arrow

होश पुर्‍याएर नूनको सेवन गरौँ : अरुणा उप्रेती

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १४ बुधबार
salt-aruna.jpg

काठमाडौं । 'काटेको घाउमा नून चुक' लगाउनुको अर्थ दुःखी मान्छेलाई झन् दुःखी पार्नु भन्ने अर्थ लाग्छ। राजाको नून खानु को अर्थ सरकारी सेवा गरेको भन्ने बुझिन्छ । ‘नून खाएको कुखुरा’ जस्तो भन्दा कुनै समस्या परेर उदास भएको मान्छे भन्ने बुझिन्छ। नून सँग यस्ता धेरै उखान टुक्का गाँसिएका छन् । नून भान्छामा नभई हुँदैन तर धेरै पनि हुनुहुँदैन भन्ने विचार गर्नुपर्छ । नून नभएको खाना कति बेस्वादिलो हुन्छ विचार गर्नुस् त ?। तर धेरै नून भएपछि फेरि अनेक समस्या आइपर्छन्।

मैले दुई वर्षअघि देखि नै ढिके नूनको प्रयोग गर्न सुरु गरेकी थिएँ । एक जना पोषणविदले मलाई ‘आयो नून’ मा हाम्रो शरीरलाई चाहिने भन्दा आयोडिन हालिएको छ भनेपछि मेरो भान्छाबाट 'आयो नूनु' हट्यो । टि.भी विज्ञापनमा कहिलेकँही आउँछ-'के तपाईँको मञ्जनमा नून छ' ? मञ्जनमा नूनको प्रयोग हुने कुरालाई धेरै जनाले अचम्मको रूपमा लिन्थे होला । तर दाँत स्वस्थ राख्न नून एउटा औषधी मानिन्छ । भन्ने कसैलाई थाहा छैन । गिजा दुखेको बेला मनतातो पानी र नूनले कुल्ला गर्न भन्ने कुरा यही कारणले हो।

प्राचीन कालदेखि नै मासु र खानेकुरालाई लामो समयसम्म सुरक्षित राख्न नून प्रयोग गरिन्थ्यो । ग्रीक सन्यतामा नूनलाई यति धेरै महत्त्व दिएको थियो कि दासहरूका किनबेच पनि नूनमा हुन्थ्यो । प्राचीन कालमा पनि रोमन सिपाहीहरूलाई तलब दिँदा नून पनि सँगै दिइन्थ्यो भन्ने कथन पाइन्छ। 

मङ्गोलियामा मानिसहरू आफ्ना सुन, चाँदीसँग नून साट्थे । नेपालमा पनि पहिले पहिले मानिसहरू भोटबाट नून ल्याउँथे भन्ने सुनिएको हो। प्राय : प्याकेटका खानेकुरामा नूने धेरै लुकेको हुन्छ । तर हामीलाई थाहा हुँदैन । स्वास्थ्यकर्मीहरू भन्छन् नूनको बढी प्रयोग गर्न हुन्न ।

विशेष गरी प्याकेटमा राखिएका खानेकुराहरूमा नून बढी भएकोले यस्ता खाना नखाएकै बेस । तर खानेकुरा बनाउने कम्पनीहरू चाही यो कुरालाई स्विकार्दैनन् । खानेकुरामा नूनको बढी प्रयोग गर्दा नून नै विष बन्न पुग्छ ।

एकतिर बढी नूनले स्वास्थ्य समस्या ल्याउँछ तर नून चिनी पानीले फेरी पखाला लाग्दा जीवन बचाउँछ भन्ने कुरा त सर्वविदितै छ । त्यसै गरी लामो समय हिँडेपछि बढी थकाई लागेका बेलामा, पसिना धेरै गएका बेलामा नून र कागती पानीको प्रयोग गरिन्छ । थाकिने, पडौँला बाउँडिने जस्तो हुँदा हुन्छ । त्यो बेलामा अलिकता पानीमा अलिकति नून र कागतीको रस हालेर खाए शरीरमा फुर्ती आउँछ।

त्यसै गरी गाउँघरमा पनि आधुनिक (औषधीहरू नपाउँदा )मनतातो पानीमा नून हालेर त्यसैले घाउ सफा गर्ने चलन छ । रुघाखोकी लाग्दा, घाँटी दुख्दा मनतातो पानीमा नून हालेर दिनमा ४-५ चोटि घाँटीमा गार्गल गर्दा दुख्न कम हुने धेरैको अनुभव छ । दाँत गन्हाउँदा, गिजाबाट रगत आउँदा, नून बेसार र अलिकता तोरीको तेल लिएर मुख कुल्ला गर्ने र मिदुणले गिजा सफा गर्ने गर्दा धेरै मानिसलाई फाइदा पुगेको छ । 

नून एकतिर औषधी पनि हो । तर प्रयोग गर्न नजान्दा विषको काम पनि यसले गर्छ। नूनको विभिन्न किसिमका प्याकेटहरूका खानेकुरा चिफ, चाउचाउ, बिस्कुट आदिमा पनि पर्याप्त मात्रामा हुन्छन् र यस्ता खानेकुराहरूको प्रयोगले शरीरमा बढी नून पुर्‍याउँछन् । अनि विभिन्न रक्तचाप, मिर्गौलाका समस्या भएका व्यक्तिहरू घरमा खाना खाँदा चाही खानेकुरामा नून कम खान्छन् । तर बाहिरका खानेकुरामा भएका नूनको चाहिँ वास्तै गर्दैनन् र त्यसैले समस्या पनि बढाउँछ ।

टिनका विभिन्न बट्टामा राखेका खानेकुरा लामो समय सुरक्षित राख्न पनि नूनको प्रयोग गरिन्छ । त्यस्ता खानेकुराको प्रयोगले हानी त पुर्‍याउँछ नै पहिलेदेखि नै मिगौलाको समस्या रहेका मानिसलाई त झन् बढी समस्या पर्छ औषधी कहिले काहीँ केही तातो खानेकुरा खाएपछि मुख भित्र पोल्छ । त्यो बेलामा मन तातो पानीमा अलिकति नून हालेर एक दुई घण्टामा कुल्ला गर्नाले त्यो दुखाई आराम हुन्छ । नाक बन्द भएको बेलामा मनतातो पानीमा अलिकता नून (नूनको आँसुको स्वा जति मात्र हुनुपर्छ ।

नाकमा थोपा थोपा गरेर हाले नाक चाडै खुल्छ । यो आँसुको स्वाद जस्तो भएको पानी साना नानीहरूको नाकमा हाल्दा फाइदा हुन्छ । त्यसै गरी मोजा र खुट्टा गनाउने व्यक्तिका लागि पनि नूनको प्रयोगले धेरै मद्दत गर्न सक्छ । मोजा फुकालेपछि मनतातो पानीमा नून हालेर खुट्टा भिजाउने र औँलाको कापकापमा समेत नून दल्ने र केही बेर तातो पानीमा खुट्टा राखेपछि सुख्खा पार्नाले खुट्टा गनाउन कम हुन्छ ।

जुका लाग्ने ठाउँमा जानुभन्दा अघि टिमुर र नूनको धुलो हात खुट्टामा दल्नाले जुका लाग्न धेरै कम हुन्छ । एक दिन धेरै थाकेर आउँदा पनि मनतातो पानीमा नून हालेर नुहाउनाले शरीरको दुखाई कम हुने अनुभव धेरै जनाले सुनाएका छन्। रुघाखोकी लाग्दा तातोपानीमा नून हालेर बाफ लिँदा शरीर हलुको हुन्छ । नाक बन्द भएको खुल्छ भन्ने कुरा पनि धेरैले अनुभव गरेकै हो ।

गर्भवती महिलाले वाकवाक लाग्दा कागती र अलिकति नून चाट्नाले वाकवाक कम हुन्छ । त्यसै गरी बसमा जाँदा वाकवाक आउने व्यक्तिलाई पनि कागती र नून खानाले वाकवाक केही कम हुन्छ । जानेर चाहिने मात्र प्रयोग गर्दा नून औषधी बन्न सक्छ ।



नयाँ