arrow

खेलो बार्गेनिङ पावर बढाउने

प्रचण्डले साना दलसँग मोर्चाबन्दी गर्ने, माधवले च्याँखे थाप्ने  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २१ बुधबार
prachanda-madhavs.jpg
तस्बिर – फाइल ।

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ सरकार गठनको बार्गेनिङ पावर बढाउन विभिन्न साना दलहरुको छुट्टै मोर्चा बनाउने प्रयासमा लागेका छन् । 

निर्वाचनको परिणाम सोचेजस्तो नआएको भन्दै उनले साना दलहरुलाई समेटेर संसदमा छुट्टै मोर्चा बनाउने प्रयास गरेका छन् । त्यसका लागि उनले मंगलबार साँझ ललितपुरको हात्तीवनस्थित सिटीस्केप हाउजिङ्गमा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए । साथमा माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि रहेका थिए । 

पौने घण्टासम्म छलफलमा पहिले सत्ता गठबन्धन र अहिले एमालेबाट बिच्किएको जसपालाई गठबन्धनमै फर्काउने तर आफ्नो मोर्चामा रहन आग्रह गरिएको बुझिएको छ ।

पछिल्ला दिनमा प्रचण्डले जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रभु साह लगायतसँग भटघाट गरिरहेका छन् । यसैगरी नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग प्रचण्डको बाक्लो उठबस शुरु भएको छ । 

प्रचण्ड तीन दिनयता लगातार रुपमा नेपाल निवासमा धाइहेका छन् । उनले माधव नेपाललाई सकेसम्म दुई पार्टी एकीकरण गर्ने र नभए पनि आफ्नो मोर्चामा सहभागी हुन आग्रह गरेको बुझिएको छ । 

नेकपा एसले दुई पार्टी एकीकरण गर्न आनाकानी गरेपछि माओवादीले एस पार्टीलाई आफ्नो मोर्चामा सहभागी हुन आग्रह गरिरहेको छ । 

‘कांग्रेससँग प्रधानमन्त्रीको बार्गेनिङ गर्दै आएको माओवादीले आफ्नो छुट्टै मोर्चा बनाउन लागेको छ, यस्तो प्रस्ताव हाम्रो पार्टीलाई पनि आएको छ’, नेकपा एसका एक पदाधिकारीले भने । 

एस पार्टीले भने माओवादी, कांग्रेस र अन्य दलहरुसहित सरकार बन्दा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख जस्ता पदहरुमा प्याकेजकै सहमति गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । तर माओवादीले जसपासहितको मोर्चा बनाएर बार्गेनिङ गर्न खाजेको छ । 

प्रचण्डले जसपा, नेकपा एस तथा नागरिक उन्मुक्ति बाहेक स्वतन्त्रबाट जितेका प्रभु साह र किरणकुमार साहलाई पनि मोर्चामा ल्याउने कोसिस गरेका छन् । 

पार्टी र स्वतन्त्रबाट जितेकासहितको मोर्चा बनाउँदा प्रचण्डसँग करिब ६५ सांसद हुने भएपछि यस्तो मोर्चामा आकर्षित भएका हुन् । 

प्रत्यक्षमा १८ सिट जितेको माओवादीले समानुपतिकतर्फ १४ सिट पाउने छ । राष्ट्रिय पार्टी बन्न असफल नेकपा एकीकृत समाजवादीसँग १० जना प्रत्यक्ष निर्वाचित सांसद छन् भने नागरिक उन्मुक्ति पार्टीसँग चार (स्वतन्त्र जितेका लालवीर चौधरीसहित) सांसद छन् । 

यसैगरी प्रत्यक्ष ७ सिट जितेको जसपाले समानुपातिकतर्फ ५ सिट पाउने छ भने प्रत्यक्ष एक सिट जितेको जनमत पार्टीले समानुपातिकतर्फ चार सिट पाउने छ । प्रत्यक्षमा एक सिट जितेको राष्ट्रिय जनमोर्चा  र रौतहटबाट निर्वाचित प्रभु साहसहित स्वतन्त्र २ सांसद पनि छन् । जसले गर्दा माओवादीले कांगे्रससँग बराबरी भागवण्डाका लागि नयाँ मोर्चा आवश्यक भएको ठानेको छ । 

‘प्रचण्डले आफू बलियो हुन यस्तो मोर्चाको कसरत गरेका हुन्, उनको मिसन प्रधानमन्त्री हो त्यसका लागि उनले यस्तो प्रयास गरेका छन्’, नेकपा एसका नेताले भने । 

उनका अनुसार एसले भने अहिले नै प्रधानमन्त्री को बन्ने भन्ने बारेमा केही बताएको छैन । कांग्रेस र माओवादीले जिद्धि गरिरहे एसका तर्फबाट माधवकुमार नेपालले पनि च्याँखे थाप्ने संकेत गरिसकेको ती नेताको दाबी छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ