arrow

अबको प्रधानमन्त्री आफैं बन्ने प्रचण्डको संकेत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १५ मंगलबार
prachanda-dahal-maoist-manifesto-2079-election.jpg
तस्बिर – फाइल ।

काठमाडौं । विपक्षी दल नेकपा एमालेले गठबन्धनबाट प्रधानमन्त्री को हो भनेर प्रश्न उठाएका बेला माओवादी केन्द्रले सार्वजनिक गरेको घोषणा पत्रमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने संकेत गरिएको छ । 

४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लामो समयदेखि चर्चामा रहेको चितवनको क्षेत्र नम्बर ३ छोडेर गोरखा–२ मा पुगेका प्रचण्ड निर्वाचनपछि बन्ने सरकारको प्रधानमन्त्री बन्ने विषयले चर्चा पाउन थालेको बेला सोमबार सार्वजनिक गरेको घोषणा पत्रमा प्रचण्ड प्रधानमन्त्री बन्ने संकेत गरिएको हो । 

गोरखामा चुनावी अभियानमा नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रचण्डका लागि मत माग्ने क्रममा उनलाई आगामी प्रधानमन्त्रीका रुपमा देख्न सकिने बताएका थिए । डा. भट्टराईले मात्र होइन स्वयं प्रचण्डले पनि गोरखाबाट चुनाव जितेर गएपछि तालमेल मिलेको खण्डमा देशको नेतृत्व आफूले गर्न पाउने अवस्था रहेको बताउँदै आएका छन् । 
 
८२ पृष्ठमा समेटिएको प्रतिवद्धता पत्रमा जनतालाई बारम्बार प्रतिगमन विरुद्धको सङ्घर्षमा लागि रहनुपर्ने बाध्यता हटाउने कार्य माओवादी केन्द्रकै नेतृत्वमा मात्र सम्भव रहेको दाबी गरिएको छ । 

सात बुँदामा सरकारको नेतृत्व गर्नुेपर्नाको कारण खुलाइएको छ । ‘सामाजिक न्यायसहितको समृद्धिको तत्कालीन लक्ष्य र समाजवादको रणनीतिक लक्ष्य पूरा गर्न स्पष्ट एवम् दृढ शक्ति नेकपा माओवादी केन्द्र मात्र हो,’ प्रतिवद्धतापत्रमा भनिएको छ, ‘तसर्थ, हाम्रो पार्टीले राज्यको नेतृत्व गरे मात्र यो मूल कार्यभार पूरा गर्न सम्भव हुनेछ ।’

प्रचण्डले गोरखाको कार्यक्रममा आफूले देशको नेतृत्व लिने भन्नु र प्रतिबद्धता पत्रमा पनि सोही कुरा उल्लेख गर्नुले प्रचण्डको सत्तामोह देखिएको छ । १६५ सिट मध्ये प्रत्यक्षमा करिब ५० सिटको हाराहारीमा उम्मेदवारी दिएको माओवादीको परिणाम कति आउछ भन्ने एकिन नहुँदै प्रचण्डले प्रधानमन्त्रीको सपना देख्न थालेका छन् । 

‘त्यस्तै तालमेल मिल्यो भने म पनि देशको नेतृत्व गर्ने अवसर पाउने सम्भावना छ, त्यसो भयो भने गोरखा क्षेत्र नम्बर २ बडो भाग्यमानी क्षेत्र हुने भयो’, प्रचण्डले गोरखामा सम्बोधनको क्रममा भनेका थिए । गोरखामा नै त्यही कार्यक्रममा प्रचण्डका लागि मत माग्दै डा. बाबुराम भट्टराईले पनि प्रचण्डलाई प्रधानमन्त्रीको सपना बुन्ने आधार तय गरेका थिए ।

 ‘कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री हो । यही क्षेत्रले प्रधानमन्त्री पाइसकेपछि हाम्रो विकासको सपना कसरी पूरा नहोलान् र ?’ डा. भट्टराईले यही क्षेत्रले मुख्यमन्त्री समेत पाउने भन्दै नेपाली कांग्रेसका सुरेन्द्र पाण्डेको नाम अगाडि सारेका थिए । उनको यो कुरामा प्रचण्ड स्वयंले पनि समर्थन गरेका थिए । नेपाली कांग्रेससँग गठबन्धन भएकाले गोरखामा अब प्रचण्डका लागि सहज हुने अनुमान धेरैले गरेका छन् ।

‘प्रचण्डले जनयुद्धको नेतृत्व गर्नुभयो, जनआन्दोलनसँग जनयुद्धको संयोजन गर्नुभयो, गिरिजाप्रसाद कोइरालासँगै शान्ति प्रक्रियाको संयुक्त नेतृत्व गर्नुभयो, संविधानसभाद्वारा संविधान निर्माणमा प्रमुख नेतृत्वदायी भूमिका खेल्नुभयो, संविधान कार्यान्वयनको प्रक्रियाको नेतृत्व गर्नुभयो र प्रतिगमन विरोधी सङ्घर्षको नेतृत्व गर्नुभयो । नेपालको समकालीन राजनीतिमा उहाँ मात्र एक्लो त्यस्तो नेता हुनुहुन्छ । तसर्थ, अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा मात्र यतिबेला पनि राष्ट्रको नेतृत्व, निकास र विकास सम्भव छ,’ १० औं पृष्ठमा भनिएको छ ।  

पाँच दलीय गठबन्धनले पछिल्लो समय दलहरुबीच सिट बाँडफाँट गर्दै निर्वाचनमा होमिएको बेला प्रधानमन्त्री को बन्ने भन्ने कुनै निक्र्योल छैन । कांग्रेसले ९१ सिटमा आफ्नो उम्मेदवारी दिएको छ भने अन्य स्थानमा माओवादी, नेकपा एस र लोसपासँग बाँडफाँड गरेको छ । 

निर्वाचनपछि नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भएको खण्डमा नेपाली कांग्रेसले नै सरकारको नेतृत्व गर्ने गर्ने धेरैको बुझाई भएपनि कांग्रेसले पनि अहिलेसम्म मुख खोलिसकेको छैन । 

कांग्रेसबाट प्रधानमन्त्रीका आकांक्षीको संख्या पनि बढ्दो छ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा स्वयं प्रधानमन्त्रीमा दोहोरिन चाहन्छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि एकपटक आफूले देशको नेतृत्व गर्न पाउनु पर्ने माग राख्दै आएका छन्, त्यही अनुसार उनी निर्वाचनमा होमिएका छन् । 

कांग्रेसका नेताहरु डा. शेखर कोइराला, प्रकाशमान सिंह लगायतले पनि आवश्यक परे वा आफूले अवसर पाएमा प्रधानमन्त्री आफू बन्ने चुनावी कार्यक्रमहरुमा बताउँदै आएका छन् । 

कांग्रेसका महामन्त्री गगनकुमार थापाले पनि आफू प्रधानमन्त्रीको रेसमा रहेको सार्वजनिक रुपमा भनिसकेको बेला माओवादीले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा प्रचण्डले यो देशको नेतृत्व गर्ने भन्दै प्रधानमन्त्रीको रुपमा संकेत गरेको छ । 

माओवादीले अध्यक्ष प्रचण्डको प्रधानमन्त्रीत्व कालमा भएका महत्वपूर्ण काम लोडसेडिङ मुक्त गराएको उल्लेख गरिएको छ। ‘खासगरी दोस्रो कार्यकालमा मधेश आन्दोलनलाई शान्तिपूर्ण अवतरण गराई छोटै समयमा पनि आर्थिक वृद्धि र सामाजिक विकासको आधार तयार गरियो भन्दै लोडसेडिङ मुक्त गरेको जस माओवादीले लिन खोजेको देखिन्छ । 

मुलुकलाई बर्षौंदेखिको लोडसेडिङबाट मुक्त तुल्याउने, काठमाडौँं–निजगढ द्रुतमार्ग लगायतका ठूला आयोजनाहरूको निर्माण कार्य अघि बढाउने, चीनसँग वान बेल्ट वान रोड सम्झौतामा हस्ताक्षर गर्ने, प्रधानमन्त्री स्वयंले निर्माणाधीन ठूला आयोजनाहरूको अनुगमन गर्ने, राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयनलाई प्रभावकारी तुल्याउन प्रक्रियागत सुधार गर्ने जस्ता कार्यहरू गरिए,’ प्रतिवद्धतापत्रमा भनिएको छ, ‘यिनै पहलहरूको आधारमा चौधौं त्रिवर्षीय योजनाले राखेको लक्ष्यभन्दा बढी आर्थिक वृद्धि हासिल हुन सक्यो। यसबाट नेकपा माओवादी को नेतृत्व भएमा छोटो समयमा पनि विकास र समृद्धिको दिशामा धेरै उपलब्धि हासिल गर्न सम्भव छ भन्ने सिद्ध भएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ