिँदै मन्दिरको बाहिरी भागको सबै संरचना परिवर्तन गर्ने निर्णय सर्वपक्षीय भेलाबाट भइसकेको साँकीले बताए ।

निर्माण क्रममा निर्माणकर्ता पुरातत्व विभाग र निर्माण व्यवसायीलाई मन्दिरको आवश्यकता र परम्परानुसार संरचना निर्माण गर्न सहजीकरण तथा सहयोग र कार्यान्वयनका अबधिमा नाप नक्सा, लागत इष्टिमेट बमोजिम काम भए नभएको जस्ता निर्माण कार्यका बिबिध पक्षमा अनुगमन तथा नियमन गर्न स्थानीय पुष्पराज भट्टको संयोजकत्वमा १५ सदस्यीय अनुगमन समिति पनि गठन गरिएको छ ।

उग्रतारा मन्दिर स्थानीय बासिन्दाको मात्र सरोकारको विषय नभई राष्ट्रिय एवं धार्मिक सम्पदा भएको र लाखौं भक्तजन दर्शनार्थीको आस्थाको केन्द्र भएको मन्दिर पुनर्निर्माण कार्यलाई क्रमागत रुपमा काम अघि बढाएर पुरातात्विक मापदण्डमा निर्माण गर्दै धार्मिक पर्यटनको आकषक गन्तव्यका रुपमा विकसित तल्याइने उग्रतारा मन्दिर पुनर्निर्माण परियोजनाले जनाएको छ । पुनर्निर्माण कार्य सम्पन्न गरेर विश्व सम्पदा सूचीमा पुनः सूचीकृत गराउन आवश्यक पहल गरिने परियोजना प्रमुख भुषाले जानकारी दिए ।

 उग्रतारा मन्दिर पुनर्निर्माणका लागि पुरातत्व विभागबाट विनियोजित रकम रु. एक करोड बासठ्ठी लाख अन्र्तगत नापनक्सा लागत इष्टिमेट तयार गरेर चालु आर्थिक वर्ष २०७९–०८० भित्रै पुनर्निर्माण कार्य सम्पन्न गर्न यथाशिघ्र टेण्डर प्रकृया थालनी गरिने विभागका प्रतिनिधि तथा परियोजना प्रमुख  भुषालले जानकारी दिए । 

उग्रताराको प्राचीन मन्दिरको ठाउँमा केही वर्ष पहिले हालको मन्दिर निर्माण गरिएको थियो । भक्तजनहरुको आर्थिक सहयोगमा निर्माण भएको उग्रतारा मन्दिर पुरातत्व विभागको परामर्श बिना निर्माण गरिएकाले विश्व सम्पदा सूचीबाट हटाइएको पुरातत्व विभागले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ