arrow

दाङ एयरपोर्टलाई नेपालकै ‘ए’ लेभलको बनाउँछु : दीपक गिरी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २६ बुधबार
deepak-giri.JPG

तुलसीपुर। दाङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका नेपाली कांग्रेसका  उम्मेदवार दीपक गिरीले आफू र गठबन्धन दलहरूलाई विजयी बनाए तुलसीपुरको टरिगाउँस्थित दाङ एयरपोर्टलाई नेपालकै ‘ए’ लेभलको डोमेष्टिक एयरपोर्टका रूपमा विकास गरिने बताएका छन् ।

तुलसीपुरमा नेपाली कांग्रेसले आयोजना गरेको पार्टीकै नेता कार्यकर्तासँग सुझाव सङ्कलन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री समेत रहेका गिरीले आफूहरू विजयी भएपछि पहिलो प्राथमिकतामा राखेर एयरपोर्ट विस्तार र विकासको काम गर्ने बाचा गरेका हुन् ।

विगतमा आफू मन्त्री हुँदा जीवनबहादुर शाही पर्यटन मन्त्री रहेको समयमा करिब ४ करोड रुपैयाँ खर्चिएर डिटेल सर्भे गर्न लगाएको भए पनि ९ महिनामा सरकार परिवर्तन भएका कारण त्यो काम पूरा गर्न नपाएको भन्दै उनले आफू लगायत गठबन्धन दलका उम्मेदवारलाई विजयी बनाए पहिलो प्राथमिकतामा राखेर त्यही काम गर्ने बताएका हुन् । 

‘अहिले म एयरपोर्टको बारेमा विभिन्न समयमा भइरहेका नाटकीय कुराहरू नियाली रहेको छु,’ उनले भने- ‘कम्युनिष्टको बहुमतको सरकारले नाटक मञ्चन गरे पनि एयरपोर्ट बनाउन लागेनन्, अब हामीले यो एयरपोर्ट बनाउने छौँ ।’

त्यस्तै उनले तुलसीपुर–घोराही सडक खण्ड छोरालाई ठेकेदार गराउन तुलसीपुरका पूर्व मेयरले शक्तिको दुरुपयोग गरेको हुँदा बिजोग बनाएको आरोप लगाए । ‘आज चार लेनकै कारण दंगालीले दुःख पाउनुपरेको छ,’ उनले भने-‘मेयरकै छोरा ठेकेदार बन्दा दंगालीले सास्ती खेप्नुपरेको हो ।’ गिरीले एमाले महासचिव शंकर पोखरेलले आफ्नो पहलमा निर्माण गरेको बबईस्थित बैबाङको पुल उद्घाटन गरे पनि त्यो पुल कसका कारणले निर्माण भएको हो भन्ने कुरासम्म नगरी सर्वसाधारण जनतालाई भ्रममा पार्ने खेल गरेको बताए ।

गठबन्धन देशको आवश्यकता भएको भन्दै उनले लामो बलिदानी पछि प्राप्त लोकतन्त्र, संविधानको रक्षा र मुलुकको सम्बृद्धिको लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । ‘केपी नेतृत्वको दुई तिराई बहुमतले विगतमा संविधानमाथि धावा बोलेको नभुल्नुहोला, चरम भ्रष्टाचार गरी देशलाई टाँट पल्टाउन खोजेको नभुल्नुहोला र उतिखेर आम नागरिकको शान्ति सुरक्षा हराएको हेक्का राखेर त्यसका विरुद्ध मतदान गर्नुहोला,’ गिरीले भने-‘यो निर्वाचन मात्रै हैन प्रतिगमन र तानाशाह प्रवृत्ति विरुद्धको लडाइँ पनि हो ।’

उनले गठबन्धन भित्रका सबै दलहरूलाई आपसमा कुनै भेदभाव र तिक्तता नराखी एक ढिक्का भएर अर्जुन दृष्टिका साथ सरल ढङ्गले निर्वाचनमा होमिन आग्रह गरे । पछाडि परेको समुदाय, जनजाति, किसानको हकहित रक्षाका लागि नेपाली कांग्रेससहित गठबन्धनका उम्मेदवारले जित्न जरुरी रहेको उनले बताएका थिए ।

त्यस क्रममा उनले आफू मन्त्री हुँदा दाङमा बाह्रै मास सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यका साथ सुरु गरेको बृहत् दाङ सिँचाइ परियोजनाको चर्चा गरेका थिए । उनले जिल्लामा ८८ वडा डीप बोरिङ खनिएको, एक सय ५० बढी स्यालो ट्युबवेल गाडिएको हुँदा त्यसले किसानलाई सहज भएको धारणा बताए । हाल रोकिन पुगेको पश्चिम दाङमा स्तरीय सडक सञ्जालले जोड्ने कार्य विजयी भएपछि फेरि सुरु गर्ने उनले प्रतिबद्धता जाहेर गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ