arrow

जाडोमा स्वास्थ्य रहन यी खाऔँ

logo
अरुणा उप्रेती,
प्रकाशित २०७९ मंसिर २९ बिहिबार
cold-flu.jpg

मेरी हजुरआमाले चना भिजाई उमारेपछि पिस्ने अनि त्यसलाई पानीमा घोली पकाएर फाँडो बनाउनुहुन्थ्यो । अहिले पनि मेरी आमाले भोज गर्नुभयो भने उहाँको हातबाट बनेको बेसनको फाँडोसँग भात मुछेर खाँदा मज्जा नै बेग्लै हुन्छ । नेपालका केही भागमा अहिले चना उमारेर त्यसलाई पिस्ने समय नभएकाहरूले बेसन नै किन्छन् । 

बेसनको पीठो अमिलो मोहीमा घोलेर पकाउँदा मीठो फाँडो वा कढी पनि बन्छ । बनाउन सजिलो कढी भात वा रोटीसँग खाइन्छ । यसमा बेसनकै पकौडा पनि हालिदियो भने त झनै मीठो हुन्छ । गुजरातीहरूको खानामा कढी अनिवार्य हुन्छ । 

बालबालिकालाई ख्वाउने विभिन्न थरीका दाल वा उसिनेर मिचेको आलुमा राम्ररी भुटेको एक-दुई चम्चा बेसन र एक चम्चा घिउ हालेमा शिशुलाई स्वाद र प्रोटिन दुवै हुन्छ । चना भिजाई बोक्रैसमेत पिसेर पनि पकाउन सकिन्छ ।

केही वर्षअघि मैले विदेशमा ‘टर्मरिक ल्याट्टे’को उपहार पाएकी थिएँ । त्यसमा बेसारको साथै दालचिनी, कालो मरीच, सुकुमेल मिसाएको ६० ग्राम धूलो रहेछ । यसको झन्डै १५ डलर अर्थात् नेपाली झन्डै १५ सय रुपियाँ पर्दो रहेछ । त्यो हिसाबले एक किलोको झन्डै रु. २० हजार पर्ने रहेछ ।

नेपालका पसलहरूमा एक किलो बेसारको रु. ४ सयदेखि ५ सय पर्छ । एक किलो कालो मरिचको ७ सय देखि ८ सय पर्छ । जब बेसार, मरीच प्याकेटको रूपमा तयार हुन्छ, तब त्यसको मूल्य २० औँ गुणा बढ्छ । बेसार र कालो मरिचको धूलोको औषधीय महत्त्व छ । बेसारमा रहेको ‘करकुमिन’ भन्ने तत्त्वको कारणले नै बेसारमा सङ्क्रमण र रोगसँग लड्ने शक्ति हुन्छ । बेसारमा थोरै तेल, थोरै मात्रामा प्रोटिन र सूक्ष्म मात्रामा भिटामिन ‘ए’ पनि पाइन्छ । शरीरमा विभिन्न सङ्क्रमण भइरह्यो भने मुटुको रोग हुने सम्भावना हुन्छ । साथै उमेर बढ्दै जाँदा हुने समस्या निम्तिन्छ । ‘करकुमिन’ मानव कोषिकाभित्रसम्म पुगेर संक्रमणसंँग लड्छ । आयुर्वेदमा बेसारलाई महाऔषधिको नाम दिइएको यसैले होला । आयुर्वेदिक औषधि विज्ञानमा यसलाई ‘गौरी’, ‘कुमकुम’ भनेर पनि चिनिन्छ ।

केही वैज्ञानिक अनुसन्धानअनुसार बेसारमा मानव मस्तिष्कलाई सक्रिय पार्ने र मुटुका मांसपेशीको क्रियाकलापलाई सुचारुरुपले चलाएर मांसपेशी सुदृढ पार्न सक्ने तत्त्व पाइन सक्ने सम्भावना छ । साथै विभिन्न औषधिहरूको कुप्रभाव कसरी कम गर्न सकिन्छ भनेर पनि बेसारका अनेक विषयमा अध्ययनहरू भइरहेका छन् । बेसारको प्रयोग गर्दा मरीचसँग मिलाएर गरियो भने राम्रोसँग आन्द्रामा सोसिन्छ भन्ने वैज्ञानिकले सिद्ध गरेका छन् ।

गहत पौष्टिकताले भरिपूर्ण दलहन भएर पनि प्रायः नेपाली भान्छामा त्यति स्थान पाउन सकेको छैन । अझ ‘जात फाल्नु गहतको झोलमा’ भनेर यसलाई अपहेलना नै गरिएको छ । सुदूर पश्चिमका जिल्लाहरूमा चाहिँ गहत र मासको दाल मिसाएर जाडोको बेलामा खाइने एक विशेष परिकार गहतानी बनाइन्छ । यसमा अमिलो, पिरो पनि मिसाइन्छ र भातसँग खाँदा एकदम स्वादिष्ट हुन्छ, शरीरमा तातो दिन्छ ।

गहत र मास दुवैमा प्रोटिनसहित सूक्ष्म पोषक तत्त्व भएकाले यसले स्वास्थ्य राम्रो पार्न पनि भूमिका खेल्छ । ‘आयुर्वेद र परम्परागत सिद्धान्तअनुसार यसको तातोपनले ढुङ्गा पनि फुटाउन सकिन्छ भन्ने मान्यता छ । 

त्यसैले मृगौलामा स-साना पत्थरी भएकाहरूलाई गहतको झोल खाँदा फाइदा गर्छ भनेर गाउँघरमा प्रयोग गर्ने चलन छ । सुदूर पश्चिमतिर गहतलाई भुटेर, पिसेर, पानीमा मिसाएर पकाइन्छ । यसलाई ‘घुर्रे’ भनिन्छ । यो भात वा रोटीसँग खान सकिन्छ । साथै पकाउँदा अलिकति तरकारी, मकैको पीठो र घिउ हालेपछि यो तातो सुपको रूपमा पनि खान सकिन्छ ।



नयाँ