arrow

देउवाले किन बोलाउन छाडे गगन थापालाई बैठकमा ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २१ बुधबार
deuba-gagan-thapa-.jpg

काठमाडौं । आम निर्वाचन सकिएको छ । यसको परिणाम पनि आइसकेको छ । नेपाली कांग्रेस पहिलो दल बनेको छ भने एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो दल बनेको छ । 

यद्यपि कुनै पनि पार्टीले बहुमत नल्याएकाले फेरि पनि गठबन्धन सरकार नै बन्नेछ । सत्ताधारी गठबन्धन जोडिइरहने हो भने सरकार बनाउने सम्भावना बलियो छ । र पनि विभिन्न चलखेल भइरहेका छन् ।

सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले प्रत्यक्षमा ५७ तथा समानुपातिकमा ३२ गरी ८९ सिट जितेको छ । प्रत्यक्षमा जम्मा १६५ र समानुपातिकमा ११० गरी २७५ को सरकार बनाउन चाहिने बहुमत १३८ संख्याका लागि कांग्रेसले ४९ सांसद खोज्नुपर्ने हुन्छ । 

त्यस्तै दोस्रो स्थानको एमालेले ७८ सिट जितेको छ । उसले सरकार बनाउने हो भने ६० सांसद खोज्नुपर्ने हुन्छ ।

अहिले सरकार गठबन्धनका लागि दलहरुले आन्तरिक जोडघटाउ गरिरहेका छन् । 

यही सेरोमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने निश्चित नभए पनि पहल भने जरुरी छ । तर कांग्रेसको नेतृत्व कसले गर्ने भन्नेमा अझै आशंका छ । 

सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आफू नै नेतृत्व लिनका लागि अग्रसर भइरहेका छन् । उनले आफू निकटका नेताहरुलाई विभिन्न दलका नेताहरुसँगसमेत भेट्न पठाइरहेका छन् । 

तर पार्टीभित्रै अहिलेसम्म उनले छलफल गरेका छैनन् । उनी पाँच पटक प्रधानमन्त्री भइसके । छैटौंका लागि जोडबल गरिरहेका छन् । उनले सहजीकरण गर्ने लक्षण देखिएको छैन । 

अर्कातर्फ महामन्त्री गगनकुमार थापाले चुनाव हुनुअघि नै आफू प्रधानमन्त्री बन्नका लागि प्रतिनिधि सभा सदस्यमा लड्न लागेको बताउँदै आएका थिए । 

उनले चुनावअघि नै आफ्नो लक्ष्यबारे घोषणा गरे । प्रतिनिधि सभाको चुनाव जिते । उक्त चुनाव जितेकै दिन आफूले कांग्रेस संसदीय दलको नेता (संसदीय दलको नेतामात्रै प्रधानमन्त्री बन्न पाउने प्रावधानले गर्दा) का लागि तयारी थाल्ने बताएका थिए । 

थापाको माहोल पनि बन्दै जाँदा शेरबहादुर देउवाले भने पार्टीको आन्तरिक छलफल नै बोलाएका छैनन् । 

त्यतिमात्र हैन उनले गगन थापालाई गठबन्धनको बैठकका लागि पनि जानकारी दिएका छैनन् । थापाको अनुपस्थितिमै गठबन्धनको बैठक बस्ने गरेको छ । 

यसबाटै स्पष्ट हुन्छ कि देउवा अझै पनि आफैं नै अग्रसर हुन खोजिरहेका छन् भने सबैभन्दा ठूलो तगारो उनले गगनलाई देख्न थालेका छन् । 

पार्टीका लागि महामन्त्रीहरु खम्बा नै हुन्छन् । गगनका लागि अर्का महामन्त्री विश्वप्रकाश शर्माले सघाउने घोषणा गरिसकेका छन् । जसका लागि महामन्त्रीहरु अहिले देउवादेखि टाढा छन् । 

यतिसम्म कि गगनलाई काठमाडौं उपत्यकाका कांग्रेस जनप्रतिनिधिहरुको भेलाका लागिसमेत खबर गरिएन । 

मंगलबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहको नेतृत्वमा खानेपानीको समस्या समाधानका लागि पहल गर्न देउवालाई आग्रह गरियो । तर त्यहाँ गगनलाई निम्तो थिएन । 

गगनको सचिवालयले यसअघिको सत्तागठबन्धनको बैठक र मंगलबारको यो कार्यक्रममा गगनलाई जानकारी नै दिइएको थिएन । 

देउवाले सकभर गगनलाई टाढा नै राख्न खोजेको बुझिन्छ । प्रतिस्पर्धीलाई उनले टाढै राख्न खोजेको सीधै देखिन्छ । या त उनले गगनको सामना गर्न पो खोजिरहेका छैनन् कि भन्ने आसय पनि देखिन्छ । 

तर पार्टीको सशक्त महामन्त्रीसँग टाढिएर देउवाले पार्टीलाई सशक्त बनाउन सक्लान् त भन्ने प्रश्न टड्कारो हुँदै गएको छ । 

कांग्रेसलाई जनमानसमा सशक्त पार्टीका रुपमा उतार्न पनि युवाहरु अगाडि आउनु जरुरी छ । अहिलेको चुनावी नतिजाले पनि युवालाई जिताएको छ । 

यो विषयमा यदि पार्टीको नीतिमा सुधार नगर्ने हो भने कांग्रेसप्रतिको रुची दिनानुदिन नघट्ला भन्न सकिन्न । 

कांग्रेसले गठबन्धन गरेर पनि कम सिट जितेको छ । समानुपातिकमा पनि कम मत ल्याएको छ । यसको समीक्षा गर्नका लागि पनि पार्टीको बैठक बोलाउनु जरुरी छ । तर देउवाले किन गगनलाई टाढा राख्न खोजिरहेका छन् भन्ने प्रश्नको जवाफ दिनु जरुरी छ । 

अहिलेको जनमत युवाका लागि हो भन्ने जान्दाजान्दै देउवाले यो गम्भीर विषयलाई थाँती राख्नु हुँदैन । अर्कातर्फ अनपेक्षित रुपले आएका नयाँ दलहरु शीर्ष दलका पुरानै अनुहारलाई समर्थन नगर्ने भनिरहेका छन् । यसका लागि पनि देउवाले गगनलाई बैठकमा नबोलाउने हैन कि बैठकमा बोलाएर छलफल चलाएर आगामी सरकारको नेतृत्वका लागि भूमिका खेल्नका लागि सुझाव दिनुपर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ