देउती बज्यै मन्दिरबाट शिव-गणेशको मूर्ति चोर्ने पक्राउ
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ५ मंगलबार
556
Shares
कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले शिव र गणेशको मूर्तिसहित एक व्यक्तिलाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ ।
प्रहरीले वीरेन्द्रनगर नगरपालिका-६ सुर्खेत निवासी २२ वर्षीय किरण विकलाई वीरेन्द्रनगर सुर्खेत बसपार्कबाट आइतबार राति ८:२० बजे पक्राउ गरेको हो ।
मादकपदार्थ सेवन गरी शिव र गणेशको एक-एक थान मूर्ति लिई नगरपालिका-१० बसपार्क नजिक हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।
“मूर्ति लिएर एक व्यक्ति बसपार्क नजिक हिँडिरहेको छ भन्ने खबर प्राप्त हुनासाथ तत्काल उक्त स्थानको स्थायी प्रहरी बिटबाट खटिएको प्रहरी टोलीले विकलाई सोधपुछ गरेको थियो,” उनले भने, “सोधपुछका क्रममा उनले देउती बज्यै मन्दिर परिसर बाहिरबाट ल्याएको हुँ भनेर स्वीकार गरेपछि पक्राउ गरिएको हो ।”
मूर्तिसहित प्रहरी नियन्त्रणमा रहेका विकको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।