- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । डाइटेसियन सुनिता ढुङ्गानाले चाडबाडमा लापरबाही नगरी खानामा सचेतना अपनाउन आग्रह गरेकी छिन् । चाडबाडमा बेलामा अधिक मासुका परिकारहरु खाने गरिएको भन्दै त्यसमा नियन्त्रण गरी जति शरीरले लिनु पर्ने हो त्यतिमात्रै खान पनि उनले आग्रह गरेकी छिन् ।
चाडबाडमा नखाए कहिले खाने त भन्ने मानसिकता नेपालीहरुमा रहेको भन्दै उनले यसो गर्दा शरीरको प्रणाली पनि झुक्किने भएकाले कहिले धेरै खाने र कहिले कम खाने नगर्न आग्रह गरेकी हुन् ।
सन्तुलित भोजन खाँदा बिरामी नभइने भन्दै डाइटेसियन ढुङ्गानाले चाडपर्वलाई खुशीसाथ मनाउन पनि आग्रह गरेकी छिन् । उनीसँग हाम्राकुराले खानपिनका बारेमा गरेको छोटो कुराकानी–
दशैंका बेलाको खानाबारे बताइदिनुस् न ?
दशैंका बेलामा हाम्रो खानामा मासुकै परिकार बढी हुन्छ । त्यसका साथसाथै गुलियो चिजहरु । कतिपयले त मोडर्न भएर ड्रिङ्स गर्ने चलन पनि धेरै देखिएको छ । चाडपर्व लागेपछि त्यस्तो चलन देखिएको छ । तर हामीले हाम्रो शरीरलाई चाहिने मात्रामा खाने हो । क्यालोरीकै कुरा गर्छौं हामीले । मासु अलिकतिमात्र धेरै खायो भने क्यालोरी बढी हुन जान्छ । मासु सँगसँगै हामीले खाना खान्छौं । च्यूरा खान्छौं । त्यसले अझ बढी क्यालोरी थपिइरहेको हुन्छ । जसले गर्दा तुरुन्तै असर त देखिँदैन तर त्यसको केही समयपछि ग्लुकोज बढी हुने, कसैको टीजी बढी हुने जस्तो समस्या धेरै नै देखिन्छ । अनि त्यसैगरी कतिपयको बानी के हुन्छ भन्दा दशैंको बेलामा मासु मात्रै खाने हो भन्ने हुन्छ । मासुमा कत्ति पनि फाइबर हुँदैन । चिल्लो बढी हुन्छ । त्यसमाथि हामीले मासुका विभिन्न परिकार बनाएर खान्छौं । त्यसले गर्दा हामीलाई ग्यास्ट्रिक बढ्ने हुन्छ । कसैलाई कब्जियत हुन सक्छ ।
यसलाई कसरी कम गर्ने ?
हामीले मासु पनि खाने तर कम मात्रामा खाने गर्नुपर्छ । सँगसँगै सलादहरु पनि खाने । जसले गर्दा मासुलाई पचाउन र कब्जियतबाट बचाउनका लागि मद्दत गर्छ । सलादको रुपमा हामीले कांक्रो, मुला, गाजर खाएपछि हामीहरुले खाएको मासुलाई पचाउन पनि मद्धत गर्ने तथा फाइबरको पनि काम गर्छ । अनि कब्जियत हुन पाउँदैन । कतिपयको बानी कस्तो हुन्छ भन्दा रोग लागेपछिमात्र परीक्षण गर्ने बानी हुन्छ । तर कतिपय रोगहरु ‘साइलेन्ट किलर’ का रुपमा रहेका हुन्छन् । जस्तो कि मधुमेह (डायबिटिज), रक्तचाप (प्रेसर) भइरहेको हुन्छ । चाडपर्वका बेलामा त झन् ब्यायामहरु पनि गरिँदैन । खाने काममात्र भइरहेको हुन्छ । कतिपयले त बसेर तास खेल्ने र खानेमात्र पनि गरिरहेको पाइन्छ । जसले गर्दा कतिपयको ग्लुकोज थ्री डाइबिटिज स्टेजमा भएको रहेछ भने अभ्यास पनि नहुँदा पछि डाइबिटिजको समस्या लिएर आउनेहरु धेरै हुन्छन् । खाना पचाउन नसकेर ‘इरिटेबल बल सिन्ड्रोम’ भएकाहरु पनि हुन्छन् । उनीहरु पछि अस्पतालमै भर्ना गर्नुपर्ने स्थितिको पनि हुन सक्छन् । त्यसो भएकाले खाँदा नियन्त्रण गरेर खानुपर्यो । त्यस्तै अलिकति चिल्लो कम गरेर खानुपर्यो । अहिले त चिल्लो कम गर्नका लागि विभिन्न प्रविधिहरु अपनाइन्छ । त्यसले मासुमा भएको चिल्लोलाईसमेत झारेको हुन्छ । त्यसरी गरेर खाँदा मासुको ‘टिपिकल टेष्ट’ आउँछ । हामीले मसला राखेर मासुको स्वादलाई घटाइरहेका हुन्छौं ं। त्यसले ग्यास्ट्रिक हुने समस्या आउन सक्छ । त्यसैले मासु पकाउँदाखेरी पनि मसला कम, चिल्लो कम गरेर पकाउने गर्नुपर्छ । अनि त्यसपछि थोरै थोरै मात्रामा दिनको दुईचोटी खाने र खाँदा सँगसँगै सलादहरु पनि खानुपर्छ । अर्को भनेको दही खानुपर्छ । दहीले पनि पाचन प्रणालीमा निकै मद्धत पुर्याउँछ । मासु खाएको दुई तीन घण्टापछि दही पनि खाने गर्यो भने हाम्रो शरीरको प्रोबायोटिकलाई मद्दतकारी हुन्छ ।
एउटै मासु लामो समयसम्म पकाउँदै खाँदै गर्ने चलन पनि हुन्छ नि ?
मासु झिक्दै राख्दै गर्दा त्यसको तापक्रम सन्तुलित हुँदैन । ब्याक्टेरियाहरु हुन सक्छ । फंगस पनि हुन सक्छ । मासु भन्ने चिज एकदमै संवेदनशील हो । यसलाई कोल्ड स्टोरेजमा राख्नुपर्ने हुन्छ । अनि पटक पटक झिक्दै तताउँदै गर्ने बानी धेरैको हुन्छ । त्यसैले हामीले दिने सल्लाह भनेको मासुलाई नपकाइकन डी–फ्रिजमा राख्ने तापक्रम मेन्टेन गरेर र त्यसपछि थोरै थोरै गरेर जति पकाउने हो त्यति नै प्याकेट प्याकेटमा छुट्टाएर राख्ने र बल्ल पकाउने गर्नुपर्छ । पकाएर राख्ने अनि फेरि तताउने गर्दाखेरी ‘फुड कन्टामिनेटसन’ हुन सक्छ । यसले ‘फुड पोइजनिङ’ हुन सक्छ । जसका कारण धेरैलाई डाइरिया (पखाला) हुने, भोमिट हुन सक्छ । त्यो पनि गलत अभ्यास हो । यसलाई नियन्त्रण गर्न सकेसम्म हामीले ताजा मासु नै ल्याएर खाऔं ।
साकाहारीका पनि समस्या छन् नि ?
साकाहारीको पनि त्यही नै कुरा हो । जस्तो हामीले भेजेटेरियनले मासु खाएको छैन क्यार भनिराखेका हुन्छौं तर गुलियो चिजहरु बढी खाइराखेका हुन्छौं । कतिपय अनुसन्धानले भेजेटेरियनलाई पनि ‘ओभर वेट’ (तौल बढी) भएको देखिएको हुन्छ । अतिरिक्त गुलियो चिज पछि बोसोको रुपमै जम्मा भएको हुन्छ । हामीले खाएको खानेकुरा अन्तिममा जम्मा हुने भनेको बोसोकै रुपमा हो । मासु र तेलमात्र बोसोको रुपमा जम्मा हुन्छ भन्ने सोच छ । तर त्योे होइन । हामीले जति पनि खानेकुरा खान्छौं (भात, रोटी) त्यसलाई शरीरले चाहिने जति लिन्छ र नचाहिने जतिलाई स्टोर गरेर बोसोको रुपमा राखेको हुन्छ । तसर्थ भेजेटेरियनहरुले पनि नियन्त्रण गर्नुपर्यो । सकेसम्म हामीले रिफाइनवाला मिठाइहरु नखाऔं । त्यसको विकल्पमा दूधबाट बनेको मिठाइ छ भने त्यसलाई प्रयोग गर्ने गरौं । जस्तो कि लालमोहन भन्दा रसवरी खाने गर्नुपर्छ । हामीले मिठाइ पनि छनोट गर्न सक्यौं भने केही हदसम्म फाइदाजनक हुन्छ । त्यसैगरी पनीर पनि हामीले डिप फ्राइ गरेर खाने गर्छौं । त्यो भन्दा हल्का बोइल गरेर पछि थोरै तेल राखेर फ्राइ गरेर खाँदा भयो । पनीरमा पनि फाइबर हुँदैन । त्यसैले पनीर सँगसँगै सलाद खानुपर्यो । सलादले हामीले खाएको चिल्लोलाई सोस्न गर्न मद्धत गर्छ । सुगर बढी भएकोलाई पनि ‘एब्जर्भ’ गर्न मद्धत गर्छ । तसर्थ भेजेटेरियनले पनि खानाको मात्रालाई हेरेर खानुपर्यो । अभ्यास पनि गरे राम्रो हुन्छ । खाँदाखेरी ‘माइन्डफुल इटिङ’ अर्थात् त्यो खाँदा हामीलाई कत्तिको असर गर्छ भनेर विचार गरेर खानुपर्छ । माइन्डफुल इटिङ अर्थात् के खाइरहेका छौ ? यसले कस्तो असर गर्छ ? भन्ने थाहा पाएर खाँदा राम्रो हुन्छ ।
दशैंमा नखाए कहिले खाने भन्ने चलन पनि छ नि खाने बहाना खोज्नलाई ?
हामीले सामान्यतया एक कचौरा मासु खाने गर्छौं भने दशैं हो भनेर डेढ कचौरासम्म खान सकिन्छ । त्यो भन्दा बढी खानु भएन । पनीर पनि हामीले एक कचौरासम्म खान सक्यौं । जस्तो सय ग्राम भनिएको हुन्छ । यो दिनभरिको कुरा हो । मेरो सल्लाह चाहिँ के छ भने दशैं हो भनेर आफ्नो स्वास्थ्यलाई लापरबाही गर्न भएन । रोगले त दशैं तिहार भन्दैन । जतिबेला पनि हुन सक्छ । बेलैमा सचेत भइएन भने ‘कम्प्लिकेसन’ आएर सानै उमेरबाटै हामी रोगले ग्रसित हुन सक्छौं । त्यसमा विचार गर्नुपर्यो कि अहिले खाउँ बिरामी भए औषधि खाऔंला नभनौं । कतिसम्म भेटिन्छ भने अरुबेला डाइटिङ गर्ने तर दशैंका बेलामा टन्न खाने चलन पनि छ । त्यसो भयो भने त हाम्रो शरीरको प्रणाली नै झुक्किन सक्छ । पाचन प्रणाली झुक्किन्छ । मेटाबोलिज्म कम हुन सक्छ । कहिले धेरै खाने र कहिले खाँदै नखाने गर्नुहुँदैन । हामीले सन्तुलित भएर सधै बराबर खानु पर्छ । (डाइटेसियन ढुङ्गाना डाँफे केयर तथा फ्रन्टलाइन अस्पतालमा कार्यरत छिन्)