arrow

वामदेव गौतम रिंग आउट, प्रचण्डले दिए धोका 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २४ सोमबार
prachanda-bamdev.jpg
तस्बिर – फाइल ।

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामदेव गौतमलाई धोका दिएका छन् । नेपालका वामपन्थीहरुलाई एक ठाउँमा ल्याउने अभियानमा जुटेका गौतमलाई माओवादी अध्यक्ष प्रचण्डले संघीय संसदको टिकट दिने सम्झौता गरेको भए पनि कांग्रेस र जनमोर्चाले गौतमले दाबी गरेका क्षेत्रमा सिट छाड्न नमानेपछि प्रचण्डले गौतमलाई समावेश गर्न पाएका थिएनन् । 

प्रचण्डले कुनै पनि हालतमा गौतमलाई उम्मेदवार बनाउने वचन दिएका थिए । तर त्यो संभावना कमजोर बनेपछि प्रचण्डले गौतमको फोन नै रिसिभ गरेका थिएनन् । गौतमले मनोनयन दर्ताको अघिल्लो रातिसमेत प्रचण्डलाई फोन गरेको र भेट गर्ने कोसिस गरेको भए पनि प्रचण्डले फोन नउठाएपछि गौतमको चुनाव लड्ने सपना चकनाचुर भएको थियो ।

 ‘पहिलो पल्ट गौतम परिवार राजनीति बाहिर रहेको छ । श्रीमती, छोरा र छोरी कसैले पनि कहीँबाट प्रत्यक्ष राजनीतिमा सहभागी भएको देखिएन । यसले गर्दा गौतम इतिहासमा सबैभन्दा कमजोर पात्रको रुपमा दरिए’, गौतम निकट एक नेताले भने । 

वामपन्थी आन्दोलनबाट गौतम पहिलो पटक रिंग आउट भएका छन् । उनको ५५ वर्षको वामपन्थी राजनीतिक गतिविधिलाई यस वर्षको संघीय संसदको निर्वाचनबाट रिंग आउट गरिएको हो । अस्थिर स्वाभावका गौतमले शुरुमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथमा लिएर आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न खोजेका थिए । 

तर २०७५ सालपछि एमाले र माओवादी मिलेर नेकपा बनेपछि प्रचण्डको साथमा लागेर आफूलाई सक्रिय बनाउन खोजे । तर यी दुवै प्रयास गौतमका लागि प्रतिकुल भए । गत जेठ ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गौतमले एमालेबाट विभाजित भएको नेकपा एसलाई सहयोग गरेका थिए । 

त्यस लगत्तै गौतमले प्रचण्डसँगको भेटघाटमा आफू संघीय संसदको सांसद हुन चाहेको र त्यसका लागि सहयोग गर्नुपर्ने बताएका थिए । प्रचण्डले पनि गौतमसँग हात मिलाउँदै संघीय संसदको निर्वाचनमा उम्मेदवार बनाउने वचन दिएका थिए । 

तर उनले चाहेको प्यूठान र बर्दियामा भने सत्ता गठबन्धन दलका नेताहरुले गौतमलाई सिट नछाडेपछि प्रचण्डलाई सकस परेको थियो । प्यूठानमा सत्ता गठबन्धनबाट जनमोर्चाकी दुर्गा सुवेदीले उम्मेदवारी दिएकी छिन् भने बर्दियामा कांग्रेसका सञ्जय गौतमले उम्मेदवारी दिएका छन् ।

सञ्जयले नै यसअघि गौतमलाई हराएका थिए । यसपल्ट पनि सञ्जयले सिट नछाडेपछि गौतमका लागि कुनै क्षेत्र खाली गर्न अप्ठेरो भएको र जनधार पनि नभएका कारण गौतमलाई साथ लिन गाह्रो भएको नेकपा माओवादीका नेताहरुले जनाएका छन् । 

गौतम अहिले पनि राष्ट्रिय सभाको सांसद छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ