arrow

प्रचण्डको हातमा मुलुकको स्थायित्व 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ६ बुधबार
prachanda-final1.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली राजनीतिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अस्थिर राजनीतिज्ञको रुपमा विश्लेषण गरिन्छ। तर अध्यक्ष प्रचण्डले भने आफूलाई गतिशील राजनीतिज्ञको रुपमा ब्याख्या गर्ने गरेका छन् । 

०६४ सालको निर्वाचनमा माओवादीलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाएपछि गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेका प्रचण्ड अहिले सत्ता गठबन्धनको साथमा रहेका छन् । केहीले प्रचण्डले प्रधानमन्त्री पद नपाएको अवस्थामा गठबन्धन छोड्न सक्ने आँकलनहरु गरिरहेका छन् । 

तर प्रचण्डलाई भने नेपाली राजनीतिको अस्थिर चरित्र सुधार गर्न र नेपालको राजनीतिक स्थिरताका लागि पनि गठबन्धन कायमै गर्नुपर्ने आवश्यकता खडा भएको छ । मंसिर ४ गते भएको आम निर्वाचन र गत बैशाख ३० गते भएको स्थानीय निर्वाचनमा गठबन्धनबाट सबैभन्दा बढी लाभान्वित माओवादी केन्द्र नै बनेको छ। 

उनले निर्वाचनअघि पनि वाम-लोकतान्त्रिक गठबन्धनलाई चुनावपछि पनि कायम राख्‍ने बताउँदै आएका थिए। उनले गठबन्धन कायम गर्ने नेपाली कांग्रेसको निर्णयलाई पनि स्वागत गरेका थिए । 

उनले भनेका थिए, ‘कांग्रेसले सही निर्णय गरेको छ। हाम्रो पनि यही गठबन्धन लिएर जाने भन्ने छ। यो गठबन्धनमा यताउता गर्ने भन्ने हाम्रो कहीँ कतै छैन । बाबुरामजी पनि गठबन्धनमै हुनुहुन्छ। यो गठबन्धन कुनै हालतमा छोडिँदैन ।’

उनले यसअघि नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी चालेको र त्यसविरुद्ध गठबन्धन बनाइएकोले अहिलेको गठबन्धनको विकल्प नभएको बताउँदै आएका छन् । २०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिकरुपमा संसद् विघटन गरेपछि प्रचण्डकै पहलमा अहिलेको गठबन्धन बनेको थियो । 

उनले यस गठबन्धनको औचित्यबारे प्रष्ट पार्दै भनेका थिए, ‘नेकपा एमालेसँग पार्टी एकता गर्नु वस्तुतः सही भए पनि केपी शर्मा ओली र उनको गुटमा देखा परेको अहंकार, पदलोलुपता, आत्मसमर्पणवाद र दक्षिणपन्थी अवसरवादका कारण नेकपा विभाजन भएको हो । ओलीले पार्टीलाई दक्षिणपन्थी कित्तामा उभ्याउने, सरकारलाई आफू निकट व्यक्ति पोस्ने र दलाल नोकरशाही पुँजीवादलाई हुर्काउने साधनको रुपमा दुरुपयोग गरेको, संघीयता, गणतन्त्र र संविधानमाथि नै आक्रमण गरेका कारण हामीले गठबन्धन बनाएका हौं ।’

ओलीले प्रधानमन्त्री पदमा पुग्न र निरंकुश बन्नका लागि मात्र पार्टी एकता गरेको क्रमशः स्पष्ट हुँदै गएकोले ओलीसँग मिल्‍न सकिने कुनै सम्भावना नरहेको पनि उनले प्रष्ट पारेका थिए । 

राष्ट्रपति विद्यादेवी भण्डारीले पनि ओलीले गरेका असंवैधानिक कदमलाई आँखा चिम्लिएर समर्थन गरेकोप्रति उनी रुष्ट बनेका थिए । संविधानको रक्षा, लोकतन्त्रको संस्थागत, संघीयताको पूर्ण कार्यान्वयन, प्रतिगमनलाई पूर्ण रुपमा परास्त गर्ने र शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता जस्ता जिम्मेवारी गठबन्धनको रहेकाले अहिले यस गठबन्धनको विकल्प नभएको उनले बताएका छन् । 

यसरी गठबन्धनको विकल्प नभएको बताउने प्रचण्डलाई अहिले एमाले अध्यक्ष ओलीले विभिन्‍न अफरहरु देखाएर आफूतिर तान्‍ने प्रयास गरिरहेका छन् । तर प्रचण्डले भने आफ्नो विगतमा गरेका गल्तीहरुलाई स्वीकार गर्नुको साटोले ओली आत्मकेन्द्रित भएको टिप्पणी गर्दै विश्वास गर्न नसकिने बताइरहेका छन् । 

२०७२ सालमा पनि ओलीले आधा–आधा कार्यकाल प्रधानमन्त्री बन्‍ने सहमति भएको र अन्तिममा धोका दिएको र २०७७ मा पनि प्रचण्डलाई धोका दिँदै संसद् विघटन गरेका कारण ओलीले गरेका कुनै पनि प्रस्तावमा समर्थन गर्न नसकिने बताइरहेका छन् । 

प्रचण्डका लागि सहज र दुई(दुई वर्ष कार्यकाल विभाजन गरेर देउवासँग रहनु नै उनका लागि हितकर हुने देखिन्छ। प्रचण्डलाई २०७२ मा ओलीले धोका दिएपछि कांग्रेसले साहरा दिएको र प्रधानमन्त्री देउवाले सहमति अनुसार नै पहिला प्रचण्डलाई नै प्रधानमन्त्री बनाएका थिए । 

अहिले पनि पहिले देउवालाई प्रधानमन्त्री बन्‍न दिने र त्यसपछि प्रचण्ड प्रधानमन्त्री बन्दै मुलुकको सर्वाधिक हितका लागि जनताले दिएको म्यान्डेटलाई सम्मान गर्नु नै प्रचण्डको राजनीतिक सफलता मानिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ