arrow

प्रेस युनियन शान्ति पत्रकारिता पुरस्कार नवीनलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३१ सोमबार
Nabin sigdel.jpg

पोखरा । प्रेस युनियन शान्ति पत्रकारिता पुरस्कार-२०७८ पत्रकार नवीन सिग्देललाई प्रदान गरिएको छ । पूर्णप्रसाद बराल, मायादेवी बराल प्रतिष्ठानद्वारा स्थापित तथा नेपाल प्रेस युनियन कास्कीद्वारा संचालित सो पुरस्कार छनोट समितिको सिफारिस बमोजिम युनियनको सोमबार बसेको बैठकले अनुमोदन गरेको हो ।

युनियन कास्कीका सल्लाहकार रवीन्द्र बास्तोलाको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो । समितिका सदस्यमा पुरस्कार संस्थापक भोला बराल, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, युनियन कास्कीकी कार्यवाहक अध्यक्ष रविना आले र सचिव प्रदीप पौडेल थिए ।

पुरस्कार राशि २५ हजार ५२५ रुपैयाँ र सम्मानपत्र छ । सो पुरस्कार एक कार्यक्रमबीच वितरण गरिनेछ । तीन लाख रुपैयाँ अक्षयकोषबाट प्रत्येक दुई वर्षमा युुनियनले गण्डकी प्रदेशमा रहेर कम्तीमा १० वर्षदेखि पत्रकारितामा क्रियाशील पत्रकारलाई पुरस्कार वितरण गर्दै आएको छ ।

युनियन कास्कीका निवर्तमान अध्यक्ष सिग्देलले यसअघि स्व. गजेन्द्र भण्डारी सिर्जनशील पत्रकारिता पुरस्कार, अपराध अन्वेषण पत्रकारिता पुरस्कार, जिल्ला विकास समिति कास्कीको उत्कृष्ट पत्रकार पुरस्कार, उत्कृष्ट आलेख पत्रकारिता पुरस्कार र स्व. सागर सुवेदी स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भइसकेका छन् ।

पत्रकारितामा पुर्याएको योगदानको कदर गर्दै सिग्देललाई करिब तीन दर्जन समाजिक संघ संस्थाले सम्मान गरिसकेका छन् । उनी २०५५ सालदेखि  पत्रकारितामा क्रियाशील रहेका थिए । सानै उमेरमा आफ्नै पहलमा पत्रिका प्रकाशित गरी पत्रकारितामा होमिएका सिग्देलले पत्रकारिता र राजनीतिलाई सन्तुलित गर्दै आएका छन् ।

उनले करिब लगातार १९ वर्षसम्म पोखराबाट प्रकाशित आदर्श समाज दैनिकमा आवद्व रहेका थिए । उनले पोखराको बाराही एफएम्, हिमचुली एफएमसँगै नेपाल एफ्एम् नेटवर्क, राष्ट्रिय समाचार समिति, गोरखापत्र दैनिक र तराइ टेलिभिजन लगायतका संचारमाध्यममा पनि काम गरेको अनुभव रहेको छ ।

 हाल उनी राष्ट्रन्यूज डटकममा आवद्व रहेका छन् । विश्व प्रकाश सिग्देल र प्रभादेवी सिग्देलका जेठा छोरा सिग्देल पोखरा-१३ निवासी हुन् । यसअघि सो पुरस्कार पत्रकार राजबहादुर गुरुङ र  हिमनिधि लौडारीलाई प्रदान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ