arrow

राज्यकोषको दुरुपयोग गर्दै राष्ट्रपति भण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २ शनिबार
vidya-bhandari-daughters.jpg
तस्बिर–भोजपुरको रामप्रसादराई गाउँपालिका ५ आमबोटेमा रहेको आफ्नो जन्मघरमा बुधबार छोरीहरुसँग राष्ट्रपति विद्यादेवी भण्डारी । रासस

काठमाडौं । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल २९ फागुनमा सकिँदैछ । त्यसअघि नै संसद्ले नयाँ राष्ट्रपति चुन्न सक्ने अवस्था आएमा वर्तमान राष्ट्रपतिले आफ्नो कार्यकाल अगावै पद छाड्नु पर्ने हुन्छ । दलहरूबीच सरकार गठनको विषयमा ठोस छलफल नभइसके पनि राष्ट्रपतिमा चर्चा शुरु भइसकेको छ । निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेकाहरुको नामावली सार्वजनिक गरेसँगै निर्वाचन प्रक्रिया पूरा भएको छ । 

नयाँ सरकार गठन भएपछि मात्र राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखको निर्वाचन हुनेछ । त्यसैले पुस अन्तिम वा माघ पहिलो सातातिर देशले नयाँ राष्ट्रपति पाउने देखिन्छ । 

संघीय गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित हुने क्रममा राष्ट्रपतिका लागि प्रतिनिधि सभा, प्रदेश सभा र राष्ट्रिय सभाका ८७९ जनाले भोट हालेका थिए । त्यसबेला कुल ८८४ मध्ये ८७९ जना मात्रै सहभागी भएका थिए । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐन २०७४ अनुसार केन्द्रीय संसद्को मतभार ७९ र प्रदेशको मतभार ४८ कायम गरिएको थियो ।

नयाँ राष्ट्रपतिको चयन गर्नुअघि नै वर्तमान राष्ट्रपति भण्डारी भने विभिन्न कार्यक्रम बनाएर मुलुकको भ्रमणमा लागेकी छिन् । सरकारी खर्चमा उनले आफ्नो भ्रमण तालिका बनाएको देखिन्छ । 

सरकार गठनको समीकरण बनेसँगै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख र सातै प्रदेशमा मुख्यमन्त्रीको पद बाँडफाँट हुनेछ । नेपाली कांग्रेसमा अरु राजकीय पद बाँडफाँड गरेर भए पनि राष्ट्रपति आफैंले राख्नुपर्ने आवाज प्रबल बन्दै गएको अवस्थामा कांग्रेसबाटै कोही न कोही राष्ट्रपति हुनेछन् भन्ने आँकलन भइरहेको छ । 

अहिलेको अवस्थामा सरकार गठन र सरकारले पठाएका कानूनी ‘विजनेश’ (अध्यादेश जारी) लगायतका विषयलाई छाडेर राष्ट्रपतिले विभिन्न कार्यक्रम बनाएर देश दौडाहा गर्दा सरकार गठनमा समेत प्रभाव पर्ने जानकारहरु बताउँछन् । 

यसक्रममा मंसिर २९  देखि पुस ६ गतेसम्म विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पसमा शुरु भएको विराट एक्स्पोको सातौं संस्करणको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । उद्योग संगठन मोरङको आयोजनामा हप्ता दिनसम्म सञ्चालन हुने एक्स्पोमा ३ सय ६१ वटा स्टल रहेका छन् । 

आयोजक संस्था उद्योग संगठन मोरङका अनुसार राष्ट्रपतिलाई निम्ता दिएर सो एक्स्पोको उद्घाटन गराइएको हो । राष्ट्रपति बाहिर निस्कदा पूर्ण सुरक्षाका साथ निस्कनु पर्ने भएकाले राज्यको ठूलो जनशक्ति त्यहाँ खर्च हुने गरेको छ । 

चार दिनअघि अर्थात मंसिर २८ गते राष्ट्रपति भण्डारी आफ्नो जन्मथलोमा निर्माण भएको श्रीराम मिथिला बहुप्राविधिक शिक्षालयको उद्घाटन गर्न गइन् । बुधबार राष्ट्रपतिले रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङ, आमबोटेमा बनाइएको उक्त शिक्षालय भवन उद्घाटन गरिन् । 

राष्ट्रपति भण्डारीको पहलमा माइतीघर आम्बोटेको ५५ रोपनी जग्गामा ११ करोड ३९ लाख ७३ हजार ८ सय रूपैयाँ लगानीमा भवन बनाइएको थियो । उनी त्यहाँ मात्र गइनन् आफ्नो माइतीघरको झ्यालमा पुगेर तस्वीर पनि खिचाइन् । आफ्ना छोरीहरुलाई छेउँमा राखेर आफू बीचको झ्यालमा बसेर तस्बिर खिचाइन् ।

शिक्षालयलाई राष्ट्रपतिबाट ३७ रोपनी र परिवारका अन्य सदस्यले १८ रोपनी जग्गा निःशुल्क उपलब्ध गराइएको छ । राष्ट्रपति भण्डारीले बुबा–आमा रामबहादुर पाण्डे–मिथिला पाण्डेको नाममा शिक्षालय स्थापना गरेकी थिइन् । 

यसैगरी निर्वाचन सम्मुखको बेला सोलुखुम्बु पुगेर अस्पताल उद्घाटन गरेकी थिइन् । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङमा १५ श्ययाको ‘हिमालयन शेर्पा अस्पताल’को उद्घाटन गरेर फर्केकी थिइन् । अरुलाई आचार संहिता लागे पनि राष्ट्रपतिले आचार संहितालाई देखेकी थिइनन् । 

त्यसैगरी एक वर्ष अघि कात्तिकमा राष्ट्रपति भण्डारी काठमाडौंबाट हेलिकोप्टरमार्फत मनाङ पुगेकी थिइन् । मनाङमा उनले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण गरेकी थिइन् । 

राष्ट्रपति भण्डारीले अवलोकन गरेको स्याउ फार्म नेपालकै सबैभन्दा ठूलो फार्म थियो । यो फार्म मनाङको ङिस्याङ गाउँपालिका वडा नं १ भ्राताङमा पर्छ । मनाङको चामेबाट यो फार्म करिब तीन किलोमिटर टाढा पर्दछ । 

राज्यकोषको दुरुपयोग 
राष्ट्रपति भण्डारी आफू घर जानुअघि नै मुलकका विभिन्न क्षेत्रको भ्रमण गर्ने र आफू निकट रहेका व्यक्तिहरुलाई राष्ट्रपति कार्यालयमा बोलाएर भेटघाट गर्ने उद्धेश्य राखेकी छिन् । 

राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति शैक्षिक कार्यक्रम अन्तर्गत राष्ट्रपति भण्डारीले देशका विभिन्न भागको भ्रमणको इच्छा राखेकी हुन् । सरकारी खर्चमा हुने यो भ्रमण निकै महंगो हुन्छ । ‘राष्ट्रपति कार्यालयका सचिवालय सदस्यहरु शुरुमा गएर कार्यक्रमको बारेमा जानकारी लिनुपर्ने, त्यसपछि सुरक्षा निकायले त्यहाँको गोप्य रिपोर्ट पठाउनु पर्ने र ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्नुपर्ने भएकाले व्यवस्थापनमै खर्चिलो हुने गरेको छ’, राष्ट्रपति कार्यालयका एक अधिकारीले भने । 

राष्ट्रपति जाँदा नेपाली सेनाको हेलिकोप्टर चार्टड गर्नुपर्ने र त्यहाँ पनि सचिवालयका अधिकारीहरु, आफन्तहरु र सुरक्षाकर्मीहरुको लावालस्कर हुँदा ठूलो रकम राज्यकोषबाट खर्च हुने भएकाले राज्यकोषको चरम दुरुपयोग हुने स्रोतको दाबी छ ।

यसअघि सरकारले ल्याएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने बेलामा पनि अनधिकृत गरिकाले विचार बुझ्ने भन्दै धेरैलाई कार्यालयमा भोज खुवाएकी थिइन् । सो क्रममा आफूले अब पद छाड्ने भन्दै उनले ठूलो संख्यामा सुरक्षाकर्मीदेखि विज्ञ तथा आफन्तहरुलाई पटक पटक गरी शितलनिवासमा बोलाएर राज्यकोषको दुरुपयोग गरेकी थिइन् । 

त्यसो त राष्ट्रपति स्वयंले भन्दै आएकी छिन् कि राष्ट्रपतिको पद के हो भनेर पनि बुझ्नु पर्छ जनता र सबैले । जब राजसंस्था नै फालेर राष्ट्रपति राख्ने हो भने त्यसको गरिमा पनि त हुनुपर्यो भन्ने तर्क गणतन्त्रमा जायजै होला । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ