arrow

भ्रष्टाचारविरोधी धनराज गुरुङ थप मजबुत, अर्यालमाथि प्रश्न 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३० बुधबार
dhanraja.jpeg

काठमाडौं । स्याङ्जा २ मा प्रतिनिधि सभाको उम्मेदवार बनेका नेपाली कांग्रेसका उप सभापति धनराज गुरुङले आफ्नो अवस्थालाई थप मजबुत बनाएका छन् । संसदीय निर्वाचनमा पहिलो पटक प्रत्यक्ष उम्मेदवार बनेका गुरुङले प्रचार प्रसारलाई तीव्र बनाएका छन् । भ्रष्टाचार विरोधी छवि बनाएका गुरुङ चुनावी कार्यक्रममा सोही मुद्दालाई जोडका साथ उठाउँदै आएका छन् । साथै, गत स्थानीय तहमा स्याङ्जा २ मा कांग्रेस पहिलो शक्ति भएकाले पनि गुरुङका लागि थप सहजता भएको छ । 

स्याङ्जा २ कांग्रेसको पक्षमा गत स्थानीय तहको निर्वाचनमा ३६ हजार ८०६ मत खसेको थियो । एमालेले ३४ हजार ८०९, माओवादी केन्द्रले १ हजार ४४७, एकीकृत समाजवादी २३३ मत पाएका थिए । यस क्षेत्रमा वालिङ नगरपालिकाका ३ र ४ बाहेकका अरू १२ वटा वडा सहित गल्याङ र चापाकोट नगरपालिका, भिरकोट नगरपालिकाको ५ देखि ९ सम्मका वडा र कालिगण्डकी गाउँपालिका पर्दछ । वालिङ र कालीगण्डकीमा एमाले विजयी भएको छ । गल्याङ, भिरकोट, चापाकोटमा कांग्रेसले जितेको छ । 

निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहका अधिकांश भागमा गुरुङले पहिलो चरणको प्रचार सकिसकेका छन् । गुरुङसँगै चुनावी प्रचारमा हिँडेका नेविसंघका पूर्व महामन्त्री युवराज पाण्डेयले कांग्रेसको पक्षमा व्यापक माहोल बनेको बताए । ‘पार्टीमा उपसभापति भएको व्यक्ति तथा निष्कलङ्क छविका कारणले मतदाता उहाँप्रति आकर्षित भएको देखेँ ।’ पाण्डेयले भने,‘उपसभापतिको उम्मेदवारीले क्षेत्रका बासिन्दामा ठूलो उत्साह छ ।’

पार्टी भित्रको आन्तरिक राजनीतिले पनि गुरुङलाई साथ मिलेको छ । पार्टी भित्रका सबै पक्षलाई मिलाउँदा उनलाई थप बल पुगेको छ । प्रतिनिधि तथा प्रदेश सभा दुबैतर्फ कांग्रेसका उम्मेदवार हुँदा आन्तरिक व्यवस्थापन मिलेको छ । एकीकृत समाजवादीको भागमा परेको स्याङ्जा २ (क) परेको थियो । गुरुङकै जोडबलमा प्रदेश तर्फको स्याङ्जा २ (क) मा समेत कांग्रेसले नै उम्मेदवार पाएको छ । जिल्लाका पुराना नेता भोजराज अर्यालले कांग्रेसबाट यस प्रदेश सभामा उम्मेदवार बनेका छन् । स्याङ्जा २ (ख) मा महेश भट्टराई कांग्रेसको उम्मेदवार छन् । 

उपसभापति गुरुङ नेकपा एमालेको सचिव पद्मा अर्यालसँग प्रतिस्पर्धा गर्दैछन् । विगतमा मन्त्री हुँदा विवादमा परेकाले उनी माथि क्षेत्रमा विभिन्न प्रश्न उठेका छन् । सहकारीलाई विना पारदर्शी तरिकाले रकम बाँडेको, झापामा गिरी बन्धु टी स्टेटको जग्गामा अनियमितता गरेको लगायत अर्याल माथि प्रश्न उठेका छन् । 

साथै, अर्यालको माइत रहेको वालिङ १४ नम्बर वडामा भैँसी पालनका लागि कार्यकर्तालाई रकम छुटाएर गोठ बनाए पनि भैसीपालन नगरिएको प्रश्न अर्यालले झेलिरहेकी छन् । करोडौं रकम छुट्टाएको कृषि फर्ममा हाल गोठ मात्रै छ । प्रारम्भ केही भैँसी ल्याइए पनि अहिले गोठ रित्तो छ । खालि गोठको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । वालिङ वडा नम्बर १२ मा कागती खेती गर्न भनी उनले बजेट विनियोजन गरेर काम थाले पनि प्रगति शून्य भएको छ ।

गत निर्वाचनमा कांग्रेस नेता गोपालमान श्रेष्ठलाई पराजित गरेर अर्याल निर्वाचित भएकी थिइन् । तत्कालीन नेकपा सरकारको समयमा अर्यालले तीन वटा मन्त्रालयको मन्त्री बनेकी थिइन् । स्वास्थ्य राज्यमन्त्री रहेकी उनी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण र कृषि मन्त्री बनिन् । भूमि व्यवस्था मन्त्री हुँदा उनले आर्थिक अनियमितता गरेको आरोप उनी माथि छ । अर्यालको विगतको भूमिका विवादास्पद रहेकाले उपसभापति गुरुङले निर्वाचन जित्न सहज रहेको स्थानीय कांग्रेसका नेताहरू बताउँछन् । 

गठबन्धनमा आबद्ध माओवादी केन्द्र र एकीकृत समाजवादीको मत समेत गुरुङलाई थपिने भएको छ । दुबै क्षेत्रमा बलियो पहिलो दल कांग्रेस हुनु, गुरुङको भ्रष्टाचार विरोधी अभिव्यक्ति तथा प्रतिस्पर्धी अर्यालको धुमिल छविले कांग्रेसले जित्नेमा क्षेत्रका नेताहरू ढुक्क जस्तै देखिन्छन् । 

२०७४ को निर्वाचनमा यस क्षेत्रमा वाम गठबन्धनबाट एमालेका उम्मेदवार नारायणप्रसाद मरासिनी विजयी भएका थिए । मरासिनीले ३९ हजार २२६ मत पाउँदा कांग्रेसका राजु थापा २८ हजार ६६२ मत ल्याएका थिए ।

२०७४ सालको निर्वाचनमा एमाले सचिव पदमा अर्यालले यस क्षेत्रमा कांग्रेसका गोपालमान श्रेष्ठलाई हराएकी थिइन् । पद्माले ३५ हजार १४२ मत पाउँदा श्रेष्ठले ३१ हजार ४३६ मत ल्याई पराजय भोगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ